हेटौंडा उपमहानगरकाे बजेट आकार बढ्याे
मकवानपुर- हेटौंडा उपमहानगरपालिकाकाे बजेट आकार बढेकाे छ । गत असारमा सम्पन्न ११ औं नगर सभा अधिवेशनबाट आर्थिक वर्ष २०७९।०८० का लागि स्वीकृत बजेटमा करिब ३४ कराेड बजेट बढेकाे हाे । उपमहानगरपालिकाकाे बिहीबार सम्पन्न १२ औं नगर सभा अधिवेशनमा संशाेधित बजेट वक्तव्य मार्फत ३३ कराेड २१ बजेट आकार बढाइएकाे हाे ।
चालू आर्थिक वर्षका लागि स्वीकृत भएको हेटौंडा उपमहानगरपालिकाका बजेटको आकार छ महिना मै बढेको हाे । आर्थिक वर्ष २०७९/८० का लागि गत असार २० गते ११ औं नगर सभा अधिवेशनबाट २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बजेट स्वीकृत गरिएकाे थियाे । बिहीबारकाे १२ औं नगर सभा अधिवेशनबाट संशाेधित बजेटको आकार ३ अर्ब ५ करोड पुगेको छ । संशाेधित बजेट बिहीबारको नगरसभाले सर्वसम्मत स्वीकृत समेत गरेको छ ।
संघीय सरकारबाट सरुवा भइ आउने कर्मचारी, आन्तरिक पदपूर्ति भएका करार कर्मचारीको तलब भत्ता र सञ्चालन खर्च, नगर कार्यपालिकाबाट निर्णय भएका कार्यक्रम खानेपानी न्यूनतम् महसुल भुक्तानी, इन्जिनियरिङ कलेज सञ्चालन खर्च तथा गत आर्थिक वर्षबाट दायित्व सरी आएकाे खर्च भुक्तानी लगायतले थप बजेट र अन्य आवश्यक कार्यक्रमहरूका लागि आन्तरिक श्रोत व्यवस्थापन गरी संशोधित बजेट ३ अर्ब ५ करोड पुर्‍याइएको उपमहानगरपालिकाकाे १२ औं नगर सभा अधिवेशनमा नगर उपप्रमुख राजेश बानियाँले प्रस्तुत गरेकाे नीति कार्यक्रम एवम् बजेट समिक्षासहितकाे संशाेधित बजेट वक्तव्यमा उल्लेख छ ।
उपमहानगरले चालू आर्थिक वर्षको हालसम्मको अवधिमा आय तर्फ संघीय सरकार समानीकरण तथा सशर्त अनुदान तर्फ ५५ करोड ४६ लाख ६ हजार, प्रदेश सरकार समानीकरण तथा सशर्त अनुदान तर्फ ३७ करोड ५० हजार, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँट तर्फ ६ करोड ७ लाख ६८ हजार र आन्तरिक श्रोत कर, राजश्व श्रोत र गत वर्षको समेत गरी ८७ करोड ८७ लाख ८ हजार आम्दानी गरेको बानियाँले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
उपमहानगरको खर्च तर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १७ करोड ५८ लाख ६४ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड ८० लाख ५२ हजार, पूर्वाधार विकास तर्फ १३ करोड ६९ लाख ९२ हजार, सामाजिक विकास तर्फ ३० करोड ७४ लाख १२ हजार, आर्थिक विकास तर्फ २ करोड ४० लाख ६४ हजार समेत गरी कुल ६६ करोड २३ लाख ८५ हजार रुपैयाँ गरेको जनाएको छ ।
नगर सभामा प्रस्तुत प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको स्वीकृत २ सय ५८ योजना मध्य ४८ वटा सम्पन्न भएको र २ सय १० वटा सम्झौता भई कार्यान्वयनको चरणमा रहेका छन् । गत आर्थिक वर्ष २०७८।०७९ मा जिम्मेवारी सरेर आएका योजना मध्य ८४ वटा सम्पन्न भएका छन् ।
हेटौंडा उपमहानगरपालिकामा प्रज्ञा प्रतिष्ठान गठन हुने
हेटौंडा उपमहानगरपालिकामा प्रज्ञा प्रतिष्ठान गठन हुने भएकाे छ । १२ औं नगर सभाले हेटौंडा उपमहानगरपालिका प्रज्ञा प्रतिष्ठान विद्येयक, २०७९ सर्वसम्मत पारित गरेपछि प्रज्ञा प्रतिष्ठान गठनका लागि प्रक्रिया अघि बढ्ने भएकाे हाे । प्रज्ञा प्रतिष्ठान ऐन बनेपछि प्रतिष्ठान गठन प्रारम्भ हुने बताइएकाे छ । यसअघि मकवानपुरकाे बकैया गाउँपालिकाले प्रज्ञा प्रतिष्ठान गठन प्रक्रिया थालिन गरिसकेकाे छ ।
यस्तै हेटौंडा उपमहानगरपालिकाले जनस्वास्थ्य सेवा विद्येयक, २०७९ समेत स्वीकृत गरेकाे छ । नगरसभाले हेटौंडा उपमहानगरपालिका बाल अधिकार संरक्षण नीति २०७९ समेत पास गरेको छ । हेटौंडा उपमहागरपालिका बालबालिका सम्बन्धी ऐन, २०७७ को पहिलो संशाेधन विधेयक, २०७९, हेटौंडा उपमहागरपालिकाशिक्षा ऐन, २०७४ को पहिलो संशाेधन विधेयक, २०७९, हेटौंडा उपमहागरपालिका वातावरण संरक्षण ऐन, २०७७ को पहिलो संशोधन विधेयक, २०७९ समेत स्वीकृत गरिएकाे छ ।
२ वटा समिति गठन
यसैगरी उपमहानगरपालिकाकाे १२ औं नगर सभा अधिवेशनबाट स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार २ वटा समिति समेत गठन गरिएकाे छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ मा भएको व्यवस्था अनुसार हेटौंडा ९ का वडा अध्यक्ष सुकराम केशीको संयोजकत्वमा विद्यायन समिति र हेटौंडा १९ का अध्यक्ष नरनाथ सुवेदीको संयोजकत्वमा लेखा समिति गठन गरेको हाे । उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा भएको नगरसभा भएको हो ।
हेटौंडाको विकासका लागि एकताबद्ध भएर काम गर्ने संघ र प्रदेश सांसदको प्रतिबद्धता
हेटौंडाको विकासका लागि एकताबद्ध भएर काम गर्ने संघ र प्रदेश सांसदहरूले प्रतिबद्धता जनाएका छन् । हेटौंडा उपमहानगरपालिकाले गरेकाे मकवानपुर जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित प्रत्यक्ष र समानुपातिक सांसदहरूकाे स्वागत तथा बधाई कार्यक्रममा उक्त प्रतिबद्धता जनाइएकाे हाे ।
मकवानपुरबाट निर्वाचित भएका संघ र प्रदेशसभाका सदस्यहरूले हेटाैंडाकाे विकासका लागि दलगत स्वार्थ भन्दा माथी उठेर काम गर्ने प्रतिवद्धता जनाएका हुन् । कार्यक्रमका मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बतौंलाले हाम्राे आफ्नै नगरकाे विकासका लागि दल तथा गठबन्धन नभनी एक जुट भएर लाग्नु पर्ने बताए । ‘नगरकाे विकासका लागि बजेटकाे कमी छैन,’ उनले भने, ‘गुणस्तरीय काम हुन जरुरी छ ।’
कार्यक्रममा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर–२ को (१) बाट निर्वाचित प्रदेश सभा सांसद इन्द्रबहादुर बानियाँले हेटौंडाका सडक फराकिलो बनाउनुपर्ने बताए । सडक विकाससँग समेत जाेडिएकाेले आवश्यक पूर्वाधार नभएकाे तथा साँघुराे सडकका कारण बजार विस्तार समेत गर्न नसिकएकाे भन्दै अहिले पनि प्रदेशसभाका सदस्यहरू हेटौंडाको राजधानी सार्न लागिरहेकाे उनले बताए । अब राजधानी सार्ने हाेइन उपमहानगरपालिकालाई विकास गरेर महानगर बनाउनुपर्ने तथा प्रदेश राजधानी समेत यहीँ स्थायी बनाउन पहल गर्ने बताए ।
कार्यक्रममा एमालेका तर्फबाट विजयी मकवानपुर क्षेत्र नम्बर–१ को (२) का प्रदेश सांसद एकालाल श्रेष्ठले स्राेतमा धनी प्रदेशकाे एक मात्र उपमहानगरपालिकाले तत्कालीन गर्नुपर्ने काम र दिर्घकालीन कामहरू पहिचान गरी कार्य गर्नुपर्ने बताए । उनले करकाे दरभन्दा दायरा फराकिलो पार्नु पर्ने बताएका छन् ।
यस्तै माओवादीका तर्फबाट विजयी मकवानपुर क्षेत्र नम्बर–१ को (१) का प्रदेश सांसद प्रेमबहादुर पुलामीले विकासका लागि सबै एकजुट भएर काम गर्नु पर्ने बताए । कार्यक्रममा प्रदेशसभामा मकवानपुरबाट एमालेका समानुपातिक सांसद भारती पाठक, कांग्रेसका समानुपातिक सांसद लक्ष्मी श्रेष्ठ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
विजयी प्रतिनिधि सभा तथा प्रदेश सभा सांसदहरूलाई नगर प्रमुख मिनाकुमारी लामा उप प्रमुख राजेश बानियाँले बधाईसहित मायाकाे चिनाे मकवानपुरे ठेकी प्रदान गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य राप्रपाका दिपकबहादुर सिंह तथा प्रदेश सभा २(१ ) का कुमारी माेक्तान उपस्थित थिएनन् ।
उकृष्ट २ वटा वडा पुरस्कृत
यसैबीच हेटाैंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८।०७९ मा उत्कृष्ठ वडाका रूपमा २ वटा वडालाई नगदसहित सम्मान गरेकाे छ । गत आर्थिक वर्षमा वडाले गरेकाे वित्तीय प्रतिशतकाे आधारमा सम्मान गरेकाे हाे ।
हेटौंडा उपमहानगरपालिकाकाे वडा नम्बर १४ र १५ लाईं उत्कृष्ट वडाकाा रूपमा सम्मान गरिएको हाे । वडा नम्बर १४ ले गत आर्थिक वर्षमा ९७.३८ प्रतिशत वित्तीय प्रगति हासिल गरी प्रथम भएकाे हाे । साथै वडा नम्बर १५ ले गत आर्थिक वर्षमा ९७.०६ प्रतिशत वित्तीय प्रगति हासिल गरी द्वितीय भएकाे हाे ।
प्रथम र द्वितीय हुने वडालाई सम्मान पत्र तथा नगर २० लाखसहित प्रतिनिधि सभाका सांसद महेशकुमार बर्ताैला तथा प्रदेश सभाका सांसद इन्द्रबहादुर बानियाँले सम्मानित गरेका हुन् ।