प्रवास

देशलाई समृद्धि बनाउने महाअभियानमा महावीर

अनिल अधिकारी |
जेठ २९, २०७८ शनिबार १२:४६ बजे

अमेरिका : सायद नेपालीहरूलाई महावीर पुनका बारेमा धेरै बुझाउनु पर्दैन् । सरल र सादा जीवन शैली पर्यावाची हुन् महावीर भन्दा पनि फरक नर्पला । महावीर साँच्‍चिकै मनका महावीर छन्, मुलुकभित्र पर्ने हरेक अप्ठ्याराहरूमा उनी पहिले तम्सिन्छन्, र सामाजिक सञ्‍जालमार्फत देश-विदेशमा रहेका मनका धनीहरूलाई हारगुहार गर्छन् र भन्छन्, 'नेपालीहरू अप्ठ्यारोमा छन्, लौ तपाईंहरूले सहयोग गर्नुस ।' 

अहिले महावीरको परिचय राष्ट्रिय आविष्कार केन्द्रका कारण थप चुलिएको छ । देश विदेशमा उनलाई त्यही केन्द्रको प्रमुखका रुपमा चिन्दछन् । महावीरको पछिल्लो योजनामा देशविदेशबाट सहयोग गर्नेहरूको लर्को नै छ ।


महावीरले मुलुकको आर्थिक समृद्धिका लागि राष्ट्रिय आविष्कार केन्द्रको आविष्कार भएको जानकारी दिँदै सबैलाई सहभागी हुन अनुरोध गरिरहेका छन् । उनले यो पनि भनिरहेका छन्, हामीलाई सहयोग आवश्यक छ तर दबाबमा होइन् । 

बिहीबार अमेरिकाको टेक्सास राज्यमा आयोजित एक कार्यक्रममा बोल्दै महावीरले भने, 'हामी मुलुकभित्रको रकम बाहिर जान नदिनका लागि आविष्कार केन्द्रको स्थापना गरेका हौँ, आउनुस हामीसँग हातेमालो गर्नुस । यो २१ औँ शताब्दी हो, विश्व बजारमा सियोदेखि हेलिकप्टरसम्म बेच्‍न सकिन्छ ।' उर्जाशिल युवा पुस्ताको खुलेर प्रशंसा गर्दै पुनले भने 'अहिलेका भाईबैनीहरू साँच्‍चिकै ऊर्जावान छन्, हामीले उनीहरूलाई अवसर मात्रै दिनु पर्दछ । आफु मुलुकको व्यापार घाटा घटाएर देशलाई समृद्धिको दिशामा अगाडि बढाउने यात्रामा रहेको पुनको भनाई छ । 

पुनले भने, 'हामीले हाम्रो संस्थामा संकलन भएको रकम विज्ञानको युगमा जन्मिएका त्यस्तै युवाहरूलाई अवसर दिनमा खर्च गरेका छौँ, जसले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने वस्तु बनाउँदै हुनुहुन्छ ।' उनले थपे, 'कसैले एक दुई हजार डलर सहयोग लिएर काम गरिरहनु भएको छ भने कसैले २०, ५० हजार डलरसमेत लिएर आविष्कार गरिरहनु भएको छ ।' 

ठट्यौली पारामा जिस्किँदै महावीरले थपे, 'आविष्कार केन्द्रमा दुई चार जना जम्मा हुने दुई चार बोत्तल रौसी खाने र मासु भात खाने काम भइरहेको छैन, साँच्‍चिकै हामीले मुलुकको समृद्धिका लागि प्रयोग हुने सामान बनाउँदै छौँ ।'

कोरोना कहरका बेला देशभरबाट उनलाई फोन आएको स्मरण गर्दै पुनले भने, 'मलाई कोरोनाबाट बच्‍ने चिज बनाउनुस भन्दै फोन आयो, मलाई त्योबारेमा थाहै थिएन अनि कसरी बनाउनु ।' उनले भने, 'देशभरबाट डाक्टरहरूले फोन गरेर भन्‍नु भो पिपि बनाउनु पर्‍यो, मैले भने मलाई थाहै छैन्, कसरी बनाउनु । हलभरीका मान्छे गललल हाँस्दै थिए... अनि मैले भनेँ देखाइदिनुस हामी बनाउँछौँ ।' उनले अगाडी थपे, 'पछि-पछि हामीले चिकित्सकहरूले प्रयोग गर्ने सबै सामाग्री बनाइदियौँ ।' 

उनको यो भनाईमा सरकार तथा सम्बन्धित निकायप्रति एक प्रकारको व्यङय पनि समावेश थियो । कुनै बेला उनले आविष्कार केन्द्रको सहयोगार्थ सरकारको ढोका ढकढक्याए । यो आविष्कार केन्द्र देशका लागि हो, हामी गरेर देखाउँछौं भन्दै हात फैलाए तर सरकारी निकायमा रहेकाहरूले उनको त्यो आग्रहलाई ठट्यौली पारामा उडाए । अहिले त्यही केन्द्र चिकित्सकहरूलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री बनाउनका लागि काम आयो ।

विश्वभरबाट प्राप्त रकम सहि ढंगले सदुपयोग भइरहेको जानकारी दिँदै उनले होनहार युवाहरूलाई परिचालन गरेर आविष्कार केन्द्रले देशका लागि मात्रै नभई विश्व बजारमा बिक्रि हुने सामाग्रीहरूको निमार्ण गरिरहेको दाबी गरेका छन् । त्यसका लागि सबैले सहकार्य गर्न जरुरी रहेको उनको भनाइ छ । महावीर पुन अगाडी थप्छन्, 'चाइनाले यस्तो बनायो, अम्रिकाले यस्तो बनायो भनेर समाचार मात्रै पढ्ने की नेपालमा पनि यस्तो बन्यो भनेर गर्व गर्ने, आउनुस हामीसँग हातेमालो गर्नुस ।'


Author

थप समाचार
x