प्रवास

विदेशमा अलपत्र कामदारको उद्धारका लागि उडान गर्न माग

वैदेशिक रोजगार चलायमान गर्न केही देशमा मात्रै उडान र श्रम स्वीकृतिको अनुमति

अतिन आचार्य |
जेठ २७, २०७८ बिहिवार १४:३२ बजे

काठमाडौँ : पहिलो चरणको कोभिड-१९ संक्रमण थोरै संख्यामा देखापर्दा विभिन्‍न व्यवसायीक क्षेत्रमा चहलपहल बढ्दै थियो । कोभिडले सबैभन्दा बढी असर वैदेशिक रोजगाको क्षेत्रमा पारेको छ । अन्तरराष्ट्रिय उडान बन्द भएपछि कामदार जान पाएका छैनन् र विदेशमा अलपत्र परेका कामदारलाई उद्धार नहुँदा अलपत्र परेका छन् ।

नेपालमा कोभिड-१९ को संक्रमण घट्न थालेपछि व्यक्तिगत भिसा र कम्पनीका भिसामा नेपाली कामदार वैदेशिक रोजगारमा जान थालेका थिए । दोस्रो लहरको कोभिड कहर सुरु भएपछि विदेश काम गर्न चाहनेहरू जान पाएका छैनन् ।


मुलुककै नदेखिने रुपमा रहेको 'रेमिट्यान्स उद्योग' यतिखेर धरमराएको छ । महामारीमा मुलुककै नदेखिने 'रेमिट्यान्स उद्योग' सरकारी बेवास्तामा परेको छ । वर्षेनी रेमिट्यान्सको रुपमा अर्बौं रुपैयाँ भित्रिने गरेको छ । दोस्रो लहरको कोभिड सुरु भएपछि थोरै संख्यामा भए पनि वैदेशिक रोजगारमा चाहनेहरू पनि जाने पाएका छैनन् । कम्पनीसँग सम्झौता र भिसा अवधि सकिएर स्वदेश फर्कन चाहनेहरू आउन नपाएर उतै बसेका छन् ।

कोभिडकै कारण  रोजगारमा गएका विभिन्‍न मुलुकमा हजारौँ नेपाली कामदार अलपत्र परेका छन् । कोभिडबाट मलेसिया र खाडी मुलुकमा सबैभन्दा बढी नेपाली कामदार प्रभावित भएका छन् । साथै वैदेशिक रोजगार व्यवासायीहरू र  युएई पाँच हजार भन्दा बढी, बहराइन र ओमनमा हजारौँको संख्यामा रहेका कामदार अलपत्र परेका छन् ।

नेपाली कामदार रहेका सम्बन्धित मुलुकका दूतावासमा अलपत्र कामदारको उद्धार गर्नुपरो भन्दै कामदारको फोन आउन थालेका दूतावासले बताउन थालेका छन् । कामदार भएका मुलुकका दूतावासहरूले एकसाथ छलफल गर्न पनि थालेका छन् । विभिन्‍न समयमा कामदारको भिसा सकिएको, शव र गैर कानुनी रुपमा बसोबास गरिएकालाई फर्काउनका लागि तत्काल अन्तरराष्ट्रिय सूचारू गर्न विदेशस्थित दूतावासले माग गरेका छन् ।

कामदारको उद्धार नभएमा धरपकड हुन सक्ने समस्यामा

मलेसिया सरकारले कामदारको भिसा सकिएकाले धरपकड गर्ने चिन्तामा कामदारहरूले मानसिक तनाव झेल्न थालिसकेको मलेसियास्थित दूतावासका एक कर्मचारीले बताए । महामारीका कारण रोजगारी गुमाएकालाई तत्कालै अन्तरराष्ट्रिय उडान खोलेमा स्वदेश फर्काउन सहज हुने उनको भनाइ छ ।

'सातामा एउटा उडान गर्न सकेमा यहाँ अलपत्र परेको शव र कामदारलाई उद्धार गर्न सकिन्थ्यो,' उनी भन्छन,' भिसा सकिएका कामदारलाई तत्काल केही कारबाही नगर्न अनुरोध गरिन्छ ।' मलेसियामा रहेका विभिन्‍न देशका दूतावाससँग छलफल गरी सरकारसँग समक्ष माग गर्ने उनले जानकारी दिए ।

दूतावासका कर्मचारीका अनुसार नियमित उडान खुलाउन सकेमा पनि धेरै संख्यामा कामदार अलपत्र पर्दैन । कोभिडका कारण कामदार मलेसिया आउन नपाए पनि सरकारले उडाख खुलाएमा मात्र पनि सहज हुने उनले बताए । नेपाली कामदार भएका सबै राष्ट्रमा सातामा एउटा-एउटा उडान भर्न उनले माग गरे ।

'वैदेशिक रोजगार चलायमान गराउन श्रम स्वीकृति खुला गरेउ'

कामदार भएका मुलुकका दूतावाससँग नियमित सम्पर्क गरी र नेपालमा माग हुने कामदारको संख्या कटौती नगर्न दूतावासाको श्रम सहचारी मार्फत बुझ्न सुझाव दिइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता दिपक काफ्ले बताउँछन् ।

वैदेशिक रोजगारमा जान चाहने र आउनेलाई अप्ठयारो नपरोस भनी साताको दुई वटा उडान खुला गरिएको  बताए । कोभिड महामारीको बीचमा श्रम स्वीकृति दिन लागि सातामा दुई दिन कार्यालय खुला गरिएको काफ्लेले जानकारी दिए ।   

'अलपत्र परेका कामलाई उद्धार गर्नुपर्ने भएमा त्यससँग सम्बन्धि सबै कुराहरू बुझ्‍न वैदेशिक रोजगार बोर्डलाई जिम्मा दिएको छ,' काफ्ले भन्छन्,' नेपाल तर्फबाट मात्र उडान रोकिएको छैन । केही रोजगार मुलुकले गत वर्षदेखि कामदार नलिने भनिसककेका छन् । मलेसिया जस्तो मुलुकमा त्यहीँको दूतावासले प्रक्रिया अगाडि बढाइरहेका छन् ।' 

'व्यवसायीको धरौटी रकम फिर्ता नहुँदा व्यवसाय समस्या'

सरकारले महामारीको समयमा वैदेशिक रोजगारका क्षेत्रमा रहेका व्यवसायीलाई राहत दिने खालको कुनै पनि कार्यक्रम नल्याएको नेपाल वैदेशिक रोजगारी व्यवसायी संघका कार्यवाहका अध्यक्ष कमल तामाङ बताउँछन् । पहिलो चरणको कोभिडदेखि व्यवसायीले धरौटी राखेको २ करोड रकम फिर्ता पाउन नसकिएको उनले बताए ।

'कार्यालय राखेको घरभाडा पनि तिर्न सकेका छैनौँ,' तामाङ् भन्छन,' दोस्रो लहरको कोभिडमा थोरै संख्यामा कामदारको माग भएपनि त्यस अनुसार पठाउन सकिएको छैन ।' महामारीको कारण कतिपय व्यवसायी पलायन हुने र मेनपावर कम्पनी बिक्री गर्नुपर्ने अवस्थामा आएको उनले बताए ।

तामाङले वैदेशिक रोजगार चलायमान गराउन अन्तरराष्ट्रिय उडान खुलाउन माग गरे । 'नेपाली कामदार भएका सबै मुलुकमा उडान खुलाएमा छुट्टिमा आएका कामदार जाने र कामदारको माग हुन्छ,' उनी भन्छन् ।

विदेशमा रहेका कामदारलाई उद्धार तथा सहयोग गर्न विभिन्‍न संस्थाको संयोजनमा काम गरिरहेको उनले बताए ।

'१० ‍औँ हजार कामदार अलपत्र'

नेपाली मजदुर एकता समाजले मलेसिया लगायतका खाडी मुलुकमा करिब ६० वटा शव रोकिकएको जनाएको छ । मलेसिया, युएई , बहराइन र ओमनमा १० हजारको हाराहारीमा रहेका कामदारको उद्धार गर्नुपर्ने अवस्था रहेको समाजका प्रवक्ता विजय भुसालले जानकारी दिए ।

'अलपत्र परेका मानिसको उद्धार हुन नसक्दा उनीहरूले दैनिक गुनासो राखी दूतावासमा फोन गर्न थालेका छन,' भुसाल भन्छन,' नेपाली कामदारको हकहितका लागि स्थापना भएका संस्थाले सहयोग गरिरहेका छन् ।'

सरकारसमक्ष युएईमा दैनिक एउटा, मलेसिया र साउदीमा सातामा दुई वटा उडान भर्न उनले माग गरे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x