पृथ्वी परिक्रमा

​'दिव्योपदेश'भित्रको दर्शन-भाग २

महेश्वर आचार्य |
पुस २७, २०७९ बुधबार १३:४१ बजे

हामी आधुनिक नेपालका निर्माता बडामहाराज श्री ५ पृथ्वीनारायण शाहका दिव्य उपदेशको बारेमा चर्चा गर्दै छौं । उपलब्ध धेरैजसो दिव्य उपदेशमा बडामहाराजकै हुबहु भाषा र शब्दहरू रहेकाले मेचीदेखि महाकाली र हिमालदेखि तराई सबै भेगमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूले, त्यसमाथि झन् अहिलेको नयाँ पुस्ताले दिव्य उपदेशमा ठ्याक्कै के भनिएको हो भनेर नबुझेको अवस्था छ। त्यसै समस्यालाई समाधान गर्ने उद्देश्यले यो आलेख तयार परिएको छ र हामी आलेखको दोश्रो शृंखलामा छौं। पहिलो भागमा हामी आलेखको थप भूमिका र उद्देश्य, बडामहाराजको दिव्य उपदेशभित्र रहेका उपदेशहरूको वर्गीकरण गर्दै-देशको सार्वभौमिकता, सुरक्षा तथा परराष्ट्रसम्बन्धी केही उपदेशहरूमा चर्चा गर्यौं। (भाग -१ यो लिंकमा हेर्नुहोस्)

 यस भागमा हामी उहाँका धार्मिक, सांस्कृतिक र समावेशी नीति र अर्थ तथा आत्मनिर्भरताका नीतिहरूमा चर्चा गर्ने छौं। 


भाग -

उपदेश - १

सिपाहि भै भारादार्ले स्वष गरेनन् भन्या, चारै खुट्मा मेरो तरवार वजनै छ। स्वषमा पसो भन्या, मेरा साना दुखले आर्ज्याको मुलुक होईन, सवै जातको फुलवारि हो, सवैलाई चेतना भया। यो फुल्वारिको छोटा वडा चारै जात छतिसै वर्नले, यो असली हिन्दुस्थाना हो, आफ्ना कुला धर्म नछोड्नु।

अर्थात् ,

देशका सिपाही र भाइभारदार सुखभोगमा डुबेनन् भने मेरो तरबार चारै दिशामा चम्कनेछ। सुखभोगमा डुबे भने मेरो सानो दुखले जोडेको मुलुक होइन। मुलुकका सबै जातको साझा फूलबारी हो। सबैलाई चेतना होस्। यो फूलबारीमा बस्ने सबै साना ठूला चार जात छत्तिस वर्णका जनताले आफ्नो कुल धर्म नछोड्नु किनभने यो असली हिन्दुस्तान हो।

उपदेश -२

दुनिया जस देषी राजि रहन्छन, उसैलाई कजाई दिनु भन्ने शास्त्रमा पनि कहेको छ। दुनियामा बुझि हेरु भनि बुझि हेर्दा दुनियाबाट पनि कालु पाडेको चाहा रहेछ कालु पाडेलाई कजाई दिनु भया हामी दुनियादारमा छहारी रहँदो हो भन्या सल्लाहा दिया अव वाईसी चौविसिले क्या भन्दछन् भनि बुझुनु हुदा वाईसि चौविसी वाट पनि कालु पाडे कै चाहा रहेछ कालु पाडेलाई कजायी भया घाहा घराईस वलियो राषन्यै भन्ने सल्लाह दिया। मेरा मनमा ता विराज वषेतिलाई कजाई दिन आटेको थियो तर ज्याधा बुद्दी कालु पाडे कै ठहर्यो कालु पाडेलाई कजायि भयाको हो।

अर्थात्,

जनता जसलाई चाहन्छन् त्यसैलाई कजाइदिनु भन्ने शास्त्रमा पनि उल्लेख छ। जनताको विचार बुझ्दा र छिमेकी राज्य तथा गाभिएका राज्यमा बुझ्दा पनि कालु पाण्डेलाई रुचाएको पाइयो। कालु पाण्डे भए भरोसा बलियो हुन्थ्यो भन्ने आशय पाइयो । मैले त विराज बखेतीलाई काजी नियुक्त गरौँ कि भन्ने सोचेको थिएँ तर यो जनप्रतिक्रिया पछि कालु पाण्डेलाई काजी बनाएँ। 

उपदेश -३

बुढा मरै भाषा सरै भनि भन्छन। तिमीहरू सबै छेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउनन् यो राजे थामि षानन्।

अर्थात्,

"बुढा मरे भाषा सरे" भन्ने भनाइ छ। तिमीहरू सबैलाई यो अर्ति उपदेश मैले किन दिरहेको छु भने यो कुरा तिमीहरू आफ्ना सन्तानलाई सुनाउनेछौँ र तिमीहरूका सन्तानले फेरि हाम्रा सन्तानलाई सुनाउने छन्। ऐतिहासिक अनुभवले सन्ततिलाई यो राज्य थामेर राख्न सहयोग पुग्ने छ।

उपदेश -४

उप्रान्त हाम्रा मुमाहरू तिन हुन्। हामि तिन षोपिका पाच पाण्डुवाको अवतार भयाका थियौं।

अर्थात्,

 हाम्रा आमाहरू ३ जना हुन्। हामी तीनओटी आमाको कोखबाट जन्मिएका पाँच भाई पाण्डवको अवतार जस्तै छौं।

उपदेश -५

एकदिनका रातमा सोपना भयो दुइ हातमा दुइ खड्ग लिया की सात आठ वर्ष की कन्या कुसुमे पछिउराको घुगुटि पारी मा छेउ आईन मैले सोध्याँ तिमी कसकी छोरी हौ भनि मैले भन्दा पुजाहारि रानाकी छोरी हुँ भनिन् दुवै खड्ग मेरा हातमा दिन आरसि प्रमान्को लाल  ट्वाल्ल गर्थ्यो। षोकिलाबाट झिकी मेरा मुषसम्ममा ल्याई यो पनि निल भनिन तम्रो मनकान्क्ष्या  पुर्याई दियाको छ। पनि केही माग्छु थपि जाउ भनि जसै दुई पाईला गइ थिन् , उसैवेलामा पनि विम्ज्यो भानु जैसि, कुलानन्द जैसि, पुजाहारि रानालाई डाक्या सुध्यायाँ।

जैसिले पनि पुजाहारिले पनि ति माई हुन् दर्सन पाउनु भयछ भने उसै वेलामा धुप दिप धजा नैवेदे,नित्य पुजा लाई सात राग्गा, सातै बोका थपि वोर्लाघाटको आम्दानी घाटै छेउको टार माईलाई संकल्प गरि दियाँ उसै घरिको सायत गरि, रात दिन गरि, सरासरी आया सिमलचौर चौतारामा थर्पु हाली वस्याँको थियाँ।

अर्थात्,

एकरात सपनामा दुई हातमा दुई खड्ग बोकेकी सात-आठ वर्षकी बालिका आइन् कसकी छोरी हौँ भन्दा पुजारी रानाकि भनिन्, ती दुई खड्ग मेरो हातमा दिइन् । एउटा ट्वाल्ल टल्कने वस्तु आफ्नो कोखिलाबाट झिकेर मलाई "यो पनि निल तिम्रो मनोकांक्षा पूरा गर्दिएकी छु" भनिन्। त्यसपछि म पनि केही माग्छु देऊ भन्दै दुई पाइला गइन, यतिकैमा मेरो निन्द्रा बिउझियो। त्यसपछी भानु जैसी, कुलानन्द जैसी र पुजारी रानालाई बोलाएर सोधें।

जैसीले पनि र पुजारीले पनि "ति कन्या देवी हुन् तपाईंले दर्शन पाउनुभएछ" भने। त्यसपछि विधिपूर्वक पूजा गरियो, सातोटा राँगा र साटोता बोका देवीलाई चढाइयो। वोर्लाघाटबाट हुने आम्दानी र घाट छेउको जग्गा संकल्प गरी देवीलाई चढाइयो। अनि त्यही घडीको साइत भेट्न रातदिन गरेर हिंडी सिमलचौर पुगी छाप्रो बनाई बसेको थिएँ।

उपदेश -६

ईश्वरले रचना गर्याको किल्ला रहेछ स्वधनु पर्ने रहेनछ। शिवपुरी , फूलचोक , चन्द्रागिरि , महादेउ पोखरी , पालूं , दाप्चा , काहुल्या ईनमा पनि किल्ला पकी बनाउनु।

अर्थात्,

ईश्वर स्वयंले बनाएको किल्ला रहेछ काठमाडौँ उपत्यका। कसैलाई सोध्नु नपर्ने रहेछ। शिवपुरी, फूलचोक, चन्द्रागिरि, महादेउ पोखरी,पालुङ्ग, दाप्चा र, काहुल्या यी ठाउँहरूमा पक्कि किल्ला बनाउनु।

उपदेश -७

षानी भयाका ठाउमा गाउँ भया पनि गाउँ अरु जग्गामा सारिकन पनि षानी चलाउनु , गह्रो बन्न्या जग्गामा घर भया पनि घर अरु जग्गा मा सारि कुलो काटि षेत बनाई आवाद गर्नु।

अर्थात्,

खानी भएको ठाउँमा गाउँ छ भने पनि गाउँलाई उपयुक्त ठाउँमा सारेर खानी प्रयोग गर्नु। खेतको गह्रो बन्नसक्ने ठाउँमा वा उब्जनी हुने ठाउँमा घर छ भने पनि घरलाई उब्जनी नहुने जग्गामा सारेर त्यो ठाउँमा कुलो बनाई त्यहाँ खेती गर्नु। 

उपदेश -८

देसका महाजनलाई गोड प्रसाह देषी उभ आउन दिनु। देसका महाजनहरू हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरि छाड्दछन।

अर्थात्,

विदेशी व्यापारीलाई हाम्रो देशमा छिर्न नदिनु। तिनीहरू आएभने हामीलाई कंगाल बनाउने छन्।

उपदेश -९

हामीले च्यांगा पागा लाई तिन सहर नेपाल नौ लाष किरायत हिन्दुपतिको राज आर्ज्य थ्येउ। देसका कपरा लगाउनालाई मन्हाई गरि दिनु। आफ्ना देसका कपरा वन्न जान्यालाई नमना देषाई सधाउनु वन्न लाउनु यस्व भया नगद विदेस जादैन।

हामीले च्यांगा पागा जस्ता घरेलु कपडा लगाएर नेपालका तिन सहर, नौ लाख किरात र मकवानपुर जितेका हौ। तिमीहरूले पनि स्वदेशमै बुनेका कपडा लगाउनु, बिदेशी कपडा बन्देज गर्नु। आफ्नो देशमा कपडा बुन्न जान्ने लाई नमुना देखाएर बुन्न सहयोग गर्नु। यसो गर्न सक्यो भने देशको पैसा बाहिर जाँदैन । 

उपदेश -१०

आफ्ना देसको जिनीस जरिबुटि देस लैजानु नगद खैचनु। नगद खैचि राषनु प्रजा मोटो भया दरवार वलियो रहन्छ। राजाका भण्डार भन्याका रैतानाहरू हुन्।

अर्थात्,

आफ्नो देशमा उत्पादित वस्तु तथा विभिन्न जडिबुडी विदेशमा बेचेर विदेशी मुद्रा आर्जन गर्नु। जनता धनी भए देश धनि रहन्छ। देशका(राजाका) सम्पती भनेकै आफ्ना जनताहरू हुन्।

उपदेश -११

टक्सार पनि चोषो चलाउनु।

अर्थात्,

आफ्नो देशमा चोखो मुद्रा चलाउनु। कालो धन नचलाउनु।

व्याख्या,

उपदेश १ मा राष्ट्रपिताले देशका सिपाही, राजकाज सञ्‍चालन गर्ने भाइ भारदार (अहिलेको भाषामा प्रधानमन्त्री, मन्त्री र सरकारी कर्मचारी समेत) हरू विलाशी बन्नु हुँदैन, धन दौतल र नशाको भोको हुनु हुँदैन, आफ्नो अनिवार्य आवश्यकता मात्र पूर्ति गर्नुपर्छ भन्ने कुरामा जोड दिनुभएको छ। यदि त्यस्तो भयो भने मुलुक कम्जोर बन्छ। यो देश मेरो सानो दु:खले जोडेको होइन र मेरो निजी पनि होइन, यो मुलुकमा बस्ने सम्पूर्ण चार जात छत्तीस वर्ण, साना ठूला सबै नागरिकको साझा फूलबारी हो। सबैलाई चेतना होस्। यो देश जोगाउने जिम्मा राजाको मात्र होइन नागरिकको पनि हो । त्यसका लागि सर्वप्रथम कसैले पनि आफ्नो कुल धर्म नछोड्नु। यो असली हिन्दुस्तान हो। असली हिन्दुस्तानको इज्‍जत जोगाउने जिम्मा तिमि प्रजाहरूको हो भन्ने आशय उहाँको पाइन्छ।

तत्कालीन समयमा भारतमा मुगलको आडमा स्लामले र ईशाईको आडमा अंग्रेजले धमाधम धर्म परिवर्तन गराइरहेका थिए। कुनै देशको राष्ट्रियता कमजोर पार्नु छ भने सर्वप्रथम त्याँहाका नागरिकको धर्म परिवर्तन गराउने गरेको तथ्य बडामहाराजले महसुश गरेर नेपाललाई अहिले सम्म चोखो छ भन्ने आशयले असली हिन्दुस्तान भनेको बुझ्न सकिन्छ। साथमा नेपाल आराध्यदेव पशुपतिनाथ, मुक्तिनाथ लगायत कोटी कोटी देवी देवताको भुमि रहेको, कैलाश पर्वतको कोखमा रहेको, गौतम बुद्ध जन्मेको भूमि रहेको, हिन्दु धर्मको सबैभन्दा जेठो र सर्वमान्य ग्रन्थ  'वेद'का लेखक वेदव्यास नेपाली नागरिक रहनु, रामायणका लेखक वाल्मिकी नेपाली हुनु, सयौं ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरि विश्वलाई बाँडेको भूमिको नाता आदि तथ्यलाई हेरेर असली हिन्दुस्तान त भारत होइन रहेछ,नेपाल हो भन्न खोज्नु भएको छ।

सबै जातको तथा छोटा बडा सबैको साझा फूलबारी हो भन्नुले बडामहाराजले कसैलाई काखा पाखा नगरेको तथा गर्न नहुने समावेशिताको उच्चतम प्रयोग गरेको देखिन्छ। आफ्ना सेनामा समेत उहाँले गुरुङ, मगर, खस, ठकुरी, ब्राह्मण, तामाङ्ग आदिको समिश्रण गरेर निर्माण गरेको तथ्य छ। मनिराम गाइनेले सारंगी बजाउदै दुस्मन राज्यमा डुलेर उनीहरूको सुराकी गर्ने गुप्तचर थिए। विशे नगर्ची दरवारमा बाजा बजाउने काम गर्थे यद्यपि उनी बडामहाराजका विशेष सल्लाहकार थिए। बेखा सिंह विश्वकर्मा, कालु सार्की र जसवीर कामी घरेलु बन्दुक बनाउने र सेनाको पोशाक तयार पार्ने जिम्मेवारीमा थिए।

यसरी माथि उल्लिखित तत्कालीन गोर्खा राज्यभित्र उपलब्ध सबै जात जातिलाई उहाँले समेटेको तथ्य भेटिन्छ। यसले उहाँ समावेशी नीतिको समेत ज्ञाता रहेको पुष्टि गर्दछ।

यद्यपि आजको परिस्थिति हेरौँ । राज्य सञ्चालकहरू सबैभन्दा शोखिन छन्। सबैभन्दा बढी धन दौलत यिनीहरूकै छ। गरिब जनताको मुक्तिका लागि राजनीति गरेको र आफू सर्वहारा वर्ग भएको घोषणा गर्ने दल र नेताहरू सबैभन्दा बढी भ्रष्ट र विलाशी बनेका छन्। बडामहाराजले आफ्नो कुल धर्म नछोड्नु भनेको उपदेश पनि पालना भएको छैन। यिनै राज्य सञ्चालकहरूलाई किनेर पश्चिमाहरू नेपालमा धर्म परिवर्तन गराउन सफल भैरहेका छन्। समावेशिताको नाममा तत्तत् जातिका टाठा बाठा हरूले कोटाको दुरुपयोग गरेको यद्यपि गरिब जहिले गरिब रहिरहेको दुखद नियति रहेको छ।

उपदेश २

बडामहाराजले प्रजातन्त्रको अभ्यास त्यो बेलादेखि नै गर्नुभएको थियो भन्ने प्रमाण हो। आफूले विराज वषेतिलाई काजी नियुक्त गर्न खोजेको यद्यपि जनताको राय लिदा कालु पाण्डेको नाम आएको, त्यसपछी बाइसे चौबिसे छिमेकी राज्यहरूको समेत प्रतिक्रिया लिएको र उनीहरूले पनि कालु पाण्डेलाई काजी बनाउन सल्लाह दिएको कारण आफूले जनमतको कदर गर्दै कालु पाण्डेलाई काजी बनाएको तथ्य प्रस्तुत गर्नुभएको छ। इतिहासको त्यो कालखण्डमा आजका ठूला र आधुनिक देशहरूले समेत प्रजातन्त्रको नाम सुनेका थियनन् होला, त्यो बेलामा बडामहाराजले आफ्नो मुलुकमा प्रजातन्त्र लागू गर्दथे यो हाम्रा लागि गर्वको कुरा हो।

उपदेश ३ मा इतिहास र मौलिकताको ठूलो मूल्य हुन्छ। मान्छेले आफ्नो धरातल भुल्नु हुँदैन भन्ने सन्देश छ। कुनै पनि देशको ऐतिहासिक मूल्य मान्यता, धर्म संस्कृति र परम्पराले जनतालाई एकताबद्दा बनाएर राख्दछ। त्यसलाई तोड्यो भने राष्ट्रिय एकता पनि तोडिन्छ भन्ने अमूल्य ज्ञान बडामहाराजले दिनखोज्नु भएको छ।

उपदेश ४ मा बडामहाराजले आफूलाई पाँच पाण्डवसँग तुलना गरेको देखिन्छ। एउटा २१ वर्षको ठिटो बाइसे चौबिसे राजलाई युद्ध गरेर विशाल नेपाल एकीकरण गर्दै हिँड्नु वास्तवमै कुनै अवतार थियो भन्दा पनि नकार्न सकिँदैन। देशका लागि यो एक चामत्कारिक कालखण्ड थियो।

उपदेश ५ मा पनि बडामहाराजको धर्म संस्कृतिप्रति अगाध विश्वाश थियो भन्ने देखाउँछ। धादिङ्ग सल्यानटारमा अवस्थित वेदीको कृपाबाट आफूले शक्ति प्राप्त गरेको र नेपाल एकीकरण गर्न सफल भएको उहाँको विश्वास छ। यात्रा चमत्कारपूर्ण काम फत्ते गर्ने योद्धाले समेत देवी देवताको विश्वास गरेका थिए भने आजका कथित आधुनिक भनाउदा सिन्को भाँच्न नसकेका नेताहरूले देवी देवता मान्दैन भन्नुको कुनै तुक छैन।

उपदेश ६ मा समेत उहाँको ईश्वर प्रतिको विश्वाश देखिन्छ। काठमाडौँ उपत्यकाको भौगोलिक बनावोट हेरेर यस्तो चमत्कार त ईश्वरले मात्र गर्न सक्छन भन्ने उहाँको आशय छ। साथै तत् तत् स्थानहरूमा पक्की वा बलियो किल्ला बनाउनुपर्ने उहाँको सुझाव छ।

उपदेश ७ देखि उहाँका अर्थ तथा आत्मनिर्भरतासम्बन्धी उपदेशहरू प्रस्तुत गरिएको छ। खानी भएको ठाउँमा गाउँ छ भने पनि गाउँलाई उपयुक्त ठाउँमा सारेर खानी प्रयोग गर्नु। खेतको गह्रो बन्न सक्ने ठाउँमा वा उब्जनी हुने ठाउँमा घर छ भने पनि घरलाई उब्जनी नहुने जग्गामा सारेर त्यो ठाउँमा कुलो बनाई त्यहाँ खेती गर्नु। 

उपदेश ८ मा विदेशी व्यापारीलाई हाम्रो देशमा छिर्न नदिनु। तिनीहरू आएभने हामीलाई कंगाल बनाउनेछन् भन्ने खालको उपदेश छ । आजको परिवेशको मूल्यांकन गरौँ । देशमा ठूला ठूला उद्योग व्यापार विदेशबाट आएका व्यापारीको कब्जामा छ भने नेपालीहरू बाँच्नकै लागि विदेशिनुपर्ने बाध्यता छ। आजको समयमा कुनै विदेशीलाई नेपाल छिर्न नै नदिनु सम्भव नहोला यद्यपि कानुनको माध्यमबाट कम्तीमा उनीहरूले नेपालमा कमाएको धन नेपालमै लगानी गर्नुपर्ने, पुँजी पलायन हुन नदिने कदम राज्यले गर्न सक्छ। बडामहाराजको दिव्य उपदेशको सारलाई गम्भीरतापूर्वक मनन गर्ने सरकारको निर्माण गर्नु आजको आवश्यकता हो।

उपदेश ९ मा स्वदेशमै बनेका कपडा लगाउनु पर्दछ जसले गर्दा देशको पैसा देशमै रहन्छ भन्ने उपदेश छ भने उपदेश १० मा पनि मिल्दो जुल्दो, विदेशी सामग्री प्रयोग गर्ने होइन बरु नेपाली सामग्री विदेश निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्नुपर्छ भन्ने उहाँको उपदेश छ।

त्यसैगरी उपदेश ११ मा टक्सार पनि चोखो चलाउनु अर्थात् देशमा चल्ने मुद्रामा कालोधन, पाप गरेर कमाएको धन प्रयोग नहोस् भन्ने उहाँको उपदेश पाइन्छ ।

यसरी श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहका कालजयी उपदेशहरूबाट के बुझिन्छ भने उहाँ एक बलवान्, सुरबीर र युद्धकलाले निपूर्ण राजा मात्र नभई त्यो कालखण्डमा समेत अर्थ, देशको सार्वभौमिकता, धर्म संस्कृति, समावेशिता तथा प्रजातन्त्र, शुसासन तथा राजकाज आदि महत्वपूर्ण विषयमा दखल तथा दूरदृष्टि राख्ने एक महापुरुष हुनुहुन्थ्यो। उहाँको गुनगान जति गाए पनि कमै हुन्छ। उहाँको जन्म जयन्तीमा फगत एक सार्वजनिक बिदाका लागि देशभित्रै संघर्ष गर्नुपर्ने वातावरण एक सच्चा नेपालीक लागि स्वाभाविक होइन । कुनै दिन यस्ता महापुरुषले जन्म लिएको भूमिमा आज उहाँले नै 'जोबाट हामीलाई खतरा छ है' भनेर सचेत गराउनु भएको थियो उसैको रणनैतिक कब्जामा छ मुलुक । कतै यो आफ्नो राष्ट्रपिताको उपदेशको अवमूल्यन गर्नाको दुष्परिणाम त होइन ?

(बडामहाराजका युद्ध कला/नीति, सुशासन नीति तथा काठमाडौँ उपत्यका आक्रमण लगायत सम्बन्धी उपदेशहरू समेटेर अर्को शृंखला लिएर आउने छौं ।)


Author

थप समाचार
x