प्रवास

वैदेशिक रोजगारीमा जाने युवाको भावना

जति चोट दिन्छौ देऊ सरकार, हामी सहन बाध्य छौँ

अतिन आचार्य |
साउन २८, २०७८ बिहीबार १३:९ बजे

काठमाडौँ- स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दश दिनअघि सय दिनको भावी योजनाअघि सारे । यसमा सरकारी सेवा सुविधा नलिने उनको घोषणाले सबैभन्दा बढी चर्चा पाएको थियो । यस्तै घोषणाका क्रममा उनले चैत महिनासम्ममा १८ वर्षमाथिका सबैले नागरिकले कोभिडविरुद्धको खोप पाउने घोषणासमेत गर्न भ्याए ।

मुलुक कोभिड-१९ को महामारीले थलिएको छ । यो समाचार तयार पार्दासम्म महामारीले १० हजार बढीको ज्यान लिइसकेको छ। सक्रिय संक्रमित ३८ हजारभन्दा बढी छन् । तर, यही समयमा घर परिवारलाई चारा जुटाउन देश छोडन चाहनेहरूले भने स्वास्थ्य मन्त्रालयले गिज्याइरहेको छ । विदेश जान ठिक्क परेर विमानस्थल पुगेका सयौं युवा खोप कार्ड नभएर फर्किइरहेका छन् ।


राज्यमन्त्री श्रेष्ठ जुन मन्त्रालयमा छन् त्यहाँ दैनिक २० देखि ५० जना युवा नेपालमा श्रमको पसिना बगाउन योग्य भएनौं भन्दै पुग्ने गरेका छन् ।  उनीहरू विदेश जानका लागि समयमा क्युआर कोडसहितको खोप कार्ड उपलब्ध गराउनुपर्ने माग राखेर मन्त्रालय पुग्‍ने गरेका छन् ।

मरुभूमिमा पसिना बगाउन जानेलाई उनले गरेको सय दिने घोषणामा सरकारी सेवा सुविधा त्यागेको थाहा छैन होला । मात्र उनीहरूलाई जान्‍न मन छ क्युआर कोडसहितको खोप कहिले पाइन्छ ?

दैनिक त्रिभूवन विमास्थलमा घरपरिवारबाट युवाहरू साउदी र कतार जान बिदा मागेर जान्छन् । तर, विमानस्थल पुगेको तीन घन्टामा उनीहरू फर्कन्न बाध्य छन् । कारण एउटै हो खोप कार्डमा क्युआर कोर्ड उपलब्ध नहुनु ।

राज्यमन्त्री श्रेष्ठलाई विदेश जाने नागरिकले स्वास्थ्य मन्त्रालयका कारण अस्पतालमा लाइन बस्‍नुपर्ने र विमानस्थलबाट फर्कनु परेको थाहा छैन । उनलाई सय दिने घोषणाको प्रतिबद्धता कसरी पूरा हुन्छ त्यो पनि थाहा छैन । कार्ड लिन व्यवस्थापन राम्रो नहुँदा लाइनमा बस्‍नुपरेको छ ।

बुधबार मात्र मन्त्रालयले क्युआर कोडका लागि कीर्तिपुर अस्पतालले फारम नलिने तर अनलाइनबाट आवेदन दिन सकिने जनाएको थियो । त्यहाँ पनि कारण थियो । यसअघि परेका आवेदनलाई कार्ड उपलब्ध गराउन नसक्दा भौतिक रुपमा उपस्थित भएकाहरूको फारम नलिने भएको हो ।

केही थान युवाहरू मन्त्रालयको प्राङगणमा उभिएर भनिरहका थिए,' सक्छौ रोजगार देउ सक्दैनौ क्युआर कोड सहितको कार्ड उपलब्ध गराउ ।' पराइ भूमिमा पसिना बगाउन चाहने युवाहरू मन्त्रालय पुग्दा मन्त्रालयका अधिकारीहरू बैठकमा व्यस्त थिए ।

त्यहाँ न राज्यमन्त्रीलाई उनीहरूको पीडा सुन्‍न फुर्सद थियो न त त्यहाँका कर्मचारीलाई नै । गेटमा पहरा दिइरहेका सुरक्षाकर्मीले भन्दै थिए,' सरहरू बैठकमा हुनुहुन्छ । पर्खनुहोस सर आएपछि तपाईंहरूलाई भित्र छिर्न दिन्छु ।'

आखिर क्युआर कोडको सहजता कहिलेसम्म हुन्छ त ? राज्यमन्त्रीले देशको सबैभन्दा ठूलो उद्योग चलाउनेको मागलाई किन चाँडै सम्बोधन गर्न सकिरहेको छैन । वर्षेनी अर्बौं रेमिटयान्स भित्रिने गर्छ । अझ भनौं महामारीमा सबैथोक बन्द हुँदा विदेशबाट रेमिटयान्स भित्रिरह्यो ।

क्युआर कोडसहित सबैले चाँडै पाउने

स्वास्थ्य मन्त्रालयको खोप महाशाखाले  विज्ञप्‍ति र सूचना निकालेर जिम्मेवारी निर्वाह गरेको ढोङ गरिरहेको छ। त्यतिले नपुगेर कहिले कता त कहिले कता पठाउने काम पनि गरिरहेको छ । भर्खरै महाशाखाले महामारीलाई ध्यानमा राख्दै अनलाइन फारम भर्ने विकल्प दिएको छ । तर महाशाखाले हेक्का राखेको छैन कि हुम्लाबाट पहिलोपटक साउदी अरब जान काठमाडौँ आएको युवकलाई अनलाइन फारम भर्न नआउन सक्छ । तर पनि भौतिक उपस्थित बन्द गराएर अनलाइन फारम भर्न प्रेरित गरिरहन्छ ।

वैदेशिक रोजगारमा जाने युवाले कहिलेसम्म क्यूआर कोडसहितको खोप कार्ड पाउँछन त भन्ने इकागजको प्रश्‍नमा महाशाखा प्रमुख डा. झलक शर्मा भन्छन,' धेरैले खोप कार्ड लिन आवेदन दिएकाले पनि उपलब्ध गराउन केही ढिलाइ भइरहेको छ । आवेदन दिएकामध्ये धेरैले पाइसकेका पनि छन् ।'

खोप कार्ड उपलब्ध गराउन ढिला भएकाले भौतिक रुपमा उपस्थिति भएर दिइने आवेदनलाई बन्द गरिएको शर्माले जानकारी दिए । कार्ड पाएकाहरू धमाधम विदेश गइरहेको उनले बताए ।

 'सर्भरमा प्राविधिक समस्या भएकाले पनि समयमा कार्ड उपलब्ध गराउन नसकेको हो,' उनले भने,' विमानस्थलबाट युवाहरू फर्केको पनि हामीले थाहा पाएको छौ । अब त्यो दिनको चाँडै अन्त्य हुनेछ ।'

व्यावसायी जिम्मेवार, सरकार गैर-जिम्मेवार ?

महामारी अघि वर्षेनी लाखौं तन्नेरीलाई वैदेशिक रोजगारीमा पठाउन व्यवसायीले विभिन्न छापा सञ्चारमाध्यमा हजारौँ रुपैयाँ तिरेर विज्ञापन गर्थे । तर,खोप कार्ड क्युआर कोड नपाएर फर्कन बाध्य भएका युवाहरूको पक्षमा भने म्यानपावर व्यवसायी पनि एक शब्द बोल्न सकेका छैनन् । युवाको पक्षमा बोल्दा व्यवसायीलाई नोक्सान हुन्छ तर, मौन बस्दा सरकारसँग व्यवसायमा क्षति परो भन्दै ऋण माग्दा पाइन्छ ।

विदेश जान युवाहरूलाई समस्या परेको भन्दै स्वास्थ्य मन्त्रालय, परराष्ट्र र श्रम मन्त्रालयमा पनि रोजगारीमा जानेको माग सम्बोधन गर्नलाई पहल गरिदिन माग गरिरहेको नेपाल वैदेशिक रोजगार व्यावसायिक संघका कार्यवाहक अध्यक्ष कमल तामाङ् बताउँछन् ।

विदेशमा पसिना बगाएर रेमिटयान्स पठाउँछन तिनीहरूको माग सम्बोधन नहुनु र समयमा कार्ड उपलब्ध गराउन नसक्नुमा राज्य गैह्रजिम्मेवार बनेको तामाङले आरोप लगाए । 'व्यवसायी जिम्मेवार रहेकाले सबै सरकारी निकायमा पुगी तत्कालै विदेश जानेहरूलाई सहजै क्युआर कोडसहितको खोप कार्ड उपलब्ध गराउन माग गरेका छौ, ' तामाङले भने ,' व्यावसायी जिम्मेवार छौ तर वैदेशिक रोजगारमा जानेप्रति सरकार गम्भीर छैन् ।'

महामारीमा वैदेशिक रोजगारमा जानेहरूको दीर्घकालीन समस्या गर्नलाई तामाङले सुझाव दिए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x