प्रवास

नेपाल र नेपालीको व्यवहार सुनेकाे भन्दा पनि माथिल्लो पाइयो : साउदी जान हिडेका भारतीय

'गरीबीका कारण कोभिडले बितेका पिताको अनुहार हेर्न पाइन'

अतिन आचार्य |
जेठ ९, २०७८ आइतबार १३:४३ बजे

काठमाडौँ : परिश्रम गर्ने मानिसका हातलाई राष्ट्रको भूगोलले छेक्दैन । आफ्ना सपना र जिजीविषालाई राख्‍न् मानिस सधैँभरि आफ्नै मुलुकको सिमानाको परीधि भित्र रहँन सक्दैनन् । मानिसको उमेर बढेसँगै थपिएको जिम्मेवरी, अभाव र गरीबीको रेखा तन्किन थालेपछि आफ्नो मुलुक छोडन बाध्य हुन्छन् ।

यतिखेर तेस्रो मुलुक जानका लागि धेरै संख्यामा भारतीय नागरिक नेपालमा आएर बसिरहेका छन् । कोभिड-१९ को संक्रमण भारतमा तीव्र रुपमा फैलिएपछि भारतबाट हुने सीधा उडानलाई विभिन्न मुलुकले प्रतिबन्ध लगाएपपछि वैदेशिक रोजगारमा जान भारतीय नागरिक नेपाल आइ बसेका छन् । नेपालबाट अन्तरराष्ट्रिय उडानसमते बन्द भएकाले भारतबाट आएका नागरिक गन्तव्य मुलुक जान पाएका छैनन् ।


'नेपाल र नेपालीको बारेमा राम्रो हुन्छ भनेर सुनेको थिए । यहाँ आएपछि साँच्चिकै थाहा भयो नेपालीहरू राम्रा हुँदा रहेछन्,' भारतबाट साउदी अरब जान नेपाल आइ बसेका अब्दुल सम्हादले भने । साउदीमा पनि नेपालीको संगत गरेका उनले इमान्दार र राम्रो हुन्छन् भन्‍ने थाहा पाएका थिए । एक महिनाको बसाइमा अझ बढी नजिक चिन्‍न पाएको उनी बताउँछन् ।

'टीकटका लागि एक लाख बढी तिर्नुपर्नेछ'

उनी नेपाल आएको शनिबार एक महिना पुग्यो । घरबाट साउदी अरब जाने आशामा दिल्लीबाट नेपाल एयरलायन्सको जहाजबाट काठमाडौँ आएका थिए । उनले एक महिनासम्ममा तीन होटल फेरिसके । तर उनका लागि साउदी जाने टिकट अहिलेसम्म कन्फर्म भइसकेको छैन । टीकटका लागि १ लाख रुपैयाँ बढी तिर्नुपर्ने उनले बताए । ' जति पनि मूल्य तिर्न तयार छौ‌ं तर साउदी जान पाउनुपर्‍यो,' उनी भन्छन ।

पछिल्लो केही सातायता भारतीय दूतावासले विमान चार्टड गरी आफ्ना मुलुकका कामदार साउदी पठाउन थालेको छ । अब्दुल पनि त्यहीँ चार्टड विमानमा जाने आशामा छन् । उनीसँगै आएका केही साथीहरू भने साउदी पुगी क्‍वारेन्टाइनमा बसिसकेका छन् । 'हामी यहाँ पाँच जना छौँ । एजेन्टले जान पाइन्छ भनेर आश्वासन मात्र दिइरहेको छ,' अब्दुल भन्छन,' दूतावासले चार्टड विमान रिजर्भ गरेपछि खबर गर्छौ भनेका छन् ।' अब्दुलको घर उडीसा राज्यमा छ । उनी आएको ११ दिनमा ५५ वर्षीय बाबाको कोभिडको कारण मृत्यु भएको थियो ।

उनको घरमा श्रीमती दुई जीउकी छिन् । बाबाको अनुहार देख्‍न नपाएका उनी हुनेवाला सन्तानको मुख देख्‍न नपाइने चिन्तामा छन् । उनलाई गरीबीको कारण यो सबै समस्या भोग्‍नुपरेको जस्तो लाग्छ । उनले एक वर्ष अगाडि विवाह गरेका थिए । अब्दुल साउदी जानका लागि ल्याएको खर्च पनि सकिन लागेको बताए । तिलगंगाको एक होटलमा बसेका उनले दैनिक कोठा भाडा १२ सय तिर्छन् । उनले खानामा एक सय ५० रुपैयाँ तिर्ने गरेका छन् ।

साउदीको अलहुदेफ कम्पनीमा १० वर्ष भइसकेको छ । उनी इलेक्ट्रिकल फरम्यानको रुपमा काम गर्छन् । अब्दुल १० वर्षमा    उनको कम्पनीले सडकमा रहेको बिजुली बत्ती बनाउने काम गर्छ । साउदीबाट छुट्टीमा आएको ६ महिना भइसकेको उनी बताउँछन् । ढिलो जाँदा आफूले पाएको काम गुम्ला जस्तो भइसकेको छ,' उनले भने ।

उडान हुन्छ भनेर तीन पटक भन्दा बढी पीसीआर परीक्षण गरिसकेको उनले बताए । एकजनाको परिक्षण गर्दा १० हजार रुपैयाँ भन्दा बढी खर्च भइसकेको उनले दुःखेसो पोखे ।

अब्दुलकै समूहमा रहेका अमिर खान पनि साउदी जाने आशामा छन् । उनलाई साउदी कहिले जान पाइन्छ भन्ने चिन्ताले सताइरहेको छ । घरेलु कामदारको रुपमा ६ वर्षदेखि कार्यरत छन् । अमिर घरमा काम गर्ने भएपनि  सवारीचालकको रुपमा काम गर्छन् ।

साउदीबाट छुट्टिमा आएको करिब एक वर्ष भएको थियो । 'कोभिड नियन्त्रण नभएपछि र घरखर्च धान्न गाह्रो भएकाले पुरानै काममा फर्कन लागेको हुँ,' खान भन्छन,' साउदी जाने टुंगो लागेको छैन । साउदी सरकारले नेपालबाट हुने उडान रोकिएको छ भन्ने सुनेको छु ।'

'दुई हजार बढी भारतीय नागरिक साउदी गए'

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन विभागका अनुसार हालसम्म दुई हजार भन्दा बढी भारतीय नागरिक साउदी अरब गइसकेका छन् । विभागका प्रमुख सुशील वैद्य दश चार्टड उडानबाट भारतीय नागरिक गइसकेको बताउँछन् । 'हिमालयन एयरलायन्सको तीन र नेपाल वायुसेवा निगमले सात उडान भरिसकेको छ,' उनले भने ।

बैशाख १५ भन्दा अघि आएका भारतीय नागरिकहरू साउदी गइरहेको उनले बताए ।  उनका अनुसार वैशाख १५ पछि आएका भारतीय नागरिक देखि अन्य नागरिक यहाँबाट तेस्रो मुलुक जान पाउँदैनन् ।

नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार केही दिनका चार्टड उडान स्थगित भएको छ । उडानका लागि पर्याप्त यात्रु संकलन हुन नसक्दा चार्टड उडान हुन नसकेको उनले बताए ।

'कुनै पनि कारणले उडान रोकिएको छैन,' भुल भन्छन,'  यात्रुको संख्या नपुगेर मात्र उडान रोकिएको हो । हिमालयन र नेपाल एयरलायन्सको विमानमार्फत चार्टड उडान भइरहेको छ ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x