उद्योग वाणिज्य संघ महोत्तरीमा भाँडभैलो, नियमावली परिवर्तन गरेर आफूखुसी गरेको आरोप
महोत्तरी- उद्योग वाणिज्य संघ बर्दिबासको नियमावलीलाई लिएर स्थानीय व्यापारीले आपत्ति जनाएका छन् । आफू मातहतका केही पदाधिकारी बसेर नियमावली संशोधन गरेको व्यापारीको आरोप छ ।
संघको ६ वर्षदेखि साधारणसभा हुन नसक्दा पुरानो कार्यसमितिले नै कामलाई निरन्तरता दिइरहेको बेला नयाँ बन्ने कार्यसमितिसमेत पुरानो रहनेगरी नियमावली परिवर्तन गरेको व्यापारीको दाबी छ ।
उद्योग वाणिज्य संघको नियमावली अनुसार कार्यकारिणी समितिको अध्यक्ष पदमा उम्मेदवार हुन कम्तीमा एक कार्यकाल कार्यसमितिको कुनै पनि ६ जना प्रमुख पदाधिकारी सदस्यको कार्यसम्पादन गरेको अनुभव हुनुपर्ने उल्लेख छ ।
यो नियमावलीले नयाँ नेतृत्व गर्न चाहनेलाई अंकुश लगाएको छ । विशेषगरी यही नियमावलीलाई लिएर बर्दिबासका व्यापारी आन्दोलित भएका हुन् । पुरानो पदाधिकारीलाई नै निरन्तरता दिनेगरी बनाएको नियमावली मान्य नहुने बर्दिबासका युवा व्यवसायी विमल बुढाथोकीको आक्रोश छ ।
लोकतान्त्रिक पद्धतिमा उद्योग वाणिज्य संघलाई तानाशाही बनाएको आरोप लगाउँदै अर्का युवा व्यवसायी कमल बस्नेतले कार्यवाहक अध्यक्ष कृष्ण गौतमलाई अध्यक्ष बनाउन चलखेल भएको बताए ।
आज विनायक ब्याङ्क्युटमा बसेको बैठकमा सहभागीले उद्योग वाणिज्य संघलाई स्वायत्त नाममा केही व्यक्तिले नियन्त्रण लिन खोजेको समेत आरोप लगाए ।
बैठकमा पूर्व नगरप्रमुख विदुर कार्कीको समेत उपस्थिति रहेको थियो । विधान र नियमावलीअनुसार पदाधिकारीको कार्यकाल तीन वर्ष रहने भएता पनि ६ वर्षदेखि अवैध भएकोप्रति कार्कीले प्रश्न उठाएका छन् ।
६ वर्षदेखि उद्योग वाणिज्य संघको कार्यसमिति नै नरहेको बताउँदै यदि नियमावली परिवर्तन भएको भए पनि त्यो पूर्ण रूपमा अवैध भएको सहभागीको ठहर छ ।
कार्यसमितिका सदस्य डाकराज पोखरेल नियमावली २०७३ को नभएको जिकिर गर्छन् । नियमावलीमा अध्यक्ष उम्मेदवारका लागि ५० हजार र सदस्यहरूका लागि १० हजार १ सय रुपैयाँ शुल्क लाग्ने पनि नियमावली उल्लेख छ ।
शुल्कको विषयलाई लिएर पनि व्यापारीहरूले चर्को आवाज उठाएका छन् । सामान्य व्यापार गर्नेले नेतृत्व गर्ने क्षमता भएता पनि बन्देज लगाएको भन्दै व्यापारीहरूले आक्रोश व्यक्त गरेका छन् ।
नियमावली परिवर्तन गरेका छैनौँ : महासचिव
उद्योग वाणिज्य संघका महासचिव भवनाथ खतिवडाले नियमावली पुरानो नै भएको दाबी गरेका छन् ।
उद्योग वाणिज्य संघको नियमावली २०७३ यथावत् रहेको र त्यसमा कुनै फेरबदल नभएको जिकिर गर्दै महासचिव खतिवडाले व्यापारीले विरोधका लागि आरोप मात्र लगाएको बताए ।
'हामीले कृष्ण गौतमलाई अध्यक्ष बनाउन नियमावली परिवर्तन गरेको जुन आरोप लगाइएको छ त्यो गलत हो,' उनले भने, 'उक्त नियमावलीको विषयमा बर्दिबास निवासी अधिवक्ता विष्णु कार्कीलाई जानकारी छ ।'
व्यापारीलाई नियमावली संशोधन गर्न साधारणसभा राखेर मार्गप्रस्त गर्दा पनि निरर्थक तर्क गरिरहेको खतिवडाको भनाइ छ । न्युज कारखाना