प्रवास

चीनको के हो ११११ ?

अजय अलौकिक |
कात्तिक २५, २०७७ मगलवार १२:२१ बजे

बेइजिङ : अबको केही घण्टामा नोभेम्बर ११ तारिख लाग्ने छ । अर्थात् एघारौं महिनाको एघारौं दिन आरम्भ हुने छ । यसलाई अंकमा हेर्दा चार वटा एक, यस्तो ११११ देखिन्छ । यसको महत्त्व या अर्थ र विचार अंक चिन्हमा विश्वास गर्ने या अध्येताको भिन्न होला तर आममानिसको विचारमा भने यो एउटा मात्र अंक हो र यसले एक वा एउटा भन्ने जनाउँछ । तर चीनमा यो चार वटा १ या डब्बल एघार, नोभेम्बर ११ तारिखको दिनलाई सपिङ महोत्सवको रूपमा मनाउने चलन रहँदै आएको छ । सन् २००९ देखि प्रचलित यस अनलाइन सपिङ महोत्सवले वर्षेनि नयाँ रेकर्ड पनि बनाउँदै आएको छ ।

सन् २००९ मा यस दिनलाई चिनियाँ ईकमर्स कम्पनी अलिबाबाले एक अनलाइन किनमेल पर्वको रुपमा विकास गरेको थियो । जहाँ सरसामान खरीद गर्न भारी छुट दिएर आकर्षित गरिएको थियो । यस कार्यको थालनी ईन्टरनेट जाईन्ट अलिबाबाका संस्थापक मा युन (ज्याक मा)ले गरेका हुन् । यो अवधारणा यति सफल बन्यो कि अहिले आएर एक ट्रेण्ड नै बनिसकेको छ र धेरै भन्दा धेरै ईकमर्स तथा अनलाइन सपिङ कम्पनीहरू यसमा जोडिएका छन् र विश्वकै सबैभन्दा ठूलो अनलाइन सपिङ महोत्सवको रुपमा डब्बल ११ रहेको छ ।


हाल आएर अनलाइनमात्रै होइन पसल तथा मलमा समेत डब्बल ११ धमाकाको रुपमा व्यापारीहरूले नोभेम्बर लागेदेखि नै भारी छुट दिन थालेका छन् । अहिले चीनका मल र सडक सिंगारिएका छन् । यस पटक त अलिबाबाले समेत नोभेम्बर १ देखि नै कतिपय सामानमा छुट दिएको छ । तर नोभेम्बर ११ को रौनक भने अर्कै हुने गर्दछ । गत वर्ष चिनियाँ ईकमर्स जाईन्ट अलिबाबा कम्पनीले डब्बल एघारको दिन नयाँ रेकर्ड बनाएको थियो ।

नोभेम्बर ११ तारिखको पहिलो १ घण्टा चार मिनेटमा बेञ्चमार्क १०० बिलियन यूआनको कारोबार गर्दै २४ घण्टामा २६८ बिलियन यूआनको कारोबारसँगै नयाँ रेकर्ड बनाएको थियो । साथै १ मिनेट ३६ सेकेण्डमा १० बिलियन यूआनको कारोबार गरेर सन् २०१८ को रेकर्ड तोडेको थियो भने २१३.५ बिलियन यूआनको विक्री रेकर्डलाई १७ घण्टामा २१७ बिलियन यूआनको रेकर्ड बनाउँदै तोडेको थियो । नोभेम्बर ११ लागेको १ मिनेट ३६ सेकेण्डमा १० बिलियन यूआनको कारोबार गरेको थियो साथै ५० बिलियन यूआन १२ मिनेट ४९ सेकेण्डमा र बेञ्चमार्क १०० बिलियन यूआन १ घण्टा तीन मिनेट उनन्साठी सेकेण्डमा भेट्टाइएको थियो । यस पटक फेरि पनि यी रेकर्डहरू तोडिने छन् ।

यसरी यो चिनियाँ एकल दिवस अमेरिकामा मनाइने साइबर मण्डे या नोभेम्बरको चौथो शुक्रबार मनाइने ब्ल्याक फ्राइडे जस्तै एउटा किनमेल महोत्सवको रूपमा रुपान्तरण भएको छ ।

अहिले कोभिड-१९ पश्चात् यसले चीनको आर्थिक विस्तारलाई थप गति दिने विश्वास पनि गरिएको छ । १ अर्ब ४० करोड जनसंख्या भएको चीनमा मझौला आम्दानी भएको समूहको संख्या मात्रै ४० करोड छ र यो समूह चीनको आन्तरिक तथा विश्व बजारको मुख्य प्रेरक शक्ति पनि हो ।

यस डब्बल एघार महोत्सवमा राखिएका कतिपय झण्डै ९० प्रतिशतसम्मको पनि छुट पाइने भएकाले ग्राहकहरू उत्साहित हुने गर्छन् । तर हाल किनमेल र छुटसँग जोडिएको यो डब्बल ११ महोत्सवको सुरूवात नितान्त सिङ्गल्स डेको रुपमा भएको थियो । सन् १९९३ मा नानचिङका विभिन्न यूनिभर्सिटीका विद्यार्थीहरूले अंक एक मानिस जस्तो देखिने भएकोले नोभेम्बर ११ लाई सिङ्गल्स डेको रुपमा मनाएका थिए र उनै विद्यार्थीहरूले नै विश्वविद्यालयपछि पनि यस चलनलाई विस्तारै समाजमा अघि बढाएका थिए भन्ने गरिन्छ । यसरी सिङ्गल्स डे एकल मानिसको दिवसको रुपमा तथा अविवाहित भएकोमा गर्व गर्न मनाउने चलन रहँदै आएको थियो । जसलाई चिनियाँहरू क्वाङकुन च्ये भन्ने गर्छन् ।

यसरी चीनमा किनमेलसँगै एकल व्यक्ति महोत्सवको रूपमा मनाउने चलन रहँदै आएको छ । अर्थात् यो सिङ्गल्स डे अर्थात् डब्बल एघार या एघार-एघारले अनलाइन किनमेल पर्वको रुपमा परिचय स्थापित गरेको छ । त्यस माथि हिजोआज मानिसहरू व्यस्तता या सुविधाका कारणले ईसपिङमा आकर्षित छन् नै र त्यसै कारण पनि डब्बल एघारले धेरैभन्दा धेरै ग्राहक आकर्षित गर्न सफल भएको हुन सक्छ । यसरी यो चिनियाँ एकल दिवस अमेरिकामा मनाइने साइबर मण्डे या नोभेम्बरको चौथो शुक्रबार मनाइने ब्ल्याक फ्राइडे जस्तै एउटा किनमेल महोत्सवको रूपमा रुपान्तरण भएको छ ।

साथै विश्वका ५५ वटाभन्दा धेरै देशहरूमा पनि यो डब्बल एघार महोत्सव मनाइने गरिन्छ । दुई वर्षदेखि नेपालमा पनि अलिबाबा मातहतको दराज अनलाइनले डब्बल एघार अनलाइन सपिङ सञ्चालन गर्दैआएको छ । शुभ तिहारको अवसरमा तपाईँ पनि यस्तो छुटबाट लाभ उठाउन सक्नु हुन्छ । तर छुट पायो भन्दैमा अनावश्यक सामान किन्‍न होला नि। त्यता पनि ध्यान पुर्‍याउनु होला । 


Author

थप समाचार
x