प्रवास

सरकारकै कारण महामारीमा कोरिया जाने कामदारले टिकट मूल्य बढी तिर्नुपर्ने

आठ हजार कामदार स्वदेशमै रोकिए

अतिन आचार्य |
भदौ ४, २०७८ शुक्रबार १४:२१ बजे

फाइल तस्बिर

काठमाडौँ- कोभिड-१९ को कारणले दक्षिण कोरिया जान नपाइ बसेका नेपाली कामदारले हवाइ टीकटबापत बढी मूल्य तिर्नुपर्ने भएको छ । सरकारले महामारीमा कामदारलाई सस्तोदरमा टीकट उपलब्ध गराउनुको सट्टामा भारी मूल्य तिराउने भएको हो ।

महामारीमा रोकिएका कामदार पठाउनलाई सहजीकरण गर्न टीकट काटने एजेन्सी र एयरलायन्स कम्पनी खोजी गर्न लागिएको ईपीएस कोरिया शाखाले जनाएको छ । कोरियाले यसभन्दा अघि ट्रान्जिट गरी जान कामदारले प्रवेश अनुमति दिएको थियो । सरकारले कोभिडकै कारण ट्रान्जिट उडानबाट गएका कामदारलाई कोरिया प्रवेश नदिने भएकाले सिधा उडान भर्न वायुसेवा कम्पनीको खोजी गरेको हो ।


कोरियाले नेपाली कमदार लान शर्त राखेपछि इपीएस कोरिया शाखाले कामदार उडाउनका हवाई कम्पनी र ट्राभल एजेन्सी छनौट गर्न टेण्डर आव्हान गरिसकेको छ ।  महामारीको कारण अडकेका कामदारलाई पठाउन सरकारले कार्यविधि नै संशोधन गरी काठमाडौँदेखि कोरियासम्म सिधा उडान भर्न हवाई टिकट खरिदका लागि (बुधबार) टेन्डर आव्हान गरेको हो ।

कोभिड-१९ को महामारी अघि कामदारले तीन सय ९३ अमेरिकी डलर (करिब ५० हजार रुपैयाँ) तिरेर कामदार जाने गरेका थिए । महामारीका कारण जान नपाएका कामदारलाई पठाउन हवाई उडान र टीकट खरीद गर्न टेण्डर आव्हान गरिएको  ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले बताए ।

'कामदारले यसभन्दा अघि तिर्दै आएको टीकटको मूल्य भन्दा केही बढी रकम तिर्नुपर्ने हुन्छ, ' उनले भने,' कोभिड महामारीमा कोरियाले शर्त राखे अनुरुप हवाई उडान कम्पनी र ट्राभल एजेन्सी छनौट गर्नुपरेको हो । कामदार पठाउनलाई टेण्डसमेत गरिएको हो ।'

कामदारले टीकटको कतिसम्म मूल्य तिर्नुपर्ने हो त्यस विषयमा खुलाउन नमिल्ने गौतमले बताए । कम्पनीको सबै छनौट भएपछि मात्र मूल्य खुलाउन सकिने उनको भनाइ छ ।

कोरियाले राखेको पहिलो शर्तमा सिधा उडान, बीमा, क्‍वारेन्टीन खर्च कामदारले व्यहोर्ने र कोभिड नेगेटिभ रिपोर्ट साथमा लिएर जानुपर्ने छ । नेपाली कामदार पठाउनलाई नेपाल सरकार गम्भीर रहेको सन्देश दिनलाई प्रक्रिया अगाडि बढाएको गौतमले दाबी गरे ।

कोरियाले चारवटा शर्त राखेको मध्ये नेपालले २ वटा शर्त तयारी पूरा गरी बसेको गौतमले जानकारी दिए । कोरियाले अनुमति दिनसाथ कामदार पठाउन सुरु गरिहाल्ने उनको भनाइ छ । उनकाअनुसार सिधा उडान बीमा गर्न पनि कम्पनको छनौट गरिसकेको छ । शाखामा छ वटा बीमा कम्पनीले कोरिया जाने कामदारको विज्ञापन गर्न इच्छुक भएका छन् ।

कामदारले १४ दिनको बढीमा तीन हजार ५ सय रुपैयाँ तिर्नुपर्ने गौतमले जानकारी दिए । कोरिया बस्दा कोभिड पुष्टि भएमा पाँच हजार डलर बराबरको उपचार खर्च पाउने उनको भनाइ छ ।

शाखाका अनुसार कोरिया जान आठ हजार भन्दा बढी कामदार बाँकी छन् । 'कमिटेड' (पाँच वर्ष कोरिया भिसा अवधि सकी कम्पनीबाट लेबर कन्ट्रयाक लिएर आएकाहरू ) कामदार तीन हजार छन् । रेगुलर जान तयारी अवस्थामा करिब पाँच हजार र रोष्ट्रममा चार हजार रहेको गौतमले बताए ।

भाषा परीक्षा अनिश्‍चित बन्दै

दोस्रो लहरको कोभिड पुनः देखिएकाले भाषा परीक्षा रोकिएको गौतमले बताए । 'कोरियासँग परीक्षाको लागि वार्ता पनि भएको थियो,' उनले भने, 'पुनः कोभिड बढेकाले परीक्षा अनिश्चित जस्तै भएको छ । कोभिडको संक्रमण घटेपछि मात्र परीक्षा लिन सकिन्छ ।'

भाषा परीक्षा अनलाइन हुने गौतमले जानकारी दिए । अब भने परीक्षा गर्ने मोडल परिवर्तन गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । यसअघि भाषा परीक्षाका लागि सीभीटी र पीबीटी परीक्षा हुन्थ्यो ।

कोरिया गएर आएकालाई लिने परीक्षालाई सीभीटी परीक्षा भनिन्थ्यो । रेगुलर परीक्षार्थीलाई लिने परीक्षालाई पीबीटी भनिन्छ । अब भने दुवै परीक्षार्थीलाई कम्प्युटर विधिबाट सीभीटी परीक्षा लिन सक्ने उनले बताए । कोभिड महामारी सुरु भएपछि २०७६ फागुन अन्तिमदेखि नेपाली कामदार कोरिया जान पाएका छैनन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x