प्रवास

बेइजिङमा मनाइयो नयाँ वर्ष

इकागज |
बैशाख ४, २०७८ शनिबार ७:४३ बजे

बेइजिङ : नयाँ वर्ष २०७८ साल आरम्भ भएको शुभ अवसरमा बेइजिङस्थित चीनका लागि नेपाली राजदूतावासले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा चीनमा रहेका नेपालीहरूले नयाँ वर्षको शुभकामना साटासाट गरी बैशाख ३ गते शुक्रबार नव वर्ष मनाएका छन् ।

कार्यक्रममा नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो । कोरोना महामारी (कोभिड-१९) लाई नियन्त्रणमा लिइसकेको चीनमा हाल एक प्रान्तबाट अर्को प्रान्तमा आवतजावत गर्न सहज भइसकेको अवस्थामा दूतावासको उक्त कार्यक्रममा बेइजिङबाहेकका अरू सहर र प्रान्तबाट पनि नेपालीहरू सहभागी हुनआएका थिए ।


सहभागी नेपालीहरूले हाल नेपालमा कोभिड-१९को डर ह्वात्तै बढेको भन्दै चिन्ता प्रकट गरेका थिए । आठ लाख डोज खोप उपलब्ध गराएकोमा चीनप्रति कृतज्ञता पनि व्यक्त गरेका थिए । साथै बेइजिङमा रहेका अधिकाँश नेपालीले कोरोनाविरूद्धको पहिलो खोप पनि लगाइसकेको अवस्थामा खोप लगाएपछिको अवस्थाबारे पनि चर्चापरिचर्चा गरेका थिए ।

केहीलाई निद्रा लागिरहने त कसैले पहिलो दिन वान्ता भएको पनि सुनाए । यसबाहेक, सबै नेपालीले नेपाल र विश्वमा छिटोभन्दा छिटो स्थिति सामान्य भइदिओस् भन्ने नै कामना गरेका थिए । सहज रूपमा छिटोभन्दा छिटो नेपाल आवतजावत गर्न पाइयोस् भन्‍ने सबैको इच्छा थियो ।

ट्रान्स हिमालयन मैत्री समाज नेपालका अध्यक्ष डा.खराजीव झा भने राष्ट्रपतिबाट आफूले प्राप्त गरेको सुप्रबल जनसेवाश्री (तृतीय) पदक थाप्‍न जान नसकेकोमा दुःख व्यक्त गर्दै थिए । उनी सियानदेखि आएका थिए । यसै बीच राजदूत महेन्द्रबहादुर पाण्डेले मञ्चमा नै बोलाएर झालाई बधाई पनि दिए ।

साथै कार्यक्रमलाई सर्वप्रथम राजदूत पाण्डेले उपस्थित सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै मन्तव्य राखे । सो क्रममा गत साल नेपालसहित संसारभर नै कोरोनाभाइरसको महामारीले सताएको भन्दै संसारको इतिहास हेर्दा यस्ता नकारात्मक पक्षबाट सकारात्मक उपलब्धि प्राप्त भएको औंल्याए ।

भाइरस कुनै न कुनै रूपमा संसारमा रहने भएकोले विश्वले हातेमालो गर्दै अनुसन्धानका नतीजा र परीक्षण र औषधिहरू विश्वभर आदानप्रदान गर्नुपर्ने पनि औंल्याए । उनले भने, सामूहिक रूपमा हातेमालो गरेर पारस्परिक हितमा संलग्‍न भएर अगाडि बढ्न सकौं । साथै देशको निम्ति क्रियाशिल हुन सकुन् भन्दै उपस्थित नेपालीहरूलाई नव वर्षको शुभकामना व्यक्त गरे । 

उक्त रात्री भोजसहितको सो शुभकामना आदानप्रदान कार्यक्रममा केही चिनियाँ अतिथिसहित चीनमा अध्ययन, व्यापार तथा विभिन्‍न पेशमा संलग्‍न गरी करिब डेढ सय नेपालीको उपस्थिति थियो ।


Author

थप समाचार
x