प्रवास

मलेसियालगायत खाडी मुलुकमा ५० बढी शव अलपत्र

इकागज |
जेठ २४, २०७८ सोमबार १२:२५ बजे

काठमाडौँ : नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा मलेसियालगायत खाडी मुलुकमा गरी ५० शव विदेशमा अलपत्र परेका छन् । मलेसियामा ३१, युएईमा २, साउदी अरबमा १०, कतारमा ५, कुवेतमा ३ र बहराइनमा १ वटा शव अलपत्र परेको नेपाली मजदुर एकता समाजले जनाएको छ ।

युएईमा करिब पाँच हजारको हाराहारीमा नेपाली कामदार अलपत्र परेको समाजका प्रवक्ता विजय भुसालले जानकारी दिए । उनकाअनुसार बहराइनमा करिब सयौँका संख्यामा अलपत्र छन् । ओमनमा पनि नेपाली कामदार अलपत्र परेका छन् ।


भुसालले कोभिड महामारीको कारण अलपत्र परेका कामदारलाई तुरुन्त उद्धार गरिदिन नेपाल सरकारलाई आग्रह गरेका छन् । 'युएईमा दैनिक एउटा उडान हुनुपर्ने, साउदी र मलेशियामा साताको एउटा उडान हुनुपर्छ,' उनले भने,' यहाँ अलपत्र परेका सबै नेपाली स्वदेश फर्कन पाउनेछन् ।'

गत वर्षको जस्तै स्वदेश फर्कनका लागि दिन गन्दै बस्न नपरोस भन्नका लागि समयमा उद्धार गर्न भुसालले आग्रह गरेका छन् । सरकारले यसका लागि अविलम्ब प्रक्रिया बढाउनुपर्ने उनको भनाइ छ । मलेशिया लगायत खाडी मुलुकमा रहेका कामदारको भिसा सकिएकाले अलपत्र पर्न थालिसकेको उनले बताए ।

नेपालमा दोस्रो लहरको १९ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार भारत बाहेकको सबै अन्तराष्ट्रिय उडान वैशाख २३  गते रातिबाट बन्द गर्ने निर्णय गरेको थियो ।


Author

थप समाचार
x