एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढल्छः बर्तौला
काठमाडौँ - नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताएका छन् ।
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक बर्तौलाले एमालेले चाहेमा एक हप्ता भित्रमा सरकार ढाल्ने बताएका हुन् । उनले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताए ।
यद्यपि सरकार एमालेको प्रयत्नले ढल्ने नभइ गठबन्धनभित्रकै अन्तरविरोध, असमझदारी र अविश्वासले ढल्ने बताए । उनले एमालेले प्रतिपक्ष दलहरूको मोर्चा नबनाउने पनि स्पष्ट पारे । बर्तौलाले एमालेले आफ्नै सामर्थ्य र जनताको आदेशका आधारमा संसदमा भुमिका निर्वाह गर्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताबाट हट्नुपर्ने हो कि भन्ने त्रासका कारण समाजवादी मोर्चा बनाएको बताए ।
समाजवादी मोर्चा बनाउनुले देशलाई अन्यौलता र अस्थिरतातर्फ लान मद्दत पुर्याउने बताए । उनले भने, ‘नेकपा एमालेले यस प्रकारको मोर्चा बनाएर हिँड्नुपर्ने जरुरी छैन । एमाले आफ्नो सामथ्र्यका साथ, जनताले दिएको म्याण्डेटको बलमा संसदमा आफ्नो भुमिका निर्वाह गरिरहेको छ । नागरिकहरूको मुद्दालाई केन्द्रमा राखेर, राष्ट्र हितको विषयलाई केन्द्रमा राखेर हाम्रो उपस्थिति देखाइरहेका छौँ । यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन । यदि नेकपा एमालेले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ । यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो । भोलिपल्ट, अर्को एक दिनको लागि हो । कतिखेर यो सरकार ढल्ने , एमालेको कारणले, एमालेको प्रयत्नले होइन । उहाँहरू बीचको अन्तरविरोध, असमझदारी छ, जुन खालको अविश्वास छ, त्यसको कारणले गर्दा पनि यो सरकार लामो समय टिक्दैन भन्ने तथ्यले प्रमाणित गरिसकेको छ । यदि यसो हुँदैन थियो भने स्वयं यो सरकारको प्रधानमन्त्रीले सरकारभित्र बसेर अर्को मोर्चाबन्दी र अर्को गुट निर्माण गर्नुपर्ने कुनै जरुरी थियो रु किन गर्नुभयो भन्दा उहाँहरूको आयु, उहाँहरूको पद जति खेर पनि धरापमा छ । त्रासमा हुनुहुन्छ । त्रासका कारणले अनेकौँ खालका गुट निर्माण गरेर हिँडिरहनुभएको छ । यसले देशलाई अन्योलतातर्फ, अस्थिरतातर्फ लानलाई मद्दत पु¥याउँछ । राजनीतिक असमझदारी, राजनीतिक अन्यौलता सिर्जना गर्न यसले भुमिका निर्वाह गरेको छ ।’
उनले समाजवादी मोर्चा गठबन्धनभित्रको एउटा गुट भएको बताए । यसले देश र जनताको हितमा काम नगर्ने टिप्पणी गरे । उनले मोर्चामा आबद्ध दलहरू बीचको प्रेम ‘गैँडाको प्रेम चटाइ’ भएको टिप्पणी गरे ।
उनले भने, – ‘उहाँहरूको गठबन्धनको सरकार छ । गठबन्धन आफैँमा एउटा मोर्चा बनाएर उहाँहरू हिँडिरहनुभएको छ । त्यो मोर्चाभित्र पनि अर्को एउटा गुट निर्माण गर्नुभयो । यसले के देखाउँछ भने प्रचण्ड प्रत्येक दिन काँग्रेससँग तर्सेर बसिरहनुभएको छ । काँग्रेससँग तर्सेको, एमालेसँग डराएको र स्वार्थहरुले भरिपूर्ण भएको उहाँहरूको यो केन्द्र हो । यसको जनताको हितसँग, राष्ट्रको हितसँग सम्बन्ध रहन्छ भन्ने मलाई लाग्दैन । मोर्चाका पार्टीहरूको आ–आफ्ना एजेण्डा छ । संविधानकै कार्यान्वयनकै बारेमा पनि फरक फरक दृष्टिकोण र मान्यता रहेका छन् । त्यस आधारमा उहाँहरूले भुमिका पनि गरिरहनुभएको छ । यो उहाँहरू बीचमा गैडाको प्रेम चटाइ हो । गैँडाले प्रेम गरेर चाट्दा जिउको छाला जान्छ । त्यो चटाइको कुनै अर्थ छैन । यो कुनै संसदको समग्र प्रक्रियालाई बलियो बनाउन, सरकारको नियमित काम, गतिविधि, क्रियाकलापहरूलाई देश र जनताको हितको पक्षमा उभिएर अगाडि बढाउन यो मोर्चा बन्दी गरिएको छैन । स्वार्थलाई केन्द्रमा राखेर, पद, प्रतिष्ठाभन्दा बाहिर उहाँहरूको अभिष्ट छैन ।’
सचेतक बर्तौलाले प्रदेश सभाले पारित गरेर नामाकरण गरिएको प्रदेशको नामलाई संघीय सरकारको दस्ताबेजमा अस्वीकार गर्नु गम्भिर विषय भएको बताए । उनले पर्यटनमन्त्रीले दूषित नियतका साथ मन्त्रालयको बजेट वक्तव्यमा कोशी प्रदेशको नाम समावेश नगरेको बताए । उनले भने, ‘नेपालको संविधान बमोजिम सम्बन्धित प्रदेश सभाहरुले पारित गरेर पठाइएको नामाकरणको विषयमा संघीय संसदमा सरकारको तर्फबाट प्रस्तुत गर्ने दस्तावेजमा त्यसलाई अस्वीकार गरेर ल्याउने विषयमा गम्भिर विषय हो । यो सामान्य विषय होइन । सच्याएर ल्याउनुभन्दा पनि सबै प्रदेश हटाएर ल्याउनुभएको छ । उहाँ बदनियतका साथ, पर्यटनमन्त्रीमा दुषित नियत यसप्रति छ । आन्दोलनकारीहरुलाई अघोषित हिसाबले साथ, समर्थन छ भन्नेकुरा संघीय मन्त्रीको जिम्मेवारीमा रहेर देखाउन खोज्ने प्रवृत्ति राम्रो होइन ।’
उनले पर्यटनमन्त्रीले अघोषित रुपमा पहिचानवादी आन्दोलनकारीहरुलाई समर्थन छ भन्ने सन्देश दिएको बताए । उनले मन्त्री पदबाट राजीनामा दिएर पहिचानवादीहरुलाई समर्थन गर्न आग्रह गरे ।