प्रवास

चाइना जर्नल

चीनको अनुभव : गरिबी नियति होइन, जीत सम्भव छ

अजय अलौकिक |
बैशाख ७, २०७८ मंगलबार ८:१६ बजे

नयाँ वर्षको आगमनसँगै नयाँ योजना आरम्भ तथा नयाँ लक्ष्य छनौट गर्ने प्रचलन हामी मानवजातिमा रहँदैआएको छ । यद्यपि आममानिसको योजना, इच्छा, सपना, लक्ष्य जे जस्तो भए पनि त्यसको अन्तर्य भनेको सुखी, समृद्धि र खुसी रोज्‍नु नै हो । हामी मानव जाति खुसी खोज्दै भौँतारिएका हुन्छौँ तर मानव समाज पुरातन पीडाबाट मुक्त भइसक्ने अवस्था अझै छैन । त्यसमाथि कोभिड-१९ ले अझै भयानक पारिदिएको देखिन्छ र त्यो साझा चुनौती भनेको गरिबी नै हो ।

गरिबी र यससँग जोडिएका भोकमरी, अभाव, रोग, अशिक्षा, अज्ञानता तथा सामाजिक द्वन्द्व यस्ता धेरै समस्यै समस्याका चाङ मानिसलाई खुसी तथा समृद्ध बन्‍न बाधा भएर आएका हुन्छन् । तापनि मानिस उत्तम जीवनको खोजीमा गरिबी र अभावविरूद्ध निरन्तर सङ्घर्ष गरिरहेकै हुन्छ । लाग्छ, यो निरन्तर चलिरहन्छ, आममानिसले यो लक्ष्य भेदन गर्न सक्दैन । तर त्यसो पनि होइन रहेछ । गरिब हुनु नियति होइन, यसमाथि विजय सम्भव छ । यो सारगर्भित भनाइजस्तो लाग्ने वाक्य चीनको अनुभव हो । चीन विश्वकै पहिलो गरिबीमुक्त राष्ट्र बनेको छ र यो विश्वका लागि कुनै चमत्कार भन्दा फरक छैन ।


सर्वप्रथम, खुलापन नीति लागू भएपछिका वर्षहरूमा गरिब जनताहरूको जीवनयापनमा व्यापक सुधार आएको थियो र खुलापन नीति अपनाएको चालिस वर्षमा ७० करोड जनसङ्ख्यालाई गरिबीमुक्त गरेर चीनले विश्वलाई आश्चर्यचकित तुल्याएको थियो । त्यसपछि, सन् २०१७ मा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको १९ औँ महाधिवेशनमा चीनले तीन वर्षभित्र पूर्ण रूपमा निरपेक्ष गरिबी हटाउने मुख्य अजेन्डा नै बनाएको थियो । सन् २०२० सम्ममा चीनलाई गरिबीमुक्त गर्ने र सन् २०२१ मा पहिलो शताब्दी लक्ष्य अर्थात् चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकीको अवसरमा चीनलाई गरिबीमुक्त गर्दै चौतर्फी रूपमा सम्पन्‍न राष्ट्र बनाउने लक्ष्य नै लिएको थियो ।

सोही अनुरूप सन् २०२० को नोभेम्बर २३ तारिख क्वीचौ प्रान्तीय सरकारले बाकी रहेका अन्तिम नौ वटा अति गरिब जिल्लाहरू गरिबीबाट मुक्त भएको घोषणा गरेसँगै क्वीचौ प्रान्तसँगै चीन गरिबीमुक्त भएको थियो । कोभिड-१९ महामारीबीच पनि चीनले गरिबी निवारणमा पाएको सफलताले फेरि एक पटक विश्वलाई अचम्भित तुल्याएको थियो । यसैबीच सन् २०२० भित्रमा चीनको राज्य परिषदद्वारा निश्चित चीनका ८३२ वटा गरिब जिल्लाहरू अघिपछि गरेर सबै गरिबीबाट मुक्त भएपछि चीनले गरिबी निवारणको लक्ष्य समयमै पूरा गरेको थियो । 

यसरी चीनले लक्ष्य भित्रै गरिबी निवारण युद्धमा पूर्ण जीत हासिल गरेपछि यसै वर्ष २०२१ फेब्रुअरी २५ मा आयोजित चीनको गरिबी निवारणको समीक्षा तथा पुरस्कार समारोहमा चीनका राष्ट्रपति सी चिनफिङले चीन गरिबीमुक्त भएको घोषणा गरेका थिए । 

बेइजिङमा आयोजित उक्त समारोहमा चीनका राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टी र सबै जातीय समूहका जनताको संयुक्त प्रयासबाट चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको शतवार्षिकीको महत्त्वपूर्ण क्षणमा चीनको गरिबी निवारणले व्यापक जीत हासिल गरेको घोषणा गरे । साथै उनले चीनले प्राप्त गरेको उपलब्धि चीनको मात्र नभइ विश्वको समेत भएको पनि औँल्याए । चीनले अन्तर्राष्ट्रिय गरिबी निवारणसम्बन्धी सहयोग सक्रियताका साथ बढाएर अन्तर्राष्ट्रिय गरिबी निवारणको जिम्मा वहन गरी विकासोन्मुख मुलुकका लागि सक्दो सहयोग तथा अन्तर्राष्ट्रिय गरिबी निवारण कार्यलाई बढाउन चाहेको पनि बताए । 

चीनले प्राप्त गरेको उपलब्धि चीनको मात्र नभइ विश्वको पनि हो । यसर्थ, चीनले गरिबी निवारणको क्षेत्रमा हासिल गरेको अनुभव तथा उपलब्धिलाई विश्वसामु प्रस्तुत गर्दै गत अप्रिल ६ तारिख गरिबी न्यूनीकरणमा चिनियाँ अभ्यास नामक श्वेतपत्र सार्वजनिक गरेको छ । गरिबी निवारणको क्रममा चिनियाँ जनताको लडाइँ, चीनको दृष्टिकोण र चिनियाँ अनुभव तथा कार्ययोजनाबारे जानकारी दिने उद्देश्यले उक्त श्वेतपत्र जारी गरिएको छ । सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनादेखि विगत एक सय वर्षमा चीनको जुझारूपन, गरिबी निवारणको युद्धमाथि जीतका कार्ययोजना, प्रक्रियाको समीक्षा गरिएको छ । 

विश्वलाई आश्चर्यचकित तुल्याउँदै गरिबी निवारणको युद्धमा चीनले विजय हासिल गरे तापनि यो नै गरिबी निवारणको अन्तिम बिन्दु भने होइन ।

चीनले सन् १९७८ मा सुधार तथा खुलापन नीति अपनाएदेखि तीव्र रूपमा चौतर्फि विकाससँगै गरिबी निवारणको क्षेत्रमा पनि फड्को मार्दैआएको हो । गरिबी समाजवाद होइन, समाजवादको अर्थ भनेको गरिबी उन्मूलन हो । चीनका दूरदर्शी नेता तङ स्याओफिङको यो उक्तिलाई चिनियाँ जनताले आफ्नो जीवनलाई समृद्ध बनाउने लक्ष्य बनाएका छन् । यसै लक्ष्यलाई पछ्याउँदै प्रति वर्ष करोडौँको सङ्ख्यामा गरिबीमुक्त हुँदैगएका थिए । यस क्रममा दुई आश्वासनहरू: पर्याप्त खाना र कपडा र तीन ग्यारेन्टीहरू: अनिवार्य शिक्षा, आधारभूत चिकित्सा सेवा र विपन्‍न ग्रामीण बासिन्दाहरूका लागि सुरक्षित आवास नै गरिबी निवारणको मुख्य मानक मान्‍न सकिन्छ ।

सन् १९८६ मा चीनले आफ्नो पहिलो गरिबी मानकको रूपमा २०६ चिनियाँ यूआन निर्धारण गरेको थियो, जुन १२५ मिलियन गरिबका लागि पर्याप्त भोजन तथा लत्ताकपडा प्रदान गर्नका लागि डिजाइन गरिएको थियो । यसै गरी, सन् २००१ मा ग्रामीण क्षेत्रहरूमा विकासद्वारा सञ्चालित गरिबी निवारणको रूपरेखा (२००१-२०१०) तयार गर्दा चीनले ९४.२३ मिलियन गरिबका लागि ८६५ यूआनको मानक बढाएको थियो । यस्तै, सन् २०११ मा ग्रामीण क्षेत्रहरूमा विकासद्वारा सञ्चालित गरिबी निवारणको रूपरेखा (२०११-२०२०) तयार गर्दा चीनले १२२ मिलियन गरिबका लागि २३०० यूआन (२०१० को मुल्य सूचकाङ्कको आधारमा) को मानक समायोजन गरेको थियो । 

सन् २०१२ मा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको १८ औँ महाधिवेशनदेखि चीनले गरिबी निवारण कार्यक्रमलाई अझै सशक्त ढंगमा बढाएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनयता चीनका राष्ट्रपति सीको नेतृत्वमा गरिबी निवारणको बाटो पहिल्याएको थियो र दशौँ करोड गरिब जनतालाई गरिबीबाट मुक्त गरेको छ । तथ्याङ्कले सन् २०१२ देखि चीनमा हरेक दुई सेकेण्डमा एक गरिब मानिस गरिबीमुक्त भएको देखाउँछ । 

पछिल्लो आठ वर्षमा ८३२ वटा गरिब जिल्लाहरू र १ लाख २८ हजार वटा गरिब गाउँहरूलगायत ९ करोड ८९ लाख ९० हजार ग्रामीण क्षेत्रका मानिसहरू गरिबीबाट मुक्त भएका छन् । यसरी आठ वर्षमा झण्डै १० करोड गरिब जनतालाई गरिबीमुक्त गर्नु गरिबी निवारण इतिहासमा चमत्कार नै हो । साथै चीनले गरिबी निवारण कार्य संयुक्त राष्ट्र संघको सन् २०३० दीगो विकास कार्यक्रमको निश्चित लक्ष्यभन्दा १० वर्ष अघि पूरा गरेको छ । यसबाट गरिबी या गरिब नियति होइन र चीनको यो युद्ध र जीतको प्रमाणबाट यसलाई परास्त गर्न सम्भव छ भन्‍ने निश्चित भएको छ । 

सुधार तथा खुलापन नीति अपनाइएदेखि चीन पूर्ण रूपमा गरिबीमुक्त भएको अवस्थासम्ममा कुल ८० करोड जनसङ्ख्या गरिबीमुक्त भएको छ । चीन सुधार तथा खुलापनमा अडिग रहनु गरिबी निवारणमा सफल हुने धेरै आधारमध्येको एउटा आधार हो । चीनले गरिबी निवारणमा विविध थरिका उपायहरू अवलम्बन गरेको थियो । 

गरिब तथा लक्षित उपायहरूको सही पहिचान नै गरिबी निवारणका मुख्य प्रयासहरू हुन् । गरिबी निवारणको प्रयासमा चीनले अन्तर्राष्ट्रिय अनुभवबाट सिक्नुका साथै आफ्नो वास्तविक अवस्थालाई पूर्ण रूपमा विचार गर्दै क्षमता वृद्धिका लागि दिशानिर्देश र उपायहरूका श्रृंखलाहरू चालेको थियो । चीनले संक्षेपमा ६ वटा क्षेत्रहरूमा लक्षित प्रयासहरूलाई पूरा गर्ने योजना बनाएको थियो । यसले गरिबहरूको सहि रूपमा पहिचान गर्ने, लक्षित कार्यक्रमहरू मिलाउने, पूँजीको उचित उपयोग गर्ने, घरेलु आधारमा उपायहरू अपनाउने, गाउँको अवस्थाका आधारमा पार्टीका सचिवहरू खटाउने र निर्धारित लक्ष्यहरू प्राप्त गर्ने प्रयासलाई जनाउँदछ । 

यसबाहेक, गरिबी निवारणका पाँच उपाय जसमा अर्थतन्त्रलाई बढावा दिँदै रोजगारीका अवसरहरू प्रदान गर्ने, गरिब मानिसहरूलाई पायक ठाउँमा बसाइ सार्ने, पर्यावरणीय संरक्षण गर्दै आर्थिक नोक्सानीको भरपाई गर्ने, गरिबी क्षेत्रमा शिक्षाको सुधार गर्ने, र आफ्नो प्रयासबाट गरिबी हटाउन असमर्थ रहेकाहरूलाई भत्ता प्रदान गर्ने र गरिबी निवारण सम्बन्धमा कसले सहयोग गर्ने, कसलाई सहयोग गर्ने, कसरी सहयोग गर्ने, कोही गरिब छ कि छैन मुल्याङ्कन गर्ने, र ती मानिसहरूलाई कसरी गरीबीमुक्त रहन सुनिश्चित गर्ने यसरी पाँच प्रश्नहरू सम्बोधन हुनुपर्ने उल्लेख गरिएको थियो । 

चीनको यो अनुभव तथा उपलब्धि नेपाल लगायत विश्वका गरिब तथा विकासोन्मुख राष्ट्रहरूलाई मार्गदर्शन नै हो । साथै चीन आफ्नो मूल्यवान अनुभव बाँड्न इच्छुक पनि छ । विश्वलाई आश्चर्यचकित तुल्याउँदै गरिबी निवारणको युद्धमा चीन गरिबीमुक्त भएर विजय हासिल गरे तापनि यो नै चीनको लागि गरिबी निवारणको अन्तिम बिन्दु भने होइन । हाल, चीन सम्पन्‍न समाजको निर्माण लक्ष्य पूरा गरेपछि अर्को विशाल लक्ष्यतिर अग्रसर छ । चीन नयाँ यात्रा तथा सङ्घर्षमा लागेको छ । अबको १५ वर्षमा अर्थात् २०३५ सम्ममा आधारभूत रूपमा आधुनिक समाजवादी चीन बनाउने लक्ष्य लिएर लम्केको छ । विश्वलाई फेरि अर्को चमत्कार देखाउने तयारीमा छ ।


Author

थप समाचार
x