कार्गोमा सामान हैन शव कुरिरहेका ढुण्डीराजहरू
काठमाडौँ- त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुखान्त भन्दा वियोगान्तको बढी कथा भेटिन्छन् । जोडिनेभन्दा बढी छुटिनेहरूको लहर लामो हुन्छ । हासिरहेकाभन्दा आँसु पुछिरहेका अनुहार बढी भेटिन्छन् । त्यसैले भनिएको होला विमानस्थलमा 'मन दह्रो भएकाहरु मात्र जानु ।'
शिरमा ढाका टोपी, मुखमा मास्क, झोला भिरेका वृद्ध मलिन अनुहार बनाइ शनिबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि बसेका थिए ।
उनका आँखा विमानस्थलको कार्गो आउने ठूलो फलामको गेटतर्फ एकोहोरी रहेका थिए । सधै त्यो गह्रुङ्गो ढोका खोल्दैन । खुल्दा हेर्नेलाई पनि गह्रुङ्गो बनाउँछ । सुख खोज्न भनेर गएकाहरू यही ढोकाबाट सारा परिवार र आफन्तलाई दुःखमा पारेर फर्किरहेका हुन्छन् ।
कार्गोबाट सामान्तया सामान आउँछ तर ढुण्डी जस्ता गरिब बाबुले भने यही कार्गोमा छोराको शव पनि बुझ्छन् ।
यही दुःखको साक्षी बन्न पर्वतबाट एयरपोर्ट आइपुगेका थिए, ढुण्डीराज सिलवाल । मलेसियामा २४ वर्षीय छोराको निधन भएपछि शव लिन ढुण्डीराज सिलवाल पर्वतदेखि आएका हुन् ।
'लाहुरे बन्छु भन्थ्यो। देशभरको सैनिक भर्तीकेन्द्रमा गएर लाइन बस्यो तर, लाहुरे बन्न सकेन,' उनले भने,' देशमा नबस्ने हो भने बरु काम गर्न भारत जानु तर प्लेन चढेर जाने देश नजानु भनेको मानेन । यी आज सग्लो फर्कन पनि सकेन ।'
पर्वत बिहादी गाउँपालिका १का सुनिल सिलवाल तीन वर्ष अघि मलेसिया गएका थिए । १५ दिन अगाडि मात्र उनको मृत्यु भएको थियो । उनी दसैँमा घर आउने कुरा चलिरहेको थियो । दसैँ अघि नै सुनिल आए तर सेतो कफिनमा बेरिएर ।
बुबा ढुण्डीका अनुसार सुनिल कोठामा खाना खाएर आराम गरिरहेका थिए । अचानक पेटको देब्रे दुख्न थालेपछि उनी अस्पताल भर्ना भए । अस्पताल भर्ना भएको करिब तीन दिनपछि एपेन्डिक्सका कारण उनको मृत्यु भयो ।
ढुण्डीराजका सुनिल एक्ला छोरा थिए । दुई छोरी छन् । जेठी छोरीको बिहे भएको र कान्छी छोरी पढिरहेको उनले बताए । ढुण्डीराजलाई अहिले अरुभन्दा पनि सुनिलको आमालाई के भन्ने होला भन्ने पिर छ ।
' एउटै सहारा छोरा थियो, त्यो त रहेन ,' उनले भने,' अब उसको आमाको मनलाई कसरी बुझाउने होला ?'
काठमाडौँदेखि पर्वत २५० किलोमिटरको दूरीमा छ । १२ घण्टा मात्र मृतक छोराको शरीर उनले लिएर यात्रा गर्नेछन् । उनको साथमा सुनिल २ दशक बढी रहे तर, तीन वर्षका लागि छुटेका छोराले सदाका लागि लामो श्वास फेरे ।
कक्षा १२ मा पढदै गर्दा उनी विदेश गएका थिए । मध्यमवर्गीय परिवारमा हुर्केका सुनिल दुःखले हुर्केका थिए । घरमा परिवारले पाएको दु:ख देख्न नसकेर विदेश हान्निएका थिए । तर भयो ठीक उल्टो ।
सुनिलले मलेसिया जाँदा घरमा लागेको ऋण पनि तिरिसकेका थिएनन् । ऋणले थिचिएको समयमा छोराको मृत शरीरले ढुण्डीराजको मन र शरीरलाई गह्रुङो बनाएको छ ।
कोभिड-१९ को महामारीमा सुरु उनी भएपछि धेरै समय काम नगरी कोठामा बसेका थिए । पछिल्लो समय कोभिडविरुद्धको खोप लगाउन थालेपछि कम्पनीले बिस्तारै-बिस्तारै सबैलाई काम लगाउन थालेको थियो । सुनिल पनि सातामा तीन दिन काम गर्थे । मासिक १५-२० हजार रुपैयाँ तलब थाप्ने गरेका थिए ।
वैदेशिक रोजगार बोर्डका काउन्सिलर कृष्ण चौलागाईका अनुसार मेलेसियाबाट ८ शवसहित चौध 'अस्तु' ल्याइएको छ । साँझको हिमालय एयरलाइन्सको जहाजबाट एउटा शव आउदैछ । सुनसरी, सल्यान, काभ्रे, धादिङ, रुकुम, धनुषा, नुवाकोट र पर्वतका मानिसको शव ल्याइएको हो ।
मलेसियाबाट मात्र एक महिनामा करिब एक सय शव ल्याइएको उनले जानकरी दिए ।
'बोर्डले मृतकका परिवारले चाहेमा घरसम्म नि:शुल्क शव लगिदिने गरेको छ,' उनले भने, ' विदेशमा मृत्यु भई अस्तु परिवारलाई बुझाउने गरिएको छ । अस्तु परिवारले लाने गरेका छन् ।'
मेलेसियामा मृत्यु भएका छोराको अस्तु बोकी महोत्तरीका शियाराम महत्तो विमानस्थलबाट बाहिरीदै ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया