पृथ्वी परिक्रमा

पृथ्वीनारायणले भरत खण्डमा दुई राज्य कल्पना गरेको बुझिन्‍छ

‘मग्रातको राजा हुँ’

सूर्यविक्रम ज्ञवाली |
पुस २७, २०७७ सोमबार १२:४५ बजे

पृथ्वीनारायण शाह बडा साहसी वीर थिये तथा वीरता प्रदर्शन गर्ने ठाउँमा कहिल्यै पछी सर्दैनथे । उनका युवावस्थामा अनुभवका अभावले अथवा उमेर छिपिये पछी चाँडो फल पाउने इच्छाले उनले कहिले काहीं अनुचित साहस देखाई आफ्नो वा आफ्ना अफीसर वा आफ्ना मानिसहरूको प्राण सङ्कटमा पारेको भये ता पनी साधारणतः उनको वीरता विचारपूर्ण थियो ।

नेपाल उपत्यकाको विजयका अभियानमा गर्न परेका धेरैजसो युध्दको सञ्चालन उनले स्वयं योग्यता पूर्वक गरे । सेना सँग पृथ्वीनारायण शाहको व्यक्तिगत प्रेमपूर्ण सम्बन्ध थियो, यसैले गर्दा गोर्खाली सैनिकहरू पृथ्वीनारायण शाहको आज्ञापालन गर्न सदा तत्पर थिये तथा सैनिक नियुक्ति, पदोन्नति औ सम्पूर्ण सैनिक शासन न्यायपूर्ण औ पक्षपात रहित भयेको हुनाले गोर्खाली सेना स्वामीभक्त, आज्ञाकारी तथा युध्दमा प्राण समेत अर्पण गर्न किञ्चित् न मान्ने थियो ।


काठमांडु तथा पाटन विजय गर्ने बित्तिकै पृथ्वीनारायण शाहले परम्परा अनुसार आफुले मानी आयेको धर्म आफुले मानी आयेका परम्परा देखी चली आयेका रीतिले मान्ने स्वतन्त्रता प्रदान गरी नेवारहरूलाई उनीहरूका धार्मिक विश्वासका विषयमा निश्चिन्त गराये । यो बुध्दिमत्तापूर्ण नीति पछी–पछी आफुले विजय गरेका अरू देशमा पनी अनुसरण गरियो । ठुला–ठुला विजेताहरू द्वारा विजित देश लुटियेका अनेक उदाहरण इतिहासमा प्राप्त छन्, पृथ्वीनारायण शाहले काठमांडु, पाटन वा भक्तपुर वा पूर्वका राज्यहरू जीते पछी उनका सेनाले विजित स्थान लुटेका कुराको उदाहरण प्राप्त छैन ।

विजित देशका राजाको दरबार माथी विजेताको अधिकार स्थापित भये पछी तिनताक विजय प्रमाणित हुने हुनाले राजदरबार माथी उनको अधिकार आफैं होई हाल्थ्यो औ काठमांडुमा ता उनी सोही दरबारमा निवास गर्न लागेको बुझिन्छ । यसै गरी पाटन तथा भादगाउँका दरबारमा उनका भाई वा भारादार बसेको बुझिन्छ । युध्दको यो स्वाभाविक परिणाम हो भन्ने तिन ताक विश्वास नै थियो । पृथ्वीनारायण शाहले नेपाल उपत्यका विजय गरे पछी उनको सेनाले यो उपत्यकाको कुनै भाग लुट्न पायेन । उनले नेपाल आफ्ना अधीन गराये पछी वहाँ सुसङ्गठित प्रशासन स्थापित भै हाल्यो ।

अन्यत्र पनी उन को यही नीति थियो । यो नीतिले विजित देशका प्रजा सन्तुष्ट भै आफु प्रति राजभक्त हुन्थे । राजाको शक्ति प्रजामा निर्धारित छ तथा प्रजाका समृध्दिमा राजाको समृध्दि छ भन्ने कुरामा पृथ्वीनारायण शाहको विश्वास थियो । उनले गोर्खाली, नेवार, राई, लिंबु आदिमा विशेष भेदभाव गरेनन् । मेरो मुलुक चार जात छत्तीस वर्णको फुलबारी हो औ सबैले आफ्ना आफ्ना कुल धर्मको कार्य गर्नु भन्ने पृथ्वीनारायण शाहको उपदेश थियो । जानी जानी न्याय विगार्ने वा घूस खाने हाकिम राजा औ राज्यका महाशत्रु गनिन्थे तथा उनीहरूले यसता अपराध गरेका खण्डमा प्राण दण्ड वा सर्वस्वहरण को सजाय सम्म गर्न पर्छ भन्ने उनको विचार भयेको बुझिन्छ ।

“नेपालको राजा” भने ता नेपालको सीमित अर्थ लाग्ने हुनाले उनले आफुलाई मग्रातको राजा अर्थात् पर्वतको राजा भनेका हुन् ।
 

स्वदेशको आर्थिक समृध्दि उनका जीवनको प्रधान लक्ष थियो । यो सम्बन्धमा आफुले निर्धारित गरेका नीतिको व्यवस्था मिलाउन न पाउँदै पृथ्वीनारायण शाहको मृत्यु उनको आर्थिक नीति देशभक्तिपूर्ण थियो औ तेता बाट हुने लाम नेपाली व्यापारीहरूलाई विशेषतः उपत्यकाका नेवार व्यापारीहरूलाई नै हुने थियो । पृथ्वीनारायण शाह व्यापारका विरोधी थियेनन् किन्तु व्यापार द्वारा नेपालका स्वतन्त्रतामा कुनै बाधा न परोस् भन्ने उनको विचार तथा चेष्टा थियो । यो कुरा प्रत्येक स्वतन्त्र राष्ट्रले विचार गर्न पर्ने विषय हो भन्ने कुरामा द्विमत हुन सक्तैन ।

तिन ताकका चलन बमोजिम पृथ्वीनारायण शाहका दुई विवाहिता रानी तथा अनेक भित्रिनीहरू भये ता पनी इनी विलासका विरोधी थिये औ आफ्ना रैती विलासी न हुन् भन्ने उनको आन्तरिक इच्छा थियो । बहुविवाह चलेका समाजमा एक भन्दा अधिक विवाहिता वा ल्याइते पत्नी भयेका कुरालाई विलासिता मान्ने चलन थियेन । रैती विलासी भये उनीहरू शक्तिविहीन हुन्छन् औ शत्रुले स्वदेश माथी आव्रmमण गर्‍याे भने स्वदेशको रक्षा गर्न उनीहरू सक्तैनन् भन्ने उनको विचार थियो । कहिले काहींं इनले रीसका आवेगमा अथवा भयप्रदर्शन गर्न निर्दयतापूर्वक केही कार्य गरी हाले ता पनी इनी निर्दय प्रकृतिका मानिस थियेनन् । जटिल परिस्थिति परेका वेलामा पनी इनी आत्तिंदैनथे तथा विपत्तिमा इनको धैर्य हराउँदैनथ्यो । इनी आफुले निश्चय गरे पछी सो कार्यको सफलताका निम्ती गर्न पर्ने उद्योगमा कहिल्यै विरत भयेनन् । अभीष्ट सिध्दिका निमित्त दुष्कर तथा कठिन कार्य गर्न पनी इनी सदा प्रस्तुत रहन्थे ।

नेपाल विजय गरे पछी भाईहरू सँग उत्पन्न भयेको मनोमालिन्य बाहेक उनको पारिवारिक जीवन स्नेहपूर्ण थियो । इनको मातृभक्ति मानवीय स्नेह तथा श्रध्दाको अत्यन्त उच्च उदाहरण प्रस्तुत गर्छ । आफ्ना सहोदर तथा विमातृक भाईहरू वा नातेदारहरूलाई इनले कहिल्यै आफ्ना प्रेम तथा कृपा देखी वञ्चित गरायेनन् । आफ्ना नोकर–चाकरहरू प्रति इनी बडा दयालु थिये ।

नेपाल उपत्यकाका विजय पछीको पृथ्वीनारायण शाहका दरबारमा भयेका तथा उनलाई प्रशासनमा अनेक प्रकारले सहायता गर्ने उनका भाई भारादारहरूको समसामयिक विवरण प्राप्त छ । (भक्तविजय काव्य–श्लोक ४ देखी १४ सम्म ।) पृथ्वीनारायण शाहका भाई मध्ये माहिला कीर्तिमहोद्दाम शाह तथा साहिंंला दलमर्दन शाह चौतरिया थिये । काहिंला भाई दलजित् शाह सेनापति थिये । कान्छा सुरप्रताप शाह मन्त्री थिये । (पृथ्वीनारायण शाहका भाईहरू सँग नेपाल उपत्यका विजय पछीको वैमनस्यले यो व्यवस्थामा निकै प्रभाव पारेको बुझिन्छ । उनका भाईहरू तटस्थ भै यत्रतत्र लागी बसेका कुराको अनुमान हुन्छ । उनको पूर्व विजयको अभियान उनीले आफैंं सञ्चालन गरेको तथा कोही भाईहरू तेसमा न भयेको कुरा थाहा छ ।) सूरप्रताप शाह मन्त्री भये ता पनी इनी अधिकतर सेनामा काम गर्थे वास्तविक मन्त्री कालु पाँडेका पुत्र वंशराज पाँडे थिये ।

शिवरामसिंह बस्नेतका जेठा छोरा नाहरसिंह, माहिला केहरिसिंह मन्त्रीमण्डलका सभासद् थिये । साहिंंला छोरा अभिमानसिंहले पूर्व विजयमा ठुलो भाग लियेका थिये तथा उनलाई ‘बख्शी’का पदले विभूषित गरियेको थियो । पछीका युध्दमा उनको नाम पाइये ता पनी वंशावलीहरूमा पृथ्वीनारायण शाहका समयमा उनको उसतो नाम न देखियेको हुनाले उनी यो समयमा अल्पवयस भयेका कुराको अनुमान हुन्छ ।

गोर्खाली प्रशासनमा पछी भारादारीका नामले प्रसिध्द भयेको यौटा संस्था थियो जसका सदस्य चौतिरया, मन्त्री, सेनापति आदि राज्यका उच्चपदस्थ कर्मचारीहरू हुन्थे औ जसको सभापतित्व स्वयं राजा गर्थे । ललितावल्लभले नाहरसिंह, केहरिसिंह आदिलाई सभासद् भनेका छन् (बस्नायिता नाहरकेहराद्या सामाजिकाः) । (शिवरामसिंह तथा उनका चार छोराहरूले नेपाल अधिराज्यका निर्माणमा गरेको कार्य हाम्रो इतिहासमा सदा स्मरणीय रहने छ ।)

 सभासद् भन्नाले ललितावल्लभको आशय भारादारीको सदस्य भन्ने हो । युवराज सिंहप्रताप शाह शासन सम्बन्धी कार्यमा भाग लिन्थे औ उनका आज्ञाको राजाका आज्ञा समान मूल्य थियो । (इतिहास प्रकाश–भाग १–पृष्ठ १३ ।) यो प्रथा प्राचीन हिन्दु राज्य व्यवस्था बमोजिम थियो । नेपाल उपत्यकामा धेरै अघी लिच्छवीहरूका समयमा पनी यो प्रथा थियो ।

भादगाउँका युध्दको सञ्चालन पृथ्वीनारायण शाहका कान्छा भाई सूरप्रताप शाहका अधीन थियो । (इनी सूरप्रताप शाह पनी पछी पृथ्वीनारायण शाहका विरmध्द खडा भयेको उनका भाईहरूका विरोधमा सम्मिलित भै पश्चिम तिर जाँदा उतै मारियेको कुरो कुनै वंशावलीमा उल्लिखित छ । पछीको नेपाली सेनामा इनका छोरा रणभजन शाह भयेको कुरा शक्तिवल्लभले उल्लेख गरेका छन् । –जयरत्नाकर नाटक–पृष्ठ ८० ।) उनका साथमा पृथ्वीनारायण शाहका प्रधान मन्त्री वंशराज पाँडे पनी थिये । सो युध्दमा जाने अरू अनेक योध्दाहरूको नाम ललितावल्लभले लेखेका छन्, तीमध्ये कसैको परिचय पाइयेको छ औ अरू कसैको परिचय पाउन सकियेको छैन । ललितावल्लभले प्रभुनारायण मल्ल तथा हनुमान् मल्ल नामक वीरहरूको नाम आदरपूर्वक उल्लेख गरेका छन् ।

इनीहरूको मल्ल उपाधि देख्दा इनीहरू पश्चिमका कुनै राज्यबाट आई पृथ्वीनारायण शाहका सेनामा नियुक्त भयेका कुराको अनुमान हुन्छ । अल्ली पछी पर्वतका मलय बमका वंशज शत्रुभञ्जन मल्ल नेपालका सेनामा भयेको तथा पश्चिममा गरियेका लडाईंमा इनले भाग लियेको कुरा चाल पाइयेको छ । ललितावल्लभका वर्णनमा युध्दवीर साही, नरसिंह साही, बूढा दलमर्दन साही, जीव साही तथा श्रीधर साही नामक योध्दाहरूको नाम पनी उल्लिखित छ । इनका विषयमा अधिक केही चाल पाइयेको छैन । सम्भवतः इनीहरू गोर्खाका साहीहरू हुन् तथा द्रव्य शाहका वंशज हुन् ।  

गोर्खाका दरबारमा ब्राह्मणहरूका केही थरको प्राधान्य थियो । ती थर अज्र्याल, खनाल, भट्टराई, पन्त, पाँडे इत्यादि हुन् । अधिकारीको पनी प्राधान्य थियो । ललितावल्लभले प्रद्युम्न अधिकारी नामक एक जना योध्दाको नाम लेखेका छन् । ललितावल्लभले सरुप वीर भनी लेखेका पछी १७८५ मा सिंहप्रताप शाहकी रानी राजेन्द्रलक्ष्मीका मृत्यु पछी मारिने स्वरुपसिंह कार्की हुन् भन्ने अनुमान छ । ललितावल्लभले भनेका अमरसिंह पलानचोकका लडाईंमा १७५९ मा मारिने भीमसिंह थापाका छोरा तथा अंग्रेज औ नेपालका युध्दमा ठुलो ख्याति प्राप्त गर्ने अमरसिंह थापा (जन्म १७५१–मृत्यु १८१६) हुन् । (शक्तिवल्लभले राजाका वंशमा जन्मेका (अस्यकुलजा) उनका भांचामा खाने (महानसमागिनः) ९०० साहीहरूको उल्लेख गरेका छन् । –जयरत्नाकर नाटक–पृष्ठ ८३ ।)

सेना सँग पृथ्वीनारायण शाहको व्यक्तिगत प्रेमपूर्ण सम्बन्ध थियो, यसैले गर्दा गोर्खाली सैनिकहरू पृथ्वीनारायण शाहको आज्ञापालन गर्न सदा तत्पर थिये तथा सैनिक नियुक्ति, पदोन्नति औ सम्पूर्ण सैनिक शासन न्यायपूर्ण औ पक्षपात रहित भयेको हुनाले गोर्खाली सेना स्वामीभक्त, आज्ञाकारी तथा युध्दमा प्राण समेत अर्पण गर्न किञ्चित् न मान्ने थियो ।

राणा वंशका एक जना प्रसिध्द पूर्वपुरmष रामकृष्ण कुँवरको पनी ललितावल्लभले उल्लेख गरेका छन् । १८४६ मा नेपालको राज्यशक्ति आफ्ना हात पारी राणा शक्तिको प्रवर्तन गर्ने जङ्गबहादुरका इनी प्रपितामह थिये तथा इनको मृत्यु १७८७ मा भयेको थियो । पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न १७४४ मा गरेको युध्द देखी उनको मृत्यु हुन्ज्याल सम्म तथा पछी पनी गरियेका युध्दहरूमा इनले भाग लियेका थिये । पृथ्वीनारायण शाहले पूर्व विजय गर्दा खेरी गरियेका युध्दमा इनले प्रमुख भाग लियेका थिये । ललितावल्लभले अतिबल बिस्ट, गजबल बिस्ट, विश्राम खत्री, कीर्ति शाह, शिवभक्त, रामभक्त आदि वीरहरूको पनी नाम लेखेका छन् तर तिनीहरूको परिचय प्राप्त गर्न सकियेको छैन ।

पृथ्वीनारायण शाहका दरबार सित सम्बध्द आफ्ना समयका केही विद्वान्हरूको पनी वर्णन ललितावल्लभले गरेका छन् । सबै भन्दा पहिले उनले पृथ्वीनारायण शाहका गुरुखलक मिश्रहरूको उल्लेख गरेका छन् । इनीहरू वाराणसीका मिश्रहरू हुन् तथा राम शाहका समय देखी (१६०६–३३) गोर्खा दरबारमा इनको प्रवेश भयेको हो । पृथ्वीनारायण शाहका गायत्री–गुरुको नाम हर्ष मिश्र थियो । पछी अंग्रेज औ नेपालको १८१४–१६ को लडाईंमा दुई राज्यमा मित्रता स्थापित गराउने कुरामा उद्योग गर्ने गजराज मिश्र सम्भवतः इनका परिवारका हुन् औ सो युध्द पछी नेपालका राजनीतिमा इनको कुनै स्थान भयेन । पृथ्वीनारायण शाहकी महारानी नरेन्द्रलक्ष्मी देवीका दीक्षागुरु पण्डित जयमङ्गल थिये । इनी तनहुँका ब्राह्मण थिये तथा इनको थर पौड्याल हो ।

इनका विद्वत्ता द्वारा प्रभावित भयेर ललितावल्लभले इनलाई देवताका गुरm बृहस्पति जसता भनी भनेका छन् । सिंहप्रताप शाहको १७७७ मा मृत्यु हुँदा इनका पुत्र व्रजनाथ राजद्रोहका अपराधमा मुडिई धपियेका थिये तर पछी रणबहादुर शाहका राज्यकालमा इनले उनको विश्वास पुनः प्राप्त गर्न सकेका थिये । इनका छोरा रङ्गनाथ रणबहादुर शाह काशी बाट फर्कंदा उनी सित सँगै फर्केका थिये औ समसामयिक नेपालका राजकाजमा निकै भाग लियेका थिये । इनी एक पटक थोरै समयका निम्ती मुख्त्यार पनी भयेका थिये तथा सो पद पाउने प्रथम ब्राह्मण इनै हुन् । 

महेश्वरलाई युवराजको गायत्रीगुरु भनी ललितावल्लभले लेखेको हुनाले उनी सिंहप्रताप शाहका गुरु रहेछन् भन्ने चाल पाइन्छ । इनले यज्ञार्थ पध्दति नामक कर्मकाण्डको पुस्तक लेखेका थिये । धर्माधिकारीको पदमा सारा शास्त्र जान्ने (शास्त्रकलापधामः) विद्वान् हरदत्त थिये । राज्य ज्योतिषीका पदमा खरीदार बालकृष्ण थिये । पृथ्वीनारायण शाहका प्रारम्भिक कालका उनका विश्वासी ज्योतिषी कुलानन्द ढकालको सम्भवतः यो वेला मृत्यु भै सकेको थियो । राजवैद्यको पदमा महेश्वर थिये । इनलाई ललितावल्लभले “वैद्यशास्त्ररुपी कमलका राजहंस (भैषज्यशास्त्राम्बुजराजहंसः) भनेका छन् ।

(श्री चौ. फत्यजंग पराक्रम शाहले महेश्वरलाई ‘श्रेष्ठ’ भनेका छन् । चौतरिया महोदयद्वारा दिइयेको महेश्वरको परिचय साँचो हो भने यता बाट पृथ्वीनारायण शाहका विलक्षण उदारताको परिचय पाइन्छ । नेपाल विजय गर्ने बित्तिकै नेपालका प्रसिध्द वैद्यलाई राजवैद्यका पदमा नियुक्त गरेको कुरा द्वारा विजित तथा विजेताको भाव उनमा पटक्क न भयेको कुरो सिध्द हुन्छ । आधुनिक समयमा नेपाली प्रशासनमा नेवारहरूले महङ्खवपूर्ण स्थान प्राप्त गरेका कुराका इतिहासको खोजी यो सम्बन्धमा बडो महङ्खवपूर्ण छ ।) उनका दरबारका अरू पण्डितको नाम उल्लेख गर्दा ललितावल्लभले रामहृदय तथा वेणुधरको नाम लेखेका छन् । रणबहादुर शाहका समयमा ख्याति प्राप्त गर्ने पण्डित वाणीविलासका ई पिता हुन् तथा इनको थर पाँडे हो । वेणुधर ज्योतिषी थिये तथा रणबहादुर शाहका समयमा इनको पद जेठाबुढाको थियो । शिवानन्द नामक पण्डित कोशाध्यक्ष भयेको कुरा ललितावल्लभले लेखेका छन् । इनको थर सापकोटा हो तथा पछी प्रसिध्दि प्राप्त गर्ने श्यामलाल खजांचीका पिता हुन् ।

माथी वर्णन गरियेका पृथ्वीनारायण शाहका भारादाराहरू मध्ये शास्त्रका विद्वान् तथा युध्दकलामा दक्ष दुवै प्रकारका मानिस भयेको देखिन्छ । अर्का शब्दमा भन्ने हो भने उनका दरबार वा भारादारीमा विद्वान् तथा योध्दा, दुवैको समावेश थियो औ नव–निर्मित राज्यको प्रशासन इनीहरू बाट नै हुन्थ्यो । पृथ्वीनारायण शाहका भारादार प्रायः जङ्गी तथा निजामती दुवै काम गर्थे ! इनीहरू कुशल शासक तथा चतुर योध्दा हुन्थे । पृथ्वीनारायण शाहको भारादारीका सम्मुख नेपाली राष्ट्रको निर्माण औ उसका एकीकरणको प्रश्न हुँदा उनले तेसमा शास्त्रका विद्वान् तथा शास्त्रका चालक ग्रहण गरेका थिये । योध्दाले नवीन राज्य विजय गथ्र्यो तथा विद्वान्ले शासनको सिध्दान्त स्थिर गर्थे औ तेसको व्यवस्था मिलाउँथे ।

नेपाल उपत्यका तथा पूर्वका किरात औ लिंबुआन विजय गरे पछी अनेक धार्मिक, सामाजिक तथा राजनीतिक समस्या उपस्थित हुनु स्वभाविक थियो । तिनको समाधान गर्दा प्रजातान्त्रिक सिध्दान्तको आधार स्वीकार न गरियेको भये पनी (सम–सामयिक नेपालमा यो सम्भव पनी थियेन) वर्ण व्यवस्थाको संकुचित व्यवस्थालाई उदार तुल्याई तेसलाई आधार मानियेको थियो । यसले गर्दा एकीकरण कार्यले तीव्रता तथा प्रगति प्राप्त गर्न न सक्ने भये ता पनी उपस्थित समस्याको अल्पतम विरोध हुने यौटा उपाय अविष्कार गर्न यो भारादारी समर्थ हुन्थ्यो । यो भारादारीले माध्यमिक कालमा करनाली प्रदेशमा हिन्दु विद्वान्हरूले चलायेको तथा पछी गण्डकी प्रदेशमा अनुसरण गरियेको धार्मिक तथा सामाजिक परिपाटीलाई नै नवीन राज्यमा एकीकरणको सिध्दान्तको सके सम्म रक्षा गर्दै पालन गर्ने नीति लियो ।

राष्ट्रियता तथा आधुनिक प्रजातान्त्रिक विचार सित विशेष परिचय न भयेको एक जना वंशावलीकारले नेपाल उपत्यकाका विविध राज्य इनले विजय गर्न सफलता प्राप्त गरेका कुराका विषयमा भनेको छ–“नेपाल तीन शहरका राजा आसपास न मिली नीति धर्म पनी छाड्दा तीन राज्यको तीनै मन भै न मिल्दा तीन राज्य मिली उद्योग नगरी आपुसमा वारंवार तकरार गरी रहँदा बडा प्रतापी श्री महाराज पृथ्वीनारायण बुध्दिवन्त, सुरा, उद्योगी हुनाले असम्भव भयाको नेपाल पुण्यभूमि लिना निमित्त अत्यन्त उद्योग गरी श्री ईश्वर प्रसन्न भै भाग्य सहाय भै तीनै शहरका राजकन जिती तीनै शहरका एक राजा मै हुकुम चलाया ।”

उपर्युक्त कुरा लेख्ने वंशावलीकारले नेपाल उपत्यकाका दृष्टिले यो कुरा भनेको भये ता पनी यसमा उनले यौटा अत्यन्त महङ्खवपूर्ण तथ्यको उद्घाटन गरेका छन् । त्यो तीनै शहरका एकै राजा भै हुकुम चलाउने कुरा हो । एकै राजा हुने जो कुरा वंशावलीकारले भने तेही अठारहौं शताब्दिको नेपाल उपत्यकाको मात्र होइन किन्तु सम्पूर्ण हिमालयको समस्या थियो । यो समस्या पृथ्वीनारायण शाहले निकै पूर्ति गरे औ उनका मृत्यु पछी उनैले देखायेका मार्गमा हिंडी पूर्वी हिमालयको एकीकरण गर्न नेपालीहरूले ३०–४० वर्ष सम्म ठुलो उद्योग गरे र तेसैको परिणाम स्वरुप आज नेपाली जाति सानो भये ता पनी साहसपूर्वक संसारका जातिहरूका सम्मुख उभिन समर्थ भयेको छ ।

पृथ्वीनारायण शाहले पाल्देन येशे टाशी लामालाई लेखेको यौटा पत्रमा आफ्नो प्रशस्ति “पर्वतके बादशाह” भनी लेखेका थिये । यो प्रशस्तिको संस्कृत रुप “पर्वतैक बादशाह” को प्रयोग पनी पछीका लेखमा देखियेको छ । “पर्वतके वादशाह” वा “पर्वतैक बादशाह” को विश्लेषण गरी विचार गर्‍याे भने पहाड खण्डका विविध राजाहरूका राजा भन्ने भाव तथा त्यो भाव भीत्र नेपाली जातिका एकीकरणको भाव पनी भयेको बुझिन्छ । पृथ्वीनारायण शाहको हृदय एक राज्य तथा एक जातिका भावले परिपूर्ण हुँदा उनले आफुले निर्माण गरेका राज्यको आधार पर्वतलाई तुल्याये तथा बादशाहका प्रयोग द्वारा विविध राज्य तथा गोष्ठीको एकात्मकता, एक जातीयता तथा एक भावात्मकतालाई विशेष पुष्टि प्रदान गरे ।

पृथ्वीनारायण शाहले भरत खण्डमा दुई राज्यको कल्पना गरेको बुझिन्छ । यौटा आफुले पहाडमा निर्माण गरेको राज्य थियो तथा दोस्रो मुगलानमा नेपाल बाहिर भारतमा स्थापित हुन लागेको अंग्रेजको राज्य थियो । (यो सम्बन्धमा पृथ्वीनारायण शाहको वाणी यसतो छ– “नेपालको किताप हेर्दा तुरकाना, मंग्रात, मुग्लाना हुन्या रहे छ र तुरकाना अघि भइ गये छ । मगरातको राजा मै हुँ । मुग्लानाको दोष मेट्न लाई आधा थुम मेटी कंपनि जभायाको हो ...” यहाँ तुरकानाको अर्थ भारतीय साहित्यमा माध्यमिक कालमा चलेको अर्थ मुसलमानको राज्य लाउन पर्छ । मुग्लानाको अर्थ नेपालमा चलेको भारत लाउनु पर्छ । यो शब्द मुगल बाट निस्केको भये ता पनी नेपालमा केही वर्ष अघीसम्म यसको अर्थ अङ्गरेजले शासन गरेको भारत हुन्थ्यो ।)  यस भन्दा अघी स्थापित भयेको तुरकाना मुसलमानको राज्य समाप्त भै सकेको कुरा उनले भनेका छन् । यही अंग्रेजको राज्यलाई लक्ष गरेर उनले यस बाट रक्षा गर्न आफुले बंदुक उपयोग गर्ने सेना खडा गरेको कुरा भनेका छन् तथा स्वदेशका रक्षाका अनेक उपाय भनेका छन् । 

आफुलाई उनले “मग्रातको राजा” भनेको कुरा पनी बडो रोचक छ । “नेपालको राजा” भने ता नेपालको सीमित अर्थ लाग्ने हुनाले उनले आफुलाई मग्रातको राजा अर्थात् पर्वतको राजा भनेका हुन् । भन्नाको तात्पर्य के थियो भने मुसलमानहरूको राज्य सकियो, अब दुई राज्य छन् । यौटा मुग्लान अर्थात् भारतको राज्य, अर्को पर्वत अर्थात् नेपाल अर्थात् पृथ्वीनारायण शाह द्वारा नवनिर्मित राज्य ।

पृथ्वीनारायण शाहले यो सन्दर्भमा गङ्गाको साँध लाग्ने कुरा पनी भनेका छन् । यता बाट पनी उनको पर्वतको राज्य स्थापना गर्ने कल्पना कसतो दृढ तथा स्पष्ट थियो सो कुरा चाल पाइन्छ । मोरंगको सेन राज्य विजय गरे पछी सो राज्यको साँध हिन्दुपति हरिहर सेनद्वारा गङ्गाको साँध लाग्ने कुरा फुरेको थियो औ यसलाई आकाशकुसुम भन्नपर्ने कुनै कारण थियेन तथा उनका मृत्यु पछी चाँडै नै वीर नेपालीहरूले यसलाई चरितार्थ तुल्यायेका थिये ।

पृथ्वीनारायण शाहको मृत्यु भये पछी पश्चिम विजयको कार्य जो नेपालले ग¥यो तेसमा लडाईं गर्ने सेनानायकहरू मध्ये निकै पृथ्वीनारायण शाहले गरेका लडाईंमा भाग लिने मानिसहरू थिये तथा उनीहरू उनका अदब तथा तालीममा हुर्केका थिये । विजय ई योध्दाहरूको भये ता पनी त्यो गर्न सक्ने आभ्यन्तरिक शक्ति पृथ्वीनारायण शाहको नै थियो भन्ने कुरामा सन्देह छैन ।

पृथ्वीनारायण शाहको मृत्यु अल्प अवस्थामा ५२ वर्षको उमेरमा भयेको भये तापनी गोर्खा देखी धादिङ्ग सम्म विस्तृत यौटा सानो गोर्खा राज्यलाई पश्चिम मस्र्याङ्दी र चेपे, पूर्व सिंगलीला, कनकाई, उत्तर रसुवा औ दक्षिण पर्सा देखी झापा सम्मको तराई भीत्रको भूमि विस्तृत नेपाल अधिराज्यमा परिणत गर्न उनी समर्थ भये । यो राज्य सँगसँगै गोर्खाली, किरात, नेवार, मदिसेहरू सम्मिलित भयेको वीरता, प्राचीनता, कलाप्रियता तथा सरलताले युक्त भयेको नेपाली जातिको जन्म पनी भयो । पृथ्वीनारायण शाहको यसतो पराक्रम देखेको हुनाले उनका देशवासी अद्यावघि उनको नाम लिंदा अवतारको नाम झैँ आदरपूर्वक लिन्छन् ।

विसं. १९९२ मा दार्जिलिङबाट प्रकाशित ज्ञवालीको पुस्तक ‘पृथ्वीनारायण शाह’बाट । यो पुस्तक पृथ्वीनारायणबारे लेखिएको पहिलो पुस्तक हो । यसमा २८ परिच्छेद छन् । यो सामग्री ‘पृथ्वीनारायण शाहको व्यक्तित्व’ शीर्षकको २७औँ परिच्छेदको संक्षिप्त रूप हो ।

पुस्तकमा प्रयाेग भएकाे भाषा र व्याकरण पनि  यहाँ जस्ताको तस्तै राखिएकाे छ । यो पुस्तक हाल मञ्जरी प्रकाशन, काठमाडौँले पुनर्प्रकाशन गरेको छ ।


Author

थप समाचार
x