इकागज स्कुल
‘दिव्य-उपदेश’ के हो ? पढ्नुहोस् १० उपदेश
दिव्य-उपदेश के हो ?
राजा श्री ५ पृथ्वीनारायण शाह नुवाकोट गएका बेला आफ्नो अन्तिम अन्तिम समयमा भाइभारदारहरूलाई जम्मा गरी दिएको अर्ति एवं उपदेशलाई हाल पृथ्वीनारायणको दिव्य-उपदेश भनेर चिनिन्छ ।
दिव्य–उपदेश कहाँ थियो त ?
काजी अभिमानसिंह बस्नेतको घरमा । अभिमानका घरमा बस्ने लेखापढीको काम गर्ने वंशधर मुखिया श्री भक्तबहादुरसँग यसको प्रति सुरक्षित रहेछ । इतिहासकारद्वय बाबुराम आचार्य र योगी नरहरिनाथले अभिमानसिंहकै वंशधर बखतमान सिंह बस्नेतबाट यो प्राप्त गरका थिए ।
दिव्य-उपदेश कहिले छापियो ?
पुस्तकका रूपमा २०१० साल पुस २७ मा छापियो । पुस्तकका रूपमा आउनुअघि काशीबाट ‘गोरक्ष ग्रन्थमाला’मा छापिएको थियो ।
दिव्य-उपदेश किन यति पछि मात्र छापियो त ?
शाहहरूको शासन खोसेर राणाहरू शासनमा आएका थिए । राणाशासनमा शाहहरूको धेरै फुर्तिफार्ती थिएन । राणा शासनमा शाहहरूको व्यक्तित्वको गुणगान र वचन बाहिर ल्याउन गाह्रो थियो । २००७ सालमा राणा शासनको अन्त्यपछि २००९ सालमा पहिलो पटक ‘पृथ्वीजयन्ती समारोह समिति’ गठन गरियो अनि राज्य तहैबाट पनि शाह वंश सतहमा देखियो ।
दस ‘दिव्य-उपदेश’
– बुढा मरै भाषा सरै भनि भन्छन्. तिमिहरू सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि षानन्.
–चन्डागिरिमा आइपुग्यापछि नेपाल कुन् हो भनि सुध्याँञा र त्यो भादगाउ हो. त्यो पाटन. त्यो काठमाडौं हो. भनि देषा(या) र. मेरो मनमा इ तिन सहरको राजा हुन पाया ता हुँदो हो भन्ने यस्तो मनमा परिरहेथ्यो.
–लमजुन् भन्याको गरुड हो. गोर्षा भन्याको सरप हो. नेपाल भन्याको भ्यागुता हो. अघी गरुडको आषा छलनु. तब सर्पले भ्यागुतो षान पाउछ.
–उप्रान्त ।। यो राजे दुई ढुंङ्गाको तरुल जस्तो रहेछ.चीन वादशाहसित ठूलो घाहा राष्नु. दषिनको समुन्द्रका बादशाहसित घाहा ता राषनु.तर त्यो महाचतुर छ.
–यो तिन सहर भन्याको चिस्व ढुंगो रहेछ.षेलषाल मात्र ठुलो रहेछ. कुपको पानि षान्याछेउ बुधि पनी हुंदैन.सुरो पनि हंदैन.
–तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हेर्या पनि हुन्छ. ईनमा ता दियाको पनि आफ्नै देसमा रहंछ. यस्व भया आफ्नु देस गमन रहन्छ ।।
–षानी भयाका ठाउमा गाउ भया पनि गाउ अरु जग्गामा सारिकन पनि षानि चलाउनु. गर्हो बन्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारि कुलो काटि षेत बनाई आवाद गर्नु.
–पुरुव पछिम्का षस बाहुन्लाई दरबारमा पैठ् हुन नदिनु. क्यान भनौला बाहिडा मान्छ्याले दरबारमा विथिति गराउछन् ।
–आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगद षैचनु.नगद षैचि राषनु र प्रजा मोटा भया दर्बार बलियो रहन्छ.राजाका भंडार भन्याका रैतानहरू हुन्.
–मेरा साना दुषले आज्र्याको मुलुक होइन.सबै जातको फुलबारि हो.सबैलाई चेतना भया. यो फुलमारिको छोटा बडा चारै जात छत्तिसै बर्नले (यसलाई सम्भार गर्नु पर्दछ).
स्राेत : बाबुराम आचार्य र योगी नरहरिनाथको सम्पादनमा प्रकाशित पुस्तक ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया