पीएसजीले एमबाप्पेलाई पहिलो टोलीसँग प्रशिक्षण गर्न नदिने
काठमाडौँ- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कायलियन एमबाप्पेलाई पहिलो टोलीसँग प्रशिक्षण गर्न नदिने भएको छ ।
पीएसजीले लिग वान सिजनका लागि तयारी अब आउने सोमबारदेखि गर्ने भए पनि एमबाप्पेलाई सहभागी हुन नदिने निर्णय गरेको बीबीसीले जनाएको छ ।
क्लबको सर्वाधिक गोलकर्ता एमबाप्पेको एक वर्षको सम्झौता बाँकी रहेको र अर्को सम्झौता नगर्ने भएपछि पीएसजीले यो निर्णय लिएको हो ।
पीएसजीले फ्रान्सेली फरवार्डलाई बेच्न खोज्दै छ तर एमबाप्पे भने एक सिजन अझै पीएसजीमा बसेर अर्को सिजन बिना ट्रान्सफर शुल्क छोड्न चाहन्छ ।
पीएसजीले एमबाप्पेलाई प्रि-सिजन एशिया भ्रमण टोलीबाट समेत बाहिर राखेको थियो ।
साउदी क्लब अल-हिलालले एमबाप्पे भित्र्याउन विश्व कीर्तिमानी तीन सय मिलियन युरोको प्रस्ताव पीएसजीले स्वीकारे पनि उनले अल-हिलालका प्रतिनिधिहरूसँग भेट्न समेत अस्वीकार गरेका थिए ।