प्रवास

इजरायल रहेका नेपाली भन्छन् : बंकरमा खान्छौं, बंकरमै सुत्छौं

'हामी यहाँ जसरी पनि बाँच्छौं, नेपालमा गए सरकारको भर छैन'

अतिन आचार्य |
जेठ २, २०७८ आइतबार १३:३० बजे

काठमाडौँ : एउटा भनाइ छ 'मान्छेलाई ऋण लागोस् तर दिन नलागोस् ।' नेपाली कामदार ऋण लाग्‍न नदिन र लागेको ऋण तिर्न यतिखेर खाडी मुलुकलगायत विभिन्‍न मुलुकमा पसिना बगाउन र श्रम बेच्‍न बाध्य छन् ।

धेरै नेपालीलाई धन कमाउने आशामा नेपालको चार किल्लाभित्र बस्‍न दिएको छैन ।  उनीहरू धन कमाउने र सपना पुरा गर्ने आशामा सात समुद्रपारी सपनाका लागि पौठेजोरी खेलिरहेका छन् ।


अधिकांश नेपाली कामदारको विदेश जानु रहर नभइ नियती बनेको छ । नियतीलाई पछ्याई इजरायल पुगेका नेपाली कामदारहरू यतिखेर बंकरको सहारामा बाच्‍न बाध्य छन् ।

'बंकर नै सुरक्षित स्थान'

मोरङ् पथरीकी माया मादेन १२ वर्ष अघि इजरायल पुगिन् । यतिखेर उनी इजरायलको स्डर्टमा छिन् । यसअघि उनी काम गरेर बस्दा शान्त र सौम्य हुन्थिन् । तर हिजोआज उनको मनमा हतास बढेको छ । कारण एउटै हो, कतिखेर रकेटको आक्रमणमा परिने डरले उनी आत्तिएको छिन् ।

'रकेटको आवाज आइरहेको छ । ६ बजेतिर चार-पाँच वटा रकेट आएको थियो,' उनले इकागजको संवादमा भनिन, 'हामी तीन-चार दिन देखि बंकरमा बसिरहेका छौ ।' माया बंकरमा बस्दा बाहिरी संसारबाट टाढा भएकी छिन् । तर इन्टरनेटको सहारामा सबै कुरा हेर्न, पढ्न र सुन्‍न पाएकी छिन् । रकेटको आवाजसँगै उनको डरको ढुकढुकी बढिरहेको छ ।

बंकरमा मायासँगै तीन साथी छन् । उनलाई बंकरमा बस्दा सुरक्षित हुने जस्तो लागेको छ । 'बाहिर निस्कन नपाइ खान बस्‍ने सबै यहीँ गरिरहेका छौ,' उनले थपिन् । ठूलो संकट आए पनि खानाको लागि राम्रो व्यवस्था भएको माया बताउँछिन् । नेपालमा जस्तो आधारभूत कुराको आवश्कताको बन्द नहुने उनले बताइन् । 

उनलाई त्यहाँ हिंसा भडकिरहेको बेला नेपाल जाउ जस्तो लागेको छ । आफ्नो मुलुकमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएकाले यहाँ भन्दा झन त्यहाँ छिटो मरिन्छ भन्‍ने त्रासले उनलाई सताएको छ । 'हामी यहाँ जसरी पनि बाँच्छौ जस्तो लाग्छ,' उनी भन्छिन,' नेपालमा गए आफ्नै सरकारको भर छैन ।'

मानिसलाई सबैभन्दा प्यारो लाग्‍ने भनेको आफ्नो जीवन हो । प्यारो लागेको जीवनका सपनालाई पुरा गर्न मानिसहरू आफू जन्मेको भूगोलदेखि धेरै टाढा जान्छन् । मायालाई सुरुमा इजरायल आउँदा जीवन ठूलो लागेको थियो ।' हिजोआज आकाशमा रकेट बमको यात्रा हुन थालेपछि जीवन भन्दा डर ठूलो भएको छ,' उनले भनिन् । मायालाई नेपालबाट परिवारले सधैँ फर्कन फोन गरिरहेका छन् । कोभिड-१९ को महामारी सकिएपछि नेपाल आउने योजनमामा छिन् ।

'त्रास बढ्यो, रातभर बंकरमा बस्यौ'

सुनसरीकी शिवा लिम्बु इजरायल बसेको १६ वर्ष भयो । हिजोआज उनको दिन अरुबेला जस्तो सामान्य जसरी बितेको छैन । सधै काममा व्यस्त हुने उनी बाहिरी कुरामा ध्यान दिदैनथिन् । अहिले भने उनको मनमा डरले डेरा जमाएको छ । कतिखेर आफूलाई के हुने हो केही थाहा नहुँने उनी बताउँछिन् ।

'रकेट उडिरहेको हुन्छ, रातभर बंकर बास बस्यौं, 'उनी भन्छिन,' धेरै त्रास छ, दिनमा यति पटक रकेट झर्छ भन्‍ने पनि थाहा हुदैन । कोहीबेला एकैछिनमा ४ देखि ५ वटा सम्म रकेट झरेको सुनिन्छ ।'

शिवा इजरायलको बाटयाम सहरमा बस्छिन् । उनी बसेको क्षेत्रमा सामान्य भएपनि केही दिनदेखि रकेट ओहोरदोहोर गरिरहेको छ । आफू बसेको सहरमा भन्दा साथीहरू बसेको ठाउँमा एकदमै त्रास रहेको उनले बताइन् । उनका साथीहरूका अनुसार क्षण-क्षणमा बम वर्षा भइरहन्छ । 

शिवाले गाजा नजिकैको सहरमा बसमा आगजानी भइरहेको बताइन् । 'यहाँ सुरक्षित छ भन्‍ने अवस्था नभएको सबैजना अहिले डर र त्रासमा बसिरहेका छन्,' उनले भनिन,' साथीहरूले भनेका बंकरमा बस्दासमेत थर्किन्छ ।'

यहाँका मानिसहरू साइरन बजेपछि बंकरमा लुक्ने गरेको शिवा बताउँछिन् । यहाँ प्रत्येक घरमा बंकर रहेको उनले जानकारी दिइन् । इजरायली सैनिकसँग राम्रो हातहतियारको प्रबन्ध छ । आकाशमा उडिरहेको समयमा बमलाई निष्क्रिय पार्न सक्ने क्षमता सैनिकसँग छ ।  

'नेपाली कामदारलाई केही भएको छैन,' उनले भनिन,' भारतीय कामदारको मृत्यु भइसकेको सुनिसकेको छु ।' बमको त्रास भएपनि बिहान चाँडै पसल खुल्ने र साँझ चाँडै बन्द हुने गरेको बताइन् ।

'साइरन बज्‍जासाथ नजिकको बंकरमा लुक्नू'

साइरन बज्‍नासाथ घर भित्र हुनुहुन्छ भने बंकर, भर्‍याङ वा सुरक्षित क्षेत्रमा जान इजरायस्थित नेपाली राजदूत डा. अन्जान शाक्यले आग्रह गरेकी छिन् । झ्याल नजिक तथा भित्तामा खस्‍नसक्ने सामानको नजिक नबस्‍नलाई पनि उनले अनुरोध गरेकी छिन् ।

'घरबाहिर बजार, सडक, फार्म वा कतै हुनुहुन्छ भने पनि नजिकैको बंकरमा पुगिहाल्नू,' उनले भनिन,' त्यो पनि उपलब्ध नभएमा जहाँ हुनुहुन्छ त्यहाँ घोप्टो परेर दुई हातले टाउको छोपेर बस्‍नू ।'

केही साथीहरूले रकेट लन्च भैरहेको बेलामा छतबाट हेर्ने, फेसबुक लाइभ गर्ने र भिडियो बनाउने गर्ने गरेको देखिएकोले त्यसो नगर्नलाई उनले निर्देशन दिएकी छिन् । त्रसित छौ भनेर नकारात्मक सन्देश जाने गरी सोसल मिडियामा भिडियो सेयर गरेर नेपालमा रहेका परिवारलाई त्रसित नगराउन पनि उनले आग्रह गरिन् ।

इजरायल र गाजा बीच हिंसा भइरहेको छ । केही दिनदेखि यता दुवै देशले रकेट हमला गरिरहेका छन् । जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लागेपछि प्यालेस्टाइनका नागरिक झडपमा उत्रेका छन् । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ । यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x