प्रवास

जापानस्थित नेपाली विद्यालयबाट जाम्बियाका छात्र एसइई उत्तीर्ण

इकागज |
असार १४, २०८१ शुक्रबार १५:३८ बजे

काठमाडौँ - जापानको टोकियोस्थित नेपाली विद्यालयबाट जाम्बियाका एक विद्यार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । टोकियोको मध्यभागमा रहेको एभरेष्ट इन्टरनेशनल विद्यालयमा अध्ययनरत छात्र चिसा टाइरिस कावेजाले २.९५ जिपिए प्राप्त गरेका विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टले  जानकारी दिए । 

सो विद्यालयबाट यस वर्ष नौ छात्र र १४ छात्रा गरी २३ जनाले एसइई परीक्षा दिएकामा शतप्रतिशत उत्तीर्ण भएका छन् । उक्त विद्यालयबाट एसइई परीक्षा दिएका अधिकांश विद्यार्थीले ३.८ जिपिएभन्दा माथि नतिजा ल्याएका उनले जानकारी दिए । 'शतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका छन्', प्राचार्य भट्टले भने । 


राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार प्रकाशित २०८० को एसइई परीक्षामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । कूल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका बेला प्रवासमा रहेको त्यस विद्यालयबाट अफ्रिकी मुलुक जाम्बिायाका छात्रसहितका परीक्षार्थी उत्तीर्ण हुनुलाई सकारात्मकरुपमा हेरिएको छ ।

सन् २०१३ मा स्थापना भएको विद्यालयबाट यस वर्ष चौथो समूहले परीक्षा दिएको थियो । स्थापनाकालमा १६ जना विद्यार्थीबाट सुरु भएको उक्त विद्यालयमा हाल नेपाली र विदेशी गरी चार सय ५० विद्यार्थी अध्ययनरत छन् । हाल विद्यालयमा छ जना जापानी विद्यार्थी पनि अध्ययनरत छन् ।

नेपाली पाठ्यक्रमअनुसार पढाइ हुँदै आएको सो विद्यालयलाई जापान सरकारले अन्तर्राष्ट्रियस्तरको विद्यालयका रुपमा मान्यता प्रदान गरेको छ । त्यस विद्यालयमा सञ्चालित एसइई परीक्षाको अनुगमन टोकियोस्थित नेपाली दूतावासले गर्दै आएको छ ।

सो विद्यालयमा नेपाल, जापान, भारत, फिलिपिन्स, अमेरिकालगायत मुलुकका ६२ शिक्षक प्राध्यापनरत छन् । उक्त विद्यालय नेपाल बाहिर रहेको नेपाली पाठ्यक्रममा सञ्चालित एक मात्र माध्यमिक विद्यालय भएको प्रधानाध्यापक भट्ट बताउँछन् । 

 


Author

थप समाचार
x