प्रवास

चार्टड उडान नहुँदा मलेसियामा ३१ नेपालीको शव राेकियो

इकागज |
जेठ १२, २०७८ बुधबार १७:५७ बजे

काठमाडौँ : नियमित अन्तर्राष्ट्रिय उडान रोकिएपछि मलेसियामा विभिन्‍न समयमा मृत्यु भएका ३१ नेपालीको शव रोकिएको छ । कोभिड-१९ को महामारी सुरु भएपछि मलेसियाका लागि नियमित उडान रोकिँदा शव पनि रोकिएको हो । 

मलेसिया दूतावासले अन्तरराष्ट्रिय उडान हुन नसक्दा मृत्यु भएका कामदारको शव पठाउन नसकेको जनाएको छ । ११ वटा शवको डकुमेन्ट तयार भइसकेको र बाँकी २० शवको डकुमेन्ट तयार गर्ने काम भइरहेको दूतावासका श्रम काउन्‍सिलर दीपक ढकालले जानकारी दिए ।


चार्टड उडानमा भएपनि दूतावासले शव पठाउन तयार गरेको छ । मलेसियाबाट कोभिड सहायता सामग्री पठाउने भएकाले सहायता सामग्रीसँगै शव पनि पठाउन लागेको हो ।

कोभिड महामारी सुरु भएपछि मलेसियाले विदेशी कामदार लिन छाडेको छ । स्वास्थ्य सुरक्षाको दृष्टिकोणले मलेसिया सरकारले विदेशी कामदार नलिएको ढकालले इकागजलाई जानकारी दिए ।

नेपाली कामदारको सबैभन्दा पुरानो गन्तव्यस्थल मानिएको मलेसियामा नेपाली कामदार घट्दै गएको उनले बताए । 'करिब तीन लाख कामदारमध्ये गत वर्ष एक लाख ४० हजार कामदार स्वदेश फर्केका छन्,' ढकालले भने,' अहिले मलेसियामा करिब एक लाख ६० हजार कामदार छन् ।

सुरु-सुरुमा दूतावास उद्धार गरिदिनुपर्‍यो भनेर दैनिक फोन आउने गरेको ढकाललेको भनाइ छ । मलेसियामा दैनिक ६ हजारको हाराहारीमा संक्रमण थपिरहेको उनले जानकारी दिए ।

गत वर्षको लकडाउनमा पनि चार्टड उडानमा मृतक कामदारको शव ल्याइएको थियो ।  

 


Author

थप समाचार
x