रास्वपाको चियापानमा एमालेका मुख्यमन्त्री प्रमुख अतिथि
विराटनगर - राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसका अवसरमा कोशी प्रदेशमा आयोजित चियापान कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथि बनेर पुगेका छन् । उनलाई रास्वपाले प्रदेशको मुख्यमन्त्रीका रुपमा कार्यक्रमको प्रमुख अतिथि बनाएको हो ।
विराटनगरको मनास्लु इन होटलमा आयोजित चियापान कार्यक्रममा उनले दुई घण्टा समय बिताए । रास्वपा पार्टी स्थापनाको एक बर्षभित्रै प्रतिनिधिसभामा २१ सिटसहित चौथो दलका रुपमा उपस्थित छ । प्रदेशमा चुनाव नलडेको रास्वपाभित्र आगामी निर्वाचनमा प्रदेशमा पनि भिड्ने निश्कर्षको नजिक छ । चियापान कार्यक्रममा सहभागी भएका रास्वपाका धेरै कार्यकर्ताहरुले प्रदेशमा पनि चुनाव लड्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
पार्टीभित्र प्रदेश संरचनालाई स्वीकारेर भावी निर्वाचनमा अघि बढ्ने जनमत बढ्दै गर्दा रास्वपाले एमालेका नेता समेत रहेका मुख्यमन्त्री कार्कीलाई प्रमुख अतिथिका रुपमा डाकेको हो ।
चियापान कार्यक्रममा बोल्दै कार्कीले आफूलाई पार्टीको नेताभन्दा मुख्यमन्त्रीकै रुपमा प्रमुख अतिथिका रुपमा निमन्त्रणा भएको प्रष्टिकरण दिए । आफूलाई आयोजकका तर्फबाट रास्वपाको चुनाव चिन्ह रहेको घण्टी बजाइदिन आग्रह भएपनि त्यसले अर्कै राजनीतिक अर्थ लाग्नसक्ने भएकोले शुभकामना दिनका लागि मात्रै सहभागी भएको बताए ।
गत निर्वाचनमा जनताले रास्वपालाई विश्वास गरेको र युवाहरुको आकर्षण पनि देखिएको भन्दै आगामी दिनमा एमाले पनि रास्वपासँग प्रतिष्पर्धा गर्न तयार रहेको बताए ।
‘मलाई घण्टी पनि बजाइदिनु भन्नु भएको थियो, म कुनै पार्टीको नेता पनि भएकोले गलत अर्थ लाग्ला भनेर शुभकामना दिनमात्रै आएको हो’ मुख्यमन्त्री कार्कीले भने, ‘रास्वपालाई जनताले विश्वास गरेका छन्, अब तपाँईहरुले जनतालाई विश्वास गर्नुपर्ने चुनौती थपिएको छ, सगरमाथा आरोहरण गर्नु भएको छ, बेस क्याम्पमा फर्किन पनि सफलता मिलोस् ।’
मुख्यमन्त्री कार्कीले अहिले ‘रियाक्टिभ पोलिटिक्स’ गरेर अघि बढ्न खोज्नेहरुको धेरै भएपनि त्यसबाट दिर्घकालिन सफलता नमिल्ने बताए । उनले सवै दल राष्ट्रिय विषयहरुमा एकै ठाउ“मा भएर अघि बढ्न सक्नुपर्ने बताए ।
रास्वपाले राम्रो गर्दै गए आगामी निर्वाचनमा ठाउँ ठाउँमा एमालेसँग प्रतिष्पर्धा र सहकार्य समेत हुनसक्ने मुख्यमन्त्री कार्कीले उल्लेख गरे ।
रास्वपा कोशी प्रदेशका अध्यक्ष राजेश तिम्सिनाले चियापान कार्यक्रममा शुभकामनाका लागि बोलाइएका मुख्यमन्त्री कार्कीसहित बरिष्ठ चिकित्सक डा.शंकरप्रसाद अधिकारी, कांग्रेसका कोशी प्रदेश कोषँध्यक्ष राजेश गुप्ता, माओवादीका केन्द्रीय सदस्य कुशल लिम्बु, नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य महेश रेग्मी, जनमत पार्टीका केन्द्रीय सदस्य परमेश्वर मुर्मु, विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, प्रदेश पत्रकार महासंघका अध्यक्ष लिलाबल्लभ घिमिरे लगायतलाई पार्टीको चुनाव चिन्ह ‘घण्टी’ प्रदान गरेका थिए ।