प्रवास

परदेशीलाई दसैँमा घरगाउँको याद

इकागज |
असोज १९, २०७९ बुधबार ९:११ बजे

माधव न्यौपाने/दक्षिण कोरिया ।

असोजको महिना । साँझपख जहाजको झ्यालबाट देखिने काठमाडौँको दृश्यले मन हर्षित बनायो , लाग्यो स्वर्ग यही हो । चाहेको कुरा पाउनु नै त स्वर्ग हो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुँदा  मन ढुक्क भएको थियो । 


प्रकृतिभन्दा प्रविधिसँग रम्न थालेको मान्छे अझै भनौँ प्रविधिसँग हार्दै गरेको मान्छे कसरी ग्याजेटबिना रहनसक्थ्यो र ? हेड- फोनमा गायक रामकृष्ण ढकालले गाएको गीत  ' यात्रा रहेछ जिन्दगी ..म एक्लै हिँडिदिन्छु' गीत घन्किरहेको थियो । हुन पनि केही न केही प्राप्तिका लागि गरिने संघर्षको निरन्तरता न हो जिन्दगी ! यात्रामा कति मानिस भेटिन्छन् , कति जोडिन्छन् , कति छुटिन्छन् । गीतमा भनेझैं अन्तमा एक्लै सिर्फ एक्लै । विमानस्थलमा यात्रीहरूको भीडभाड थियो । अक्सर स्वदेश फर्किनेहरूको अनुहारमा प्रसन्नता झल्किन्थ्यो भने बाध्यताले देश छाड्नेहरूको अनुहारमा बाहिर जान पाउँदाको खुसी र घर- परिवार छोड्दाको पीडा बराबरा देखिन्थ्यो । 

एयरपोर्टमा ट्याक्सी गुरुजीको तँछाडमछाडको पनि कुनै वास्ता नगरी म एउटा ट्याक्सीमा गएर बसेँ ।"चरी..ररी ..ररी..रै ..चरी..ररी ..ररी..रै ..वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो ,नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो " नेपाली कथानक चलचित्र 'मुग्लान'को कालजयी गीत चर्काउँदै ट्याक्सी गुड्न थाल्यो । विभिन्न किसिमका हर्नहरूले मेरा कानलाई रोजे। धुलाका बादलहरूले आँखालाई । खाल्डाखुल्डीहरूले गाडी घोडाको सम्झना गरायो भने अस्तव्यस्त सहरको कोलाहलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा देश विकासको गति ।

ट्याक्सीमा पशुपति नजिक पुग्नै लाग्दा बागमती नदीको दुर्गन्धले झल्याँस्स सम्झायो,  मानव सभ्यताको विकाससँग सबैभन्दा गहिरो  सम्बन्ध ठूला ठूला नदीहरूकै छ । संसारका हरेक ठूला सहरहरू नदीका किनारमा छन् । अफ्रिका ,यूरोप, अमेरिका वा एसियाकाका ठूला सहरहरू पानीमा पौडिरहेका पाउछौँ । जस्तो कि , अफ्रिकाको नाइल नदी , अमेरिकाको मिसिसिपी नदी,  दक्षिण कोरियाको राजधानी सौलको बीचमा रहेको हानखान नदी, बर्लिनको बीचमा रहेको रिभर स्प्रे , लन्डनको थेम्स र चीनको पहेँलो नदी । यी नदीहरूले सहरको परिचय दिइरहेका हुन्छन् । बिडम्वना हामीले चाहिँ बागमतीलाई सर-सफाइ समेत गर्न सकेका छैनौं ।

करिब पाँच वर्षको अन्तरालपछि  बाआमा, आफन्त, नातागोतालाई भेट्दा मन एकाएक  आकाशमा उडिरहेको चङ्गा जस्तो भयो । पहिलोपटक आमालाई ढोग्दा उहाँका आँखाँबाट आँशु भरी गाग्रीबाट पानी छचल्किएझैं छचल्किए । बा भने आयातीत ढाका टोपी शिरमा मिलाउँदै हुनुहुन्थ्यो । छिनभरमै  आमा हाँस्नु  भयो । उहाँ हाँस्दा मलाई  संसार हाँसे जस्तो भयो । उसो त कसलाई पो आमा हाँसेको मन पर्दैन र ? आमाका आँखामा अघि बग्ने आँशु पनि अचम्मका कहिले पीडामा बगिदिन्छन् त कहिले खुसीमा । सबै उमेर अनुसार नै बदलिएछन् । तर,  ढल्किँदो उमेरका बाआमा चिन्ताले उमेरभन्दा जीर्ण हुनुभएछ । लामो समयपछि दसैँमा स-परिवार जम्मा हुँदा माहोल रमाइलो थियो । 

घरको एक कुनामा अँध्यारो पारेर राखिएका ती उम्रँदै गरेका जमरा हेर्छु । अनि घर अगाडिको आँगनमा फुल्न तयार भएका सयपत्री र सुपारी फूललाई पनि नजिकै गएर हातले स्पर्श गरेँ। मन त्यसै–त्यसै पुलकित भयो । मादक शरद ऋतु ६  ऋतु मध्ये सर्वश्रेष्ठ ऋतु हो । न गर्मी न जाडो मौसमका हिसाबले पनि यो ऋतु अरुभन्दा उत्तम हुन्छ ।  मङ्सिर ,पुसमा धान काटेर निरस देखिने खेतका गराहरू यसैबेला धानका बाला झुलेर सरस भएका हुन्छन् । अन्नको भण्डार हुन्छ ,घरहरू मर्मत, लिपपोत भएका हुन्छन् । चमेली, गुनकेशरी , सयपत्री र सुपारी फूलले बारीका कान्ला ढाकेका हुन्छन् । 

यसै ऋतुमा पर्ने महान चाड बडादसैँ र भाइटीकाको सामाजिक र सांस्कृतिक महत्त्व छ । 

नेपालको अर्थतन्त्र परदेशले धानेले छ । पहिले नेपाली लाहोरदेखि आसामसम्म मुग्लानिन्थे , अहिले युरोप, अमेरिका, मध्यपूर्व, पूर्व एसिया , अष्ट्रिलियासम्म मुग्लानिन्छौँ । यसै अवसर पारेर खाडीबाट बाबाआमालाई चिल्ला गाडीमा चढाउने सपना । बिछोडको छट्पटीलाई मिलन र मखमलको साडीको सपना र छोराछारीलाई नाना–चाचाको सपना बोकेर आउँछन् । ईष्टमित्रसँग भेटघाट हुन्छ । 

हिन्दूधर्मशास्त्रअनुसार देवी दुर्गाले विनासकारी दानव महिषासुर र रामायणमा मर्यादा पुरुषोत्तम रामले राक्षस रावणको वध गरेपछि धर्ममाथि भएको विजयलाई विजया दशमीका रुपमा  मनाइएको पाइन्छ । धार्मिक विश्वासका साथ प्रयोगमा ल्याइने अक्षता जमरा, रातो अबिर चढाइने फूलमाला एव पिपलका पातले दसैँ पर्व प्रकृति पुजनको विषयसँग निकट तादाम्य राखेको विश्वास गरिन्छ। 

तर , माक्र्सवादीहरू हिन्दूधर्मशास्त्रको उक्त भाष्यलाई स्वीकार्दैनन् । उनीहरूका अनुसार दशहरा अपभ्रंश हुँदै दसैँ बन्न पुगेको हो । उनीहरू सिन्धू उपत्यका र गंगा मैदानमा विकसित कृषि युगसँगै बाली भित्र्याएपछिको उत्सवका रुपमा दसैँ पर्व सुरुआत भएको र वैदिक आर्यहरूले आफूसँगै आजको नेपालको भूखण्डमा लिएर आएको विश्वास गर्छन् । धर्मलाई राज्यले जनता विरुद्ध वौद्धिक हतियारका रुपमा प्रयोग गर्न थालेपछि धेरै जसो आम जनताको जीवनकर्मबाट विकसित स्वभाविक कर्मलाई धर्मकरण गरेको दाबी माक्र्सवादीले गर्छन् । 

बर्षैपछि स- परिवारसँग हाँसखेल रमाइलो चलिरहेको थियो । 

'के भयो भाइ ?'

म झसङ्ग भएँ । एकछिन त के भनौँ के भनौँ भयो । म त सपनामा पनि जोडजोडले हाँसिरहेको रहेछु । नजिकै रहेको मोबाइल खोलेँ बिहानको ७:०० बजेछ । बाहिर सूर्यका किरणहरूले दिनको संकेत दिँदै थिए । स्वदेशको मीठो सपनाबाट एकाएक परदेशको तीतो विपनामा ब्युँझँदा मन कागतीको जुस पिए जस्तै अमिलो भयो । सपना पनि त अवचेतन मनको प्रस्फुटन न हो । नजिकै रहेको बोतलको पानी घटघट पिएँ । मनमनै प्रश्न गरेँ, म जस्तै सपनामा घरदेशको कल्पना गरेर रमाउने परदेशी कति होलान् ? 

परदेशको जीवन बिचित्रको हुन्छ । अर्लामको आवाजसँगै बिहान उठ् , अनुहार पनि राम्रोसँग धुन नपाई हतारहतार केही खाउ र कम्पनी जाउ । दिनभर गधा जस्तै जोतिएर काम गर अनि मध्यरातमा झ्यालखाना जस्तो डेरा । मेसिन जस्तो जिन्दगी । कसैलाई कसैको मतलब छैन, मात्र काम काम अनि काम । फुर्सदले बसेर खानसम्म पाउने हैन । रातदिन कामले गर्दा धेरै रात राम्रोसँग सुत्न नपाएका रातको हिसाब कसले दिने ? कसैको वास्ता नगरी हतारहतार खाना खाई काममा जोतिनुपर्दा सधैं मनमा एउटै प्रश्न उब्जिन्छ – के का लागि यो तीव्र धपेडी ? फेरि खानु र काम गर्नुबाहेक जीवनमा अरु कुनै कुरा नै छैन ?

महाभारत युद्धको अठारौं दिन  भीमसेनले दुर्योधनलाई मरणासन्न अवस्थामा पुराइदिन्छन् । युद्ध उन्मादी अश्वत्थामा दुर्योधनको अवस्था देखेर  रनाहा भई पाँच पाण्डवलाई मार्न पाण्डव शिविरतिर जान्छन् । विडम्बना , शिविरमा पाण्डवहरू नभई पाण्डवपुत्रहरू सुतिरहेका हुन्छन् । रिसले चुर अश्वत्थामाले बाण चलाउँछन् र पाण्डवपुत्रहरूको हत्या गर्छन् । श्रीकृष्णले पाण्डवका उत्तराधिकार नष्ट गर्ने कुत्सित मनसाय भएका अश्वत्थामालाई शीरको मणि पाण्डवलाई दिन फर्माइस गर्छन् । अजम्बरी निधारको घाउ सन्चो नहुने र यस पृथ्वीमा भौतारिँदै हिड्नुपर्ने श्राप दिन्छन् । क्रान्तिहीन अश्वत्थामा श्रीकृष्णको सजाय भोग्न बाध्य हुन्छन् । अश्वत्थामाले त अपराधको सजाय भोग्छन् । हामी के को सजाय भोगिरहेका छौँ ? 


Author

थप समाचार
x