प्रवास

युएईका नेपालीले लगाए कोभिड–१९ विरुध्दको खोप

इकागज |
माघ ४, २०७७ आइतवार १०:७ बजे

काठमाडौँ : युनाइटेड अरब इमिरेट्स (युएई)को अबुधावी विमानस्थलमा कार्यरत नेपाली नागरिकको एउटा समूहले कोभिड–१९ विरुद्धको खोप लगाएको छ । युएई सरकारले शनिबार उनीहरूलाई निशुल्क खोप उपलब्ध गराएको हो ।

खोप लगाएपछि यो समूहका सदस्यले इकाजलाई म्यसेज पठाए । उनले भनेका छन्,‘हामीले त हिजो साइनो फर्मा कम्पनीको चिनियाँ खोप लगाइयो, अन्यले पनि लगाउँदैछन ।’


कतार, साउदी अरब, कुवेतमा भने नेपालीले फाइजर र मोर्डना लगाइरहेको जानकारी आएको पनि उनीहरूले बताए । इकागजका टिप्पणीकार सन्तोष खडेरीका अनुसार खोप लगाउने काम खाडी क्षेत्रमा तिव्र रुपमा अघि बढेको देखिन्छ । उनीले पनि खोप लगाइसकेको जानकारी दिँदै भने,‘फ्रन्टलाइनरहरू (कोभिड–१९ विरुद्धको लडाईमा अघि पर्ने र जेष्ठ नागरिकहरुले यो खोप लाइरहेका छन्, अनि दुई तीनपटक नै कोभिड देखिएका र लगातार विरामीपरेको अस्पताल रेकर्डमा भएकालाई बोलाएर नै खोप लगाइएको छ ।’

यूएईमा १५ लाख भन्दा बढिले खोप लगाइसकेको उनले बताए । त्यसका केही सय नेपाली पनि परेको उनले बताए । विमानस्थलमा काम गर्ने, सुरक्षा गार्डमा काम गर्ने, स्वास्थ्य क्षेत्रमा काम गर्ने, सफाइमा काम गर्ने लगायतहरुलाई फ्रन्टलाइनरको रुपमा हेरिने हुनाले त्यही अनुरुपको प्राथमिकतामा परेका हुन्छन ।

खाडी क्षेत्रमा कार्यरत झण्डै १० लाख नेपालीले कोभिड–१९ विरुध्दको भ्याक्सिन (खोप) लगाउने छन् । कतिपय प्राथमिकतामा परेकाहरूले लगातार खोप लगाइ रहेका छन् । दुई डोज लगाउनु पर्ने हुनाले एक पटक खोप लगाएको तीन सातामा अर्को खोप लगाउने पनि उनीहरुले जानकारी दिएका छन् ।

खोप लगाएकालाई ‘खोप–कार्ड’ समेत दिन थालिएको छ । उनीहरू खाडीको एक अर्को मुलुकमा जाँदा राहदानीसँगै त्यो कार्ड बोक्नुपर्ने हुन्छ । जसले गर्दा आउँजाँउमा समेत सहजता हुनेछ ।

साउदी अरब, कतार, युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, ओमान र कुवेतमा खोप लगाउन थालेको तीन साता पनि कटिसकेको छ । ति क्षेत्रका राजदूतहरूका अनुसार, ती मुलुकमा पहिले फ्रन्टलाइनरहरू (स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उध्दारकर्मी) त्यसपछि ७० वर्षमाथिका, अनि ६८ वर्षमाथि, त्यसपछि ६५ वर्षमाथि गर्दै सबैमा त्यो खोप पु¥याउने तयारी छ  ।

ती सबै मुलुकमा पहिलो चरणमा जेष्ठ नागरिक, विरामी र स्वास्थ्यकर्मीलाई खोप दिने र अन्यलाई विस्तारै दिँदै जाने भनिएको छ । प्राथमिकता तय गरेर त्यसैका आधारमा स्वदेशी र विदेशी नभनिकन खोप दिइरहेको खाडी क्षेत्रका राजदूतहरूले इकागजलाई बताए ।

साउदी अरबका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्र पी. सिंह, कतारका नारदनाथ भारद्वाज,कुवेतका दुर्गाप्रसाद भण्डारी, ओमनका शर्मिला पराजुली ढकालले खोपको प्रक्रिया तिव्र रहेको बताए । कतारका राजदूत भारद्वाज स्वयंले खोप लगाईसकेका छन । साउदीका सिंहले पनि खोप लगाउने बताइसकेका छन ।

कतिपय नेपालीहरूले छिटो खोप लगाउन आफूले काम गरेको कम्पनीलाई समेत आग्रह गरिरहेका छन् । सबै मुलुकले विभिन्न स्थानमा खोप केन्द्र खोलेर र  एप्समार्फत् आवेदन लिएर खोप दिन थालेका छन् । उनीहरू पहिलो, दोस्रो चरण पार गरेर तेस्रो चरणमा खोप दिने काम गरिरहेका छन् । खोप लगाएका नेपालीहरू यहाँ सोध्दैछन,‘हामीले त खोप लियौं नेपाल सरकारले के गर्दैछन् हाम्रा परिवारको लागि खोप लगाउन ?’


Author

थप समाचार
x