प्रमुख समाचार

अष्ट्रेलियामा सिकेको सीप पोखराको विकासमा लगाउने किरणको हुटहुटी

इकागज | बैशाख १८, २०७९

काठमाडौँ - किरण बराल आठ वर्ष अष्ट्रेलिया बसे । विदेशमा अध्ययन गर्दा उनले हासिल गरेको अनुभव, सिकेका सीप र देखेका विकास आफ्नै मुलुकमा उपयोगमा ल्याउन हुटहुटी जाग्यो । उनी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा होमिएका छन् ।

बराल नेपाली कांग्रेसका तर्फबाट कास्की, पोखरा  महानगरपालिका १३ बाट वडाअध्यक्षका उम्मेदवार बनेका छन् । वडामा यसअघि नेतृत्त्व गरिसकेकाहरूले परिवर्तन र विकास गर्न नसक्दा चुनावी मैदानमा उत्रिएको उनी बताउँछन् । विदेशमा आर्जन गरेको अनुभवलाई आफ्नो वडामा लगाउने उनको भनाइ छ ।

'विदेशी नागरिक हुन् भन्दा परिश्रमी नेपाली नागरिक बन्न स्वदेश फर्केँ,' उनले भने,' नागरिकता त्यागेर पिआर लिन पनि सक्थेँ । तर, आफ्नो मुलुकभन्दा पराई भूमिलाई ठूलो नठानी स्वदेशमा रहेर समाज बुझ्दै अगाडि बढ्न खोजिरहेको छु ।'

व्यवस्थापन संकायमा स्नातक गरेका उनले त्यहाँ रहँदा एकाउन्टिङ र होटल म्यानेजमेन्ट सकाए । केही गर्नुछ भने आफ्नै मुलुकमा गरौ भन्ने हुटहुटीले उनलाई फर्कायो । पढाइ सक्नासाथ उनी नेपाल फर्के ।

उनले मुलुक छोड्दा आफ्नो नगरको विकास पूर्वाधार जस्तो थियो स्वदेश फर्कदा पनि त्यस्तै पाए । माछापुच्छ्रे हिमालले आफ्नो ठाउँ फेरेको थिएन तर, पोखरा बजारमा मँहगीले शिखर चुमेको थियो । स्थानीय तहले बजारमा बढेको मँहगीलाई नियन्त्रण गर्न कहिले पनि ध्यान दिएको उनले देखेनन् ।

विदेशमा देखेका सीप र अनुभव 

पाँच वर्षअघि स्वदेश फर्केका बरालले व्यवसायसँगै आफ्नो राजनीतिक जीवनलाई सँगसँगै अगाडि बढाए । अध्यक्षमा विजयी भएर विदेशमा देखेका विकास लागू गर्न चाहन्छन् । उनले विकास गर्न केही न केही माध्यम चाहिने महसुस गरे । राजनीतिले समाजको सर्वाङ्ग विकास गर्ने भएकाले अध्यक्ष बन्ने दौडमा लागेको बताउँछन् उनी ।

पोखरा आफैँमा पर्यटकीय हब रहेको ठाउँ हो । स्वदेशी मात्र होइनन् विदेशी पर्यटक पनि उत्तिकै संख्यामा भित्रन्छन् । 'वडामा के छैन ? इच्छाशक्ति भएमा यहाँको स्रोतसाधनलाई उपयोग गरेर राम्रो आम्दानी गर्न सकिन्छ,' व्यवसायी बराल भन्छन्,' यसका वरिपरि प्रकृतिले अग्ला-अग्ला हिमाल दिएका छन् । यहाँबाट अवलोकन गर्न सकिन्छ । रोजगारीको सिर्जना गर्न सकिन्छ । विदेश पलायन भइरहेका युवाहरूलाई यहीँ रोजगारी दिन सकिन्छ ।'

राजनीतिलाई पेशाको रुपमा नमानेर सेवाको रुपमा मानेका छन् उनले । पेशाले उनी पर्यटन व्यवसायी हुन् । पर्यटकीय नगरी पोखरामा उनले होटल व्यवसाय सञ्चालन गरेका छन् । राजनीतिलाई सेवाको रुपमा लिएकाले अन्य विभिन्न व्यवसायमा संलग्न छन् ।

पर्यटकीय क्षेत्रहरू पनि वडामा रहेको उनले सुनाए । वडाको प्रसिद्ध कमलपोखरीमा नागपञ्चमीको दिन श्रद्धालुको भीड लाग्ने भएकाले संरक्षण र प्रवर्द्धन गरेर प्रचारप्रसारमा ध्यान दिने उनको योजना छ । प्रचारप्रसारको अभावले धेरै ठाउँहरू ओझेलमा पर्दै गइरहेको उनले बताए ।

वडाकै अग्लो ठाउँ आर्बामा प्रभु धाम पनि छ । जहाँबाट हिमाल र पोखरा उपत्यकासमेत देख्‍न सकिने उनले बताए । विकासको पूर्वाधार निर्माण भएमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सकिने उनलाई लागेको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिका हो । आफैँमा समुन्नत हुनुपर्ने हो । तर, प्रत्येक वडाले विकास र समृद्धि खोजिरहेको आभास हुन्छ । डोजरे विकास भन्दा अगाडि बढ्न नसकेको वडालाई आधुनिक विकासले समुन्नत बनाउन चाहन्छन उनी । महानगर भित्रका कतिपय वडाका भित्री सडकमा पिच बन्न नसकेकोमा उनले दुखेःसो पोखे ।

भिजन नभएकाले वडामा नेतृत्व गरेँ

यसअघि वडामा अभिभावक बनेर आएकासँग भिजन नहुँदा वडाले मुहार फेर्न नसकेको बराल दाबीसाथ सुनाउँछन् । 'भिजन र क्षमता नभएकाले नेतृत्त्व लिन सक्दैनन,' उनी उम्मेदवार हुनुका कारण खुलाउँछन्,' वडाबासीको जीवनस्तर उकास्नु पर्नेछ । आफ्नो ठाउँ आफैँ बनाउनुपर्ने छ । वडामा भएका खाली जग्गा खोजी त्यसलाई व्यवस्थापन गरेर वृद्ध तथा बालबालिकाका लागि पार्क बनाउनु छ ।'

मतदाताको घरमा पुग्दा बराल मत होइन आशीर्वाद मागिरहेका छन् । मत पाउनु भनेको शक्ति आर्जन गर्नु मानेका छन् उनले । वडाबासीको आशीर्वाद लिन सकेमा मात्र पनि राम्रो काम गर्न प्रेरणा मिल्ने उनको बुझाइ छ ।

उनको पहिलो प्राथमिकतामा वडालाई हरियाली बनाउने छ । वडाबाट भएको आम्दानी र अर्थतन्त्रलाई मजबुत बनाइ एकत्रित गर्ने उनको योजना छ। वडाबाट विदेश पलायन भएकालाई फर्काउने र विदेशबाट आएकालाई स्वरोजगार बनाउन वडाले ऋणका लागि पहल गर्ने उनी बताउँछन् ।

जनताका आवाज वडामा सहजै पहुँच पुर्‍याउन पहल गर्ने बरालले बताए। सीपमुलक गुणस्तरयुक्त शिक्षा र वडालाई पूर्णप्रविधिमैत्री बनाउने थप योजना अठोट छ । घर-घरबाट निस्कने फोहोरलाई मोहरमा बदल्न वडाबासीलाई प्रेरित गर्ने उनले प्रस्ट पारे ।

वडाको केही ठाउँमा वर्षाको समयमा बाटोले एकदमै दुःख दिन्छ,'  वडाको समस्या सुनाउँदै उनी भन्छन्,' वर्षेनि वडाका लागि दुःख बनेका घाउलाई विकास गरेर सदाका निम्ति अन्त्य गरिदिनु छ ।'

विद्यालय जीवनदेखि राजनीतिमा सक्रिय

बराल स्कुले जीवनदेखि राजनीतिमा सक्रिय थिए । कक्षा आठदेखि राजनीति सुरु गरेक उनी पिएन क्याम्पसको स्ववियु सदस्यदेखि जिल्ला नेविसंघको सचिवदेखि उपाध्यक्षसम्म भए । 'पिएन क्याम्पसमा नेविसंघको अध्यक्षको टिकट पाएको थिएँ,' विगत सम्झँदै भन्छन्,' पढाइका लागि अष्ट्रेलियाका लागि अप्लाइ गरिसकेकाले चुनाव सकेको केही दिनमा नेपाल छोडेको थिएँ ।' संगठनले विश्वास गरेर दिएको टिकट पनि साथीलाई छोडेर विदेश हानिएका थिए उनी ।

३६ वर्षीय बराल किसान परिवारमा हुर्किए । उनका पारिवारिक सदस्यहरू पनि राजनीतिमा चासो राख्थे । मातापिता पनि कांग्रेसमा आवद्ध रहेको उनले सुनाए । उनी आफ्नो राजनीतिक जीवनमा प्रेरणाको स्रोत गिरिजा प्रसाद कोइरालालाई मान्छन् । उनी वीपीप्रति पनि उच्च सम्मान राख्छन् । उनको  आदर्श सुनेका र पढेका थिए । गिरिजाप्रति प्रत्यक्ष देखेका उनले क्षमतावान र इमान्दारीता पाए ।

टी-२० क्रिकेट सिरिज :  आज जिम्वाब्बेविरुद्ध उत्कृष्ट सुरुआत​ गर्ने लक्ष्यमा नेपाल

इकागज | बैशाख १८, २०७९

काठमाडौं-  जिम्बाब्वे ‘ए' विरुद्धको तीन टी-२० खेलको शृंखलाअन्तर्गतको पहिलो खेलमा आज मैद...

जुम्लामा माओवादीको घोषणा :  युवायुवतीलाई रोजगारको ग्यारेन्टी

इकागज | बैशाख १७, २०७९

जुम्ला- नेकपा माओवादी केन्द्र जुम्लाले घोषणा पत्र सार्वजनिक गरेको छ । उक्त घोषणा पत्रमा युवायुवतीलाई विका...