प्रवास

एनआरएनएमा नयाँ पुस्ता

बेल्जियममा उदाएकी रुविना

इकागज |
असार १२, २०८० मंगलबार १६:४७ बजे

खुत्रुकेमा जम्मा भएको पैसाले उनी कविता किन्थिन् । बेल्जियममा सामान्य काम गरेर जम्मा भएको पैसा खुत्रुकेमा हाल्ने बानी थियो उनको । विदेशमा रहे पनि मन भने नेपालमै थियो । सन् २०१३ मा १४ वर्षको उमेरमा बेल्जियम आएकी उनले १ दर्जन भाषा राम्रोसँग बुझ्छिन् । नेपाली, अंग्रेजी, हिन्दी, डच, फ्रेन्च र ल्याटिनमा पोख्त छिन् उनी । 

उनी हुन् गैरआवासीय नेपाली  संघ (एनआरएनए) को अभियानमा दोस्रो पुस्ताको नेताका रूपमा उभिएकी २५ वर्षीया रुविना शर्मा । उनले एनआरएनए बेल्जियमको आगामी महिना हुने निर्वाचनमा महासचिवको उम्मेदवारी दिने तयारी गरेकी छिन् । युवापुस्ताको आइडियल नेताका रूपमा उभिएकी रुविना अन्याय र अत्याचार देख्न र सुन्न नसक्ने खरो स्वभावकी छिन् । 


उनले बेल्जियममा भाषा सिकेर विज्ञान र गणितको अध्ययन सुरु गरिन् । सुरुमा उनलाई डाक्टर बन्ने रहर थियो । म्याग्दीमा जन्मिएकी शर्माको बाल्यकाल पर्वतको पाङ्गमा बित्यो । उनले आफ्नो मावली थलोलाई आफ्नै जन्मभूमि ठानिन् । बेल्जियममा जम्मा भएको खुत्रुकेको पेनी साटेर श्री हिमालय मावि पाङमा किताब वितरण गर्थिन् । उनलाई सानैदेखि समाजमा केही गरौं भन्ने भाव आउँथ्यो । सामाजिक काममा सानैदेखि लगनशील शर्मालाई गैरआवासीय नेपाली संघ बेल्जियममार्फत सन् २०१७ देखि सामाजिक काममा लाग्ने प्रेरणा मिल्यो । गैरआवासीय नेपालीहरूको विश्व सञ्जालमा जोडिन पाउँदा रुविना प्रफुल्ल भइन् । 

कार्यसमितिको सदस्यका रूपमा उनले गरेको कामको उच्च मूल्यांकन भयो । सिधै सचिवालयमा प्रमोसन भइन् । उनलाई गैरआवासीय नेपाली संघको अभियानमार्फत समाजको नयाँ पुस्तालाई केही गरौँ भन्ने हुटहुटी छ । उनी पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई अवसरको अभियान लिएर गैरआवासीय नेपाली संघ बेल्जियमको आगामी निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । 

उनीसँग यसअघि सांग्रीला समाज बेल्जियम, लुम्बिनी कपिलबस्तु ग्लोवल अभियानलगायतका काम गरेको अनुभव छ ।

रुविनाले गैरआवासीय नेपाली अभियानमा युवाहरूको बढ्दो मागका कारण यो अभियानमा आफूले उम्मेदवारी अघि सारेको बताउँछिन् । उनी हाल बेल्जियमको इन्टरकल्चार फेडेरेशनमा कार्यरत रहेकी छन् । सो फेडेरशनको सदस्य एनआरएनए बेल्जियम समेत छ । उनले सोही फेडेरेशनमार्फत नेपाली संघसंस्थाहरूलाई सहयोग गर्दै आएकी छन् ।

उनले ठूला साना प्रोजेक्टका लागि प्रपोजल लेखेर स्थानीय निकायबाट नेपाल फेस्टिवल, तीजलगायतका नेपाली चाडपर्वहरूमा आर्थिक सहयोग संकलन गर्ने गरेको बताउँछिन् । उनले गैरआवासीय नेपाली संघ बेल्जियमको महासचिवमा जितेपछि  २४ सै घण्टा बेल्जियममा हेल्पलाइन, कानुनी परार्मश सेवा, सदस्यता वितरणमा सहजीकरण गर्न फ्रि सदस्यता वितरण, प्रविधिमैत्री एनआरएनए, अनलाइन भोटिङ, संस्थाको बैठक प्रत्यक्ष प्रसारण गर्ने,  नयाँ पुस्तालाई व्यवसायमा जोड्ने र विदेश भित्रिएकै कारणले खोसिएको नेपाली नागरिकताको निरन्तरताका लागि आवाज उठाउने योजना बनाएकी छन् ।
 
उनले महिला तथा युवाका लागि आफूसँग स्पष्ट भिजन भएको बताउँछिन् । उनीहरूले युवाहरूलाई सो अभियानमा जोड्नका लागि छुट्टै बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाइन् । उनले कार्यसमितिका सदस्यहरूको गतिविधिलाई अभिलेखमा राखेर उनीहरूको सकृयता मापन गर्न सकिने बताइन् । उनले संघका सदस्यबाट प्राप्त आर्थिक सहयोगलाई नेपाली भाषा, संस्कृति, पर्यटन आदिका लागि खर्च गर्न सकिने तर्क गर्छिन् ।   

उनीलाई कुनै पनि राजनीतिक दलको ट्याग लगाउन मन पदैन तर बेल्जियको समाजमा उनलाई त्यो छुट छैन । कहिन कही उनीमाथि ट्याग लाग्छ तर उनको विचारमा राजनीतिक दलको हस्तक्षेप गलत हो । शर्माले बेल्जियममा बायोटेक्नोलोजिमा व्याचलर डिग्री गर्दै छिन् ।


Author

थप समाचार
x