दक्ष कामदार कहिले जान्छन् ?
कोभिड महामारीको बेवास्ता गर्दै कामको खोजीमा विदेशिने सबैभन्दा बढी अदक्ष कामदार
चार लाख बढीले मुलुक छोडे,अर्बौ रुपैयाँ खर्च गर्दासमेत दक्ष कामदार उत्पादन भएनन्
फाइल तस्बिर
काठमाडौँ- त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हरेक दिन धन कमाउन जाने र फर्कने नेपाली कामदारको लर्को देखिन्छ । मुलुकबाट वैदेशिक रोजगारीमा जानेहरू मध्ये दक्ष र अर्धदक्षभन्दा अदक्ष कामदार बढी छन्। नेपालमा श्रमिकका लागि सीप विकासको अवसर कम रहेकाले विदेश निर्यात हुने पनि अदक्ष कामदार नै हुन् ।
सरकारले दक्ष कामदार उत्पादनगरी तिनीहरूलाई वैदेशिक रोजगारीमा पठाएर लाभ लिने भन्दा पनि अर्धदक्ष र अदक्ष जनशक्ति पठाउन अनुमति दिने गरेको छ । भिसा र श्रम स्वीकृति भएपछि कामदारलाई सहजै प्रवेश अनुमति दिने गरेको हो । तर, कस्तो काममा जाने र कामदारको दक्षता मापन गर्ने निकाय नहुँदा वर्षेनी अदक्ष कामदार बाहिरीने गरेकाले पनि कोभिड महामारीमा पनि अदक्ष कामदार बढी पर्छन् ।
कोभिड-१९ महामारी सुरुहुभन्दा अघि हरेक दिन नेपाल छाड्नेको संख्या करिब पाँच हजार हुन्थ्यो । महामारी सुरु भएसँगै मुलुक छाड्नेको संख्यामा कमी आए पनि पूरै शून्यमा झर्न सकेको छैन । यसले बाध्यात्मक वैदेशिक रोजगारीको अवस्थालाई दर्शाउँछ ।
महामारीकै कारण विदेशमा रोजगारी गरिरहेका धेरै कामदारहरू फर्किसकेका छन् । दैनिक कतिपय नागरिकहरू स्वदेश फर्किरहेका पनि छन् । देश छोड्नेको संख्यामा पनि कमी आएको छैन । सबैभन्दा गतिलो उदाहरण वैदेशिक रोजगारीमा जानेहरू कोभिडविरुद्धको खोप लगाउन लागेको लाइनले नै प्रस्ट पारेको छ ।
महामारीमा किन यतिका धेरै मानिस मुलुक छोडन लालयित छन् । आफ्नै मुलुकको श्रम बजारलाई नेपाली कामदारले विश्वास नगरेर हो या श्रम मूल्य कम भएर हो ? राज्यले पनि स्वदेशमा रोजगारको सिर्जना नगर्दा नेपाली श्रम वर्षेनी पराई भूमिमा पलायन क्रम जारी छ आखिर कहिलेसम्म नेपालीले विदेशमा पसिना बगाइरहनु पर्ने हो ?
विभिन्न मुलुक गरी महामारीमा पनि चार लाख ५ हजार ४७७ जनाले मुलुका छोडेका छन् । सबैभन्दा बढी अदक्ष कामदार नै निर्यात भएका छन् । जसमधये ८० हजार ३८२ जना गएका हुन् । दक्ष कामदार ७० हजार ४२६, अर्ध दक्ष कामदार १५ हजार ५८३, व्यावासयिक भिसामा २४६ र उच्च दक्ष जनशक्तिमा ६१ जना गएको श्रम तथा रोजगार विभागले जनाएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न म्यानपावर कम्पनी मार्फत ६१ हजार ४२८ जनाले मुलुक छोडेका छन् । अफगानिस्तान , बहराइन , चीन, साइप्रस, जापान, जोर्डन, ओमन, मौरिसस, कतार, रोमानिया, साउदी अरब र युएई गएका छन् ।
५५ हजार ८७९ पुरुष र महिला पाँच हजार ५४९ जना महिला छन् । सबैभन्दा बढी साउदी अरब गएका छन् । २३ हजार ३०३ जनामध्ये पुरुष २३ हजार २१८ र महिला ८५ जना छन् । कतारमा २१ हजार २८१ मध्ये २० हजार २३८ पुरुष र महिला १०४३ जना छन् । युएईमा आठ हजार ५६६ जनामध्ये ६ हजार ६७० पुरुष र महिला १८९६ रहेका तथा अन्य मुलुक पनि गएका छन् ।
व्यक्तिगत नयाँ भिसाबाट मात्र पाँच हजार ३१७ जना विभिन्न मुलुक गएका छन् । चार हजार १६८ पुरुष र एक हजार १४९ जना महिला छन् । अल्बानिया १८, बहराइन ९५, क्यानडा ५७, क्रोएसिया १०७३, इजिप्ट ४४, जापान ४४४, माल्दिभ्स ९७१,ओमन १४४, पोल्याण्ड ४२४, पोर्चुगल ५५, कतार १५६,रोमानिया ५२२, टर्की ३७७, युएई १५४, बेलायत २४८ लगायतका अन्य मुलुक गएका छन् ।
आफन्तले पठाएको भिसाबाट नयाँ पाँच हजार ३३६ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् । व्यक्तिगत पुनः श्रम स्वीकृत लिएर ९४ हजार ६१७, कम्पनीमा काम गर्नेहरू एक लाग ६६ हजार ६९८ र पहिलोपटक जानहरू ७२ हजार ८१ जना छन् ।
श्रम स्वीकृति र भिसा हेरेर अनुमति
कामदारले श्रम स्वीकृति भिसा ल्याएपछि सरकारले कुनै पनि कामदारलाई रोक्न नमिल्ने वैदेशिक रोजगारका विभागक सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले बताए । कस्तो काम जाने र कामदारले पाउने मासिक तलबको सम्पूर्ण व्यहोरा खुलाएछि सहजै अनुमति दिने गरेको उनको भनाइ छ । कोभिड महामारीको कारण विदेश जानेको संख्यामा कमी आएसँगै अदक्ष कामदारको जाने संख्यामा कटौती नभएको उनले बताए ।
'दक्ष कामदार उत्पादन गर्न राज्यले संस्था निर्माण गरी तालिम दिनुपर्छ, ' उनले भने,' घरेलु तथा कम्पनीमा जाने कामदारलाई तालिम दिनलाई विभिन्न संस्था खोलिनुपर्छ । दक्ष कामदार पठाउन नसक्दा पनि कामदारले राम्रो तलब पाउँदैनन् र विभिन्न दुर्घटनामा परी ज्यान गुमाउने गर्छन् ।'
राज्यले त्यस्ता तालिम केन्द्र स्थापना गरेमा विभागले समन्वय गर्न सक्ने भट्टराईको भनाइ छ । काम गर्न जानेहरूले सीप विकास गरेर गएमा उनीहरुलाई समस्या नहुने उनले प्रस्ट पारे ।
ड्राइभर, सेक्युरीटी र निर्माणको काममा जाने गरेका छन् । धेरै अदक्ष कामदार कन्सट्रक्सनको काममा जाने र उनीहरूको दूर्घटना भइ मृत्यु हुने गरेको भट्टराईले बताए ।
विभिन्न क्षेत्रमा दक्ष कामदार पठाउन १६ देखि १७ वटा पाठयक्रम तयार गर्ने काम गरिरहेको ववैदेशिक रोजगार बोर्डका प्रवक्ता दिनबन्धु सुवेदीले बताए ।' बोर्डले तालिम दिएर कामदार पठाउनुपर्छ भन्ने मान्यता राख्छन,' सुवेदीले भने ।
दक्ष कामदार विदेश पठाउन शुल्क निर्धारण र पाठयक्रम समेत तयार पारिएको सुवेदीको भनाइ छ । राज्यको पहिलो प्राथमिकता दक्ष कामदार पठाउन ध्यान राख्नुपर्ने उनले बताए ।
सरकारले रोजगार गन्तव्य मुलुकको अध्ययन
सरकारले सीटीइभिटीबाहेकका अन्य संस्थालाई वैदेशिक रोजगारमा जानेलाई तालिम दिने व्यवस्था नगरेकाले पनि कामदारले तालिम लिन नसकेको श्रम मामिलाका विज्ञ डा. गणेश गुरुङले बताए । वैदेशिक रोजगार विभाग र बोर्ड मार्फत करिब पाँच अर्ब रपैयाँ खर्च भइसक्दा पनि त्यसको परिणाम निकाल्न नसकेको उनले बताए । तालिम गराउन ठूलो मात्रामा धनराशी खर्च गर्ने गरेको उनको भनाइ छ ।
'दक्ष कामदार पठाउन गन्तव्य मुलुकको सरकारले समय-समयमा भ्रमण गर्नुपर्छ,' गुरुङले भने,' जस्तो कामदारको आवश्यक पर्छ त्यही अनुसार कामदार पठाउनुपर्छ ।' वैदेशिक रोजगारलाई अब वैकल्पिक रोजगारको केन्द्र बनाउन पनि उनले सुझाव दिए । आफ्नो मुलुकको श्रम बजारलाई विस्तार गर्नुपर्ने उनको भनाइ छ ।
बढी कामदार जाने मुलुक मलेशिया, कतार, युआई र साउदी अरबमा कस्ता प्रकृतिको काम हुन्छ त्यहाँको अध्ययन गर्नलाई गुरुङले सुझाव दिए । अन्य मुलुकले नेपाललाई अदक्ष कामदार पठाउने मुलुकको रुपमा चिन्ने गरेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया