प्रवास

अष्ट्रेलियामा २४ सयभन्दा बढी नेपालीले लिए मोबाइल पासपोर्ट सेवाबाट लाभ

इकागज |
माघ १२, २०८१ शनिबार १२:१ बजे

अष्ट्रेलिया- गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरता र अष्ट्रेलियास्थित नेपाली दूतावाससँगको सहकार्यमा पछिल्लो एक वर्षमा दुई हजार चार सय नेपालीले मोबाइल पासपोर्ट सेवा लिएका छन् । अष्ट्रेलियाका पाँचवटा प्रमुख सहरमा सञ्चालन भएको मोबाइल पासपोर्ट सेवाबाट त्यहाँ रहेका नेपालीहरु लाभान्वित भएको जनाइएको छ । 

राजधानी क्यानबेरास्थित नेपाली दूतावासबाट टाढा रहेका स्थानहरूमा पासपोर्ट नवीकरणको समस्या समाधान गर्न एनआरएनए अष्ट्रेलियाले अग्रसरता लिएको थियो । यो सेवाले समुदायलाई समय र श्रम बचत मात्र नगरी लाखौँको खर्च जोगाउन समेत मद्दत गरेको पुगेको एनआरएनए अष्ट्रेलियाले जनाएको छ । 


एनआरएनएका स्वयंसेवकहरूले आवेदन संकलनदेखि प्राविधिक व्यवस्थापन तथा दूतावाससँग समन्वय गरी सेवालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यो सेवाको व्यवस्थापनका लागि २५ अष्ट्रेलियन डलरदेखि ७० डलरसम्म प्रशासनिक शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

नेपालीहरुलाई सहज रुपमा सेवा प्रदान गर्न सुरु गरिएको उक्त सेवाबाट समयमै पासपोर्ट नवीकरण गर्न नसकेका नेपालीहरुले ठूलो राहत पाएको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले बताए । “यो सेवा यहाँ रहेका नेपाली समुदायको माग र आवश्यकताअनुसार आयोजना गरिएको हो, जसले सेवा लिन असमर्थ रहेका धेरै नेपालीलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ”, उनले भने । आगामी दिनमा यस्ता सेवाहरूलाई अझ प्रभावकारी बनाउँदै लैजानेमा समेत उनले प्रतिबद्धता व्यक्त गरे ।


Author

थप समाचार
x