समाज

रौतहटमा पनि गढीमाइ मेला

इकागज |
मंसिर १८, २०८१ मंगलबार १७:३५ बजे

रौतहट - कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले रौतहटको पूर्वुभेग गढीमाई नगरपालिका  ४ सुन्दरपुर स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला महोत्सव २०८१ को उद्घाटन गरेका छन् ।

मंगलवार एक समारोहका बीच प्रमुख अतिथि कार्यवाहक प्रधानमन्त्री सिंहले सुन्दरपुर गढीमाई मेलाको विधिवत् रूपमा उद्घाटन गरेका हुन। उद्घाटन समारोहमा कावा प्रधानमन्त्री सिंहका साथै नेपाली कांग्रेसका संघीय सांसद देवप्रसाद तिमल्सिना, पार्टी मधेश प्रदेशका सभापति पूर्व मन्त्री कृष्ण प्रसाद यादव, मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव, प्रदेश सांसद अबुल कलाम आजाद, गढीमाई नगर पालिकाका मेयर श्यामप्रसाद यादव, माधवनारायण नगर पालिका का मेयर बैजनाथ प्रसाद यादव, गरुडा नगर पालिकाका मेयर  कन्थमणि प्रसाद जयसवाल लगायतको सहभागिता रहेको थियो।


विश्व प्रसिद्ध बारास्थित गढीमाई मेलाकै तिथि मितिमा बृहत् रुपमा सुन्दरपुर गढीमाई मेलाको आयोजना गरिएको छ। सुन्दरपुर स्थित  गढीमाई मन्दिरमा विगत झै यसपटक पञ्चवर्षीय मेलाको आयोजना गरिएको हो। मेला मूल समितिका अध्यक्ष एवं गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले सुन्दरपुर गढीमाई मन्दिरमा  हिजो सोमवार देखि मङसिर २६ गतेसम्म मेला लाग्ने बताएका छन्।

स्थानीयहरुको अनुरोधमा मेलालाई बृहत तथा सभ्य र भव्य बनाउन मङसिर २० गते बिहिबार भारतीय भोजपुरी सुपरस्टार कलाकार खेसारीलाल यादवलाई बोलाइएको मेयर यादवले बताएका छन्। सुपरस्टार खेसारीलाल सँगै भारतीय भोजपुरी मोडेल माही र मनिषाको पनि सांगीतिक प्रस्तुति हुने जनाइएको छ।


Author

थप समाचार
x