प्रवास

एनआरएनए युवा समिति उपाध्यक्षमा हिमाल गुरुङको उम्मेदवारी

इकागज |
भदौ ६, २०७८ आइतबार १२:३ बजे

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समिति उपाध्यक्ष युवा व्यवसायी हिमाल गुरुङले उम्मेदवारी दिएका छन् । करिब दुई दशकदेखि नेदरल्याण्डबाट विभिन्न व्यवसाय सञ्‍चानल गर्दै आएका गुरुङले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समितिमा बर्ष २०२१–२३ का लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनएको नेतृत्वमा युवा पुस्ता भन्ने नारासहित उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । लामो समय संघको अभियानमा आवद्ध गुरुङ नेदरल्याण्ड समितिको सदस्य हुँदै २०१५-१७ मा अध्यक्ष बनेका थिए ।


त्यस्तै २०१७–१९ मा एनआरएनए आइसिसी सदस्य हुदै उनले वर्तमान कार्यकाल २०१९-२१ मा युवा समितीको कोर्डिनेटर जस्तो महत्वपूर्ण पद सम्हालेका छन् । गुरुङले संघका हरेक समिति, गतिविधी र अभियानहरूलाई कुशलतापूर्वक नेतृत्व गर्दै आएका छन् ।

कास्कीस्थित पोखरा महानगरपालिका-२७ रिठ्ठेपानी घर भएका उनले उम्मेद्वारी घोषणापछि गैरआवासीय नेपालीहरूको भूमिका अझ फराकिलो भएको हुनाले देशप्रति आफ्नो जिम्मेवारी र दायित्व बढेको प्रतिकृया दिए ।

हरेक विपदका साथै समस्या परेका बेला देश तथा विदेशमा रहेका नेपालीहरूलाई बिभिन्न रूपमा सहयोगसमेत गर्दै आएका उनले आफूले बोलेको कुरा पूरा गरेर देखाउने बताए । आफ्नो उम्मेदवारीले विश्वर छरिएर रहेका नेपाली युवाहरूमा उत्साह जगाएको भन्दै गुरुङले युवा एकता आजको आवश्यकता रहेको समेत बताएका छन् ।

गुरुङ संघको संस्थागत विकासमा परिपक्वता भएका अभियान्ताका रूपमा परिचित छन् । विश्‍वभर फैलिएको एनआरएनएको संस्थागत बिकास र संस्थाको मर्मसंगै भावना अनुरुप एकता आवश्यक रहेको भन्दै उनले आफ्नो कार्यकालमा युवा एवं दोस्रो पुस्तालाई नेपालप्रति समिप्यता, जिम्मेवारी र दायित्व बहन गर्दै अगाडि बढाउन जोड दिने बताए ।

उनले नेपालको समृद्धि र विकासमा सामुहिक लगानी र पर्यटन प्रर्वद्धनमा जोड दिदै नेपाल सरकारसँग समन्वय गर्ने र स्वदेशमा लगानीको वातावरण सृजना गर्न भूमिका खेल्ने समेत प्रतिवद्धता व्यक्त गरे । विभिन्‍न देशहरूमा नेपालीले भोग्‍नुपरेको समस्यालाई समाधान गर्न नीतिगत पहलकदमी समेत लिने उनले बताए ।


Author

थप समाचार
x