वैदेशिक रोजगारीमा जानेलाई चीनबाट खरिद गरिएको खोप लगाइने
काठमाडौँ : सरकारले वैदेशिक रोजगारमा जानेलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने भएको छ । प्राथमिकिकरणका आधारमा वैदेशिक रोजगारमा जानेलाई पनि खोप लगाउन लागिएको हो ।
चीनबाट खरिद गरी ल्याएको खोप ओलम्पिकमा सहभागी हुने खेलाडी तथा विदेशमा उपचार र अध्ययन गर्न जानेलाई लगाउन पहिलो प्राथमिकतामा राख्ने गरी सिफारिस गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप सल्लाहकार समितिका विज्ञ डा. श्यामराज उप्रेतीले जानकारी दिए ।
'खोप समितिमा वैदेशिक रोजगारीमा जानेलाई खोप लगाउन पहिलो प्राथमिकतामा राख्न प्रस्ताव गरिएको छ,' उप्रेतीले भने,' विदेश जानेलाई खोप लगाउन विशेष केन्द्र तोकिनेछ ।' रोजगार गन्तव्य मुलुकले खोप अनिवार्य गरी जान चाहेका कामदारलाई मात्र लगाइने डा. उप्रेतीले बताए । भिसा र पासपोर्टको आधारमा खोप लगाइने उनको भनाइ छ
उप्रेतीले वैदेशिक रोजगारमा जान चाहनेहरूको रोजगारको अवसर गुम्ने भएकाले पनि खोप लगाउन लागिएको बताए । श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने र श्रमको क्षेत्रमा काम गर्नेलाई खोप उपलब्ध गराइदिन माग आएकाले सिमितिले खोप लगाइदिन सिफारिस गरेको उनले जनाए ।
सरकारले यस विषयमा सकरात्मक निर्णय लिन सक्ने उनले विश्वास व्यक्त गरे । विदेश अध्ययन गर्न जानेलाई खोप लगाइने भएको छ । विद्यार्थीको भिसा तथा अन्य कागजपत्र हेरेर खोप लगाइने छ । उपचार गर्न जानेलाई पनि सँगसँगै प्राथमिकतामा राख्ने भएको डा. उप्रेतीले जानकारी दिए ।
विदेशस्थित विभिन्न खेल खेल्न जाने खेलाडीलाई पनि खोप लगाइने भएको छ । पहिलो प्राथमिकतामा ओलम्पिक खेलमा सहभागी हुनेहरू पर्न सक्ने डा. उप्रेतीले बताए । करिब १०० जना खेलाडीलाई खोप लगाउनुपर्ने गरी पत्राचार भएको उनले प्रस्ट पारे ।
पछिल्लो समय खाडी मुलुकले खोप लगाएका विदेशी श्रमिकलाई मात्र लिने बताइरहेका छन्। कुवेतले आगामी अगष्टदेखि खोप लगाएका विदेशी श्रमिकलाई मात्र प्रवेश दिने जनाएको छ। तर, कुवेतले नेपालमा प्रयोग भइरहेको कोभिसिल्ड र भेरोसेल दुवै खोपलाई मान्यता नदिने भएको छ ।
कुवेतले अष्ट्राजेनिका, जोन्सन एण्ड जोन्सन र फाइजरको खोपलाई मात्रै मान्यता दिएको छ। अन्य कम्पनीबाट उत्पादित खोपलाई कुवेतले मान्यता नदिने भएको हो । बिदामा नेपाल आएका कतिपय श्रमिकहरू खोप कै कारण वैदेशिक रोजगारी मुलुक जान पाएका छैनन् ।
धेरै मुलुकले विदेशी श्रमिकमाथि प्रतिबन्ध लगाएका छन् । पछिल्लो समय मलेसिया, युएई, कुवेत, बहराइन र ओमनले कामदार लिएका छैनन् । साउदी र कतारले भने १४ दिन क्वारेन्टिनमा बस्ने अनुमति दिएर कामदार लगिरहेका छन् ।
वैदेशिक रोजगारमा जानेहरूलाई खोपका लागि प्राथमिकतामा नराख्दा हजारौ नेपाली कामदार रोजगारका लागि विदेश जान नपाएको नेपाल वैदेशिक रोजगार व्यवसायिक संघका कार्यवाहक अध्यक्ष कमल तामाङ् बताउँछन् । उनका अनुसार खोप लगाउन नपाएका कारण करिब ३५ हजार बढी श्रमिक वैदेशिक रोजगारमा जान पाएका छैनन् ।
करिब एक वर्ष र छ महिना अघि छुट्टिमा आएकाहरू रोजगारका लागि जान नपाएकाले अबको खोप कार्यक्रम अभियानमा विदेश जाने कामदारलाई पहिलो प्राथमिकतामा राखी खोप उपलब्ध गराएमा रोजगारमा जानेलाई समस्या नहुने तामाङले बताए । सरकारले वैदेशिक रोजगारमा जानेलाई खोप लगाएमा केही राहत हुने उनको भनाइ छ । अबको खोप कार्यक्रममा रोजगारमा जानेलाई पहिलो प्राथमिकतामा राख्न उनले सुझाव दिए ।
यो पनि
खोप नपाउँदा वैदेशिक रोजगारीमा जाने ३५ हजार श्रमिक अलपत्र
कोरियाले राख्यो तीन शर्त : कोभिड बीमा र क्वारेन्टिन खर्च कामदार आफैँले व्यहोर्नुपर्ने
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया