प्रवास

एनआरएनए अमेरिका निर्वाचन:  अध्‍यक्षमा चारसहित ४२४ जनाको उम्‍मेद्वारी

इकागज |
बैशाख २१, २०७८ मंगलबार १७:१ बजे

अमेरिका : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको आसन्न चुनावले अमेरिकामा रहेका नेपालीहरूबीच चुनावी सरगर्मी बढेको छ । चार जना अध्यक्षसहित पदाधिकारी र सदस्यमा कूल ४२४ जनाको उमेदवारी परेको छ । 

अध्यक्षमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडे, उपाध्यक्ष बुद्धि सुवेदी, पूर्वबोर्ड सदस्य कृष्ण लामिछाने र तिलक केसीको उमेद्वारी परेको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा चित्रा केसी, कृष्ण जीवी पन्थ र बाबुराम लामाको उम्मेद्वारी परेको छ । यस्तै उपाध्यक्षमा पूर्णचन्द्र बानिया, रोशन अधिकारी, गोपेन्द्र भटराई, दिलु पराजुली, अमरबहादुर छन्त्याल, प्रकाश बस्नेत, किशोर रेग्मी, प्रविन केसी, रामहरी अधिकारी, बिकास उप्रेती, सुमन थापा, टंक रेग्मी, चन्द्र लामा र बासुदेव अधिकारी गरि १४ जनाको उमेद्वारी परेको छ । 


यस्तै महासचिवमा विनोद भट्ट, नवराज सुवेदी, अन्जन चौलागाई र न्रिपेन्द्र धितालको उमेद्वारी परेको छ । यस्तै अन्य पदाधिकारी र बोर्ड सदस्यमा समेत उमेद्वारी दिनेहरूको लर्को छ । बोर्ड सदस्यमा १२ जना बिजयी हुनेछन्, त्यसका लागि ५४ जनाको उमेद्वारी परेको छ । यसैगरी आईसीसी सदस्यमा २१ जनाको उमेद्वारी परेको छ । 

प्रमुख निर्वाचन आयुक्त विश्व बरालले चुनावका लागि कार्यतालिका प्रकाशित गरी आवश्यक तयारी पूरा गरिएको जानकारी दिए । निर्वाचन आयुक्त बरालले उमेद्वारको अन्तिम नामावली प्रकाशित गरिसकिएको र कुल मतदाताको नामावली समेत प्रकाशित गरिएको जानकारी दिए । गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद मध्ये अमेरिका सबै भन्दा धेरै सदस्य भएको परिषद् हो ।

अमेरिकामा आजीवन र साधारण सदस्य गरी २० हजार हाराहारी सदस्य छन् । संघको अन्तराष्ट्रिय चुनावमा समेत अलग्गै प्रभाव राख्ने अमेरिकाको यस पटकको चुनाव थप पेचिलो बन्ने पक्का छ । केन्द्रको हाइ कमान्डदेखि स्थानीय राजनीतिले समेत यस पटकको चुनाव पेचिलो बन्दै गएको देखिन्छ । 

अध्यक्षमा उमेद्वारी दिएका चार जना मध्ये बन्जाडे, सुवेदी र लामिछाने नेपाली कांग्रेस निकट मानिन्छन् भने केसी एमाले निकट मानिन्छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था जनसम्पर्क समिति अमेरिकाको प्रभाव यस अघि एनआरएनका चुनावहरूमा बलियो देखिन्थ्यो ।

तर यस पटक कांग्रेस नेताहरू तीन धारमा विभाजित छन् । जनसम्पर्क समिति अमेरिका अध्यक्ष आनन्द बिष्टले बन्जाडेलाई समर्थन गरिरहेको पाइन्छ भने वर्तमान कार्यसमिति अध्यक्ष शुनिल साहले बन्जाडेलाई मौन समर्थन रहेको बुझिन्छ । 

यता लामिछानेलाई जनसम्पर्क समितिका पूर्वसंयोजक बिष्णु सुवेदी, एनआरएनए आईसीसी सल्लाहकार तथा कांग्रेस नेता हरिबोल भण्डारी, जनसम्पर्क समितिका नेता प्रमोद सिटौला र आईसीसी सचिव गौरी जोशीको साथ देखिन्छ । यस्तै एमाले निकटका नेता तथा आईसीसी सदस्यका उमेदवार समेत रहेका सन्जय थापाको समर्थन लामिछानेलाई छ । 

यस्तै एनआरएनए अमेरिका पूर्वअध्यक्ष केशव पौडेल, कांग्रेस नेता यादव पण्डितलगायतका नेताहरुको साथ सुवेदीलाई छ । अर्को तर्फ सिन्डिकेड तोडौं भन्दै बामपन्थी धारको लिड केसीले गरिरहेका छन् । चारै जना उमेदवारले आफूले चुनाव जित्ने दाबीसहित चुनावमा आफ्नो उमेद्वरीबारे प्रष्ट पार्दै भोट मागिरहेका छन् । 

यस पटक जनसम्पर्क समितिका नेताहरुनै विभाजित भएपछि यहाँका कार्यकर्ताहरू बिचलित देखिन्छन् । अब अन्तिम समयसम्म एक हुन सक्ने सम्भावना पनि कम देखिन्छ । कांग्रेसका एक कार्यकर्ताले भने, यो पनि एक प्रकारको राजनीतिक खेल हो, अन्तिममा कसलाई सहिद बनाउँछन्, यसै भन्न सकिन्न् । 

उमेद्वारी दिएकाहरूले समूह तथा व्यक्तिगत रूपमा प्रचार प्रसार सुरु गरिसकेका छन् । अध्यक्षका उमेद्वारहरू पदाधिकारीसहित केही बोर्ड सदस्यका उमेदवारका साथमा देश दौडाहामा छन् ।


Author

थप समाचार
x