अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्छः महामन्त्री थापा
काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय गर्नुपर्ने बताएका छन् । मंगलबार कांग्रेसले काठमाडौंमा नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकार र संसद्ले अर्थतन्त्र सुधार गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्दा केही कठोर निर्णयसमेत गर्नुपर्ने बताए । मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल केही महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको उनको भनाइ छ ।
नेपाली कांग्रेस सरकारमा गएसँगै अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि तत्काल सुधारका योजना अविलम्ब अघि सार्ने व्यवसायीहरू सामु प्रतिवद्धता उनले गरे । उनले मुलुकमा वार्षिक १८ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने स्थिति नआउनु राम्रो संकेत नभएको बताए ।
महामन्त्री थापाले आर्थिक विकासका लागि संरचनागत सुधार आवश्यक रहेको बताए । उनले अर्थतन्त्रको संरचनागत सुधारमा कांग्रेस केन्द्रित भएर आर्थिक चक्रमा देखिएको समस्या समाधान गर्न इमान्दार प्रयत्न गर्ने उल्लेख गरे । अर्थतन्त्र बिग्रियो भनेर अहिलेजस्तो गुनासो पहिला कहिल्यै सुनिएको बताउँदै संसद्मा प्रधानमन्त्रीदेखि संसदहरू समेतले अर्थतन्त्रमा संकट छ भन्ने गरेको बताए ।
कांग्रेस सरकारमा गएर अर्थतन्त्रमा आएको ज्वरोलाई तत्काल ज्वरो हटाउने काम गर्ने उनले बताए । अर्थतन्त्रको निश्चित ढाँचा र ढर्राबाट चलिरहेको अर्थतन्त्रलाई संरचनागत सुधार र उपचार नगर्ने हो भने कुनै न कुनै बेला थला पर्ने अवस्थामा पुग्ने उनको भनाइ छ ।
महामन्त्री थापाले अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको भन्दै अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप सङ्कटमा जाने बताए । उनले केही महत्वपूर्ण २२/२४ वटा कानूनलाई संसद्को चालू अधिवेशनबाटै टुङ्गयाउन जरुरी रहेको भन्दै काँग्रेसले त्यसको लागि पहल गर्ने बताए ।