प्रवास

विश्वमा दुई वटा पातहरू एक समान छैनन् : चिनियाँ राष्ट्रपति सी

अजय अलौकिक |
माघ १३, २०७७ मंगलबार १३:३१ बजे

बेइजिङ : हाल विश्व अर्थतन्त्र मञ्च डाभोस एजेन्डा वार्तामा ७० भन्दा बढी देश तथा क्षेत्रका १५०० भन्दा बढी नेतागणले विभिन्न पक्षबीच विश्वासको पुनर्निर्माण शीर्षकको मुख्य विषयवस्तुमा विश्लेषण तथा छलफल गर्दै छन् । यसै बीच चीनका राष्ट्रपति सी चिनफिङले जनवरी २५ तारिख उक्त विश्व अर्थतन्त्र मञ्च डाभोस एजेन्डा वार्तालाई भिडियोमार्फत् सम्बोधन गरेका छन् ।

राष्ट्रपति सीले सम्बोधनको प्रारम्भमा पछिल्लो वर्ष कोभिड-१९ को अचानक प्रहारले विश्वव्यापी सार्वजनिक स्वास्थ्यले गम्भिर जोखिमको सामना गर्नुपरेको अवस्थासँगै विश्व अर्थव्यवस्था गहिरो मन्दीमा डुबेको चर्चा गर्दै यस्तो घटना मानव इतिहासमा नै विरलै देखिएको बताए । साथै उनले विज्ञान, तर्क र मानवीय भावनाद्वारा निर्देशीत संसारले कोभिड-१९ विरूद्धको लडाइँमा प्रारम्भिक उपलब्धि हासिल गरेको पनि औंल्याए ।


हाल महामारीविरूद्धको प्रतिकार जारी रहेको बताउँदै मानवले भाइरसमाथि विजय पाउनेमा कुनै शंका नभएको पनि दावी गरे । उनले भने, हामी विश्वस्त छौं जाडोले वसन्तको आगमन रोक्न सक्दैन र रातले कहिल्यै बिहानको घाम रोक्न सक्दैन । मानवजातिले अवश्य नै महामारीलाई जितेर यस प्रकोपविरूद्धको लडाइँमा प्रगति गरी पुनर्जन्म प्राप्त गर्ने छ ।

आफ्नो सम्बोधनमा विश्वमा ठ्याक्कै मिल्ने समान पात नहुने र पूर्ण समान ऐतिहासिक संस्कृति तथा सामाजिक व्यवस्था पनि नहुने पनि राष्ट्रपति सीले औंल्याए । उनले भने, विश्वमा दुईवटा पातहरू एक समान छैनन् र कुनै इतिहास, संस्कृति वा सामाजिक व्यवस्था एक समान छैन । प्रत्येक देशको आआफ्नो इतिहास, संस्कृति र सामाजिक व्यवस्था अद्वितीय छ र कुनै अर्को भन्दा महान छैन । उनले थपे, उत्तम मापदण्ड भनेको त्यो हो जुन देशको इतिहास, संस्कृति र सामाजिक व्यवस्थाको विशिष्ट अवस्थासँग अनुकुल छ र जनताको समर्थन, राजनीतिक स्थिरता, सामाजिक प्रगति, जनजीवनको सुधार र मानव प्रगति तथा विकासमा योगदान गर्छ ।

राष्ट्रपति सीका अनुसार, भिन्नता या फरकपन नभएमा मानव सभ्यता हुँदैन । साथै यो भिन्नता डरलाग्दो पनि छैन । डरलाग्दो कुरा घमण्ड, पूर्वाग्रह तथा घृणा हो र मानवको सभ्यतालाई विभिन्न तहमा विभाजन गर्नु हो । आफ्नो इतिहास, संस्कृति र सामाजिक व्यवस्थाबाट अरूलाई बाध्य पार्ने प्रयास हो । आपसी सम्मानमा आधारित शान्तिपूर्ण सहअस्तित्वको आधारमा विभिन्न देशले शान्तिपूर्ण सहअस्तित्वको निर्माण गर्दै आपसी आदानप्रदान तथा आपसी शिक्षा र सिकाइलाई बढावा दिँदै मानव सभ्यताको विकास तथा प्रगतिमा शक्ति थप्‍नुपर्छ ।

मानवजाति सामु देखा परेका सबै विश्वव्यापी समस्याहरूलाई कुनै पनि मुलुकले एक्लै समाधान गर्न सक्दैन र यसको प्रतिकार विश्व एकजुट भएर सहज रूपमा गर्न सकिन्छ । सीले अन्तर्राष्ट्रिय समाजले दीर्घकालीन दृष्टिबाट वचनबद्धतालाई व्यवहारमा उतार्दै विकासोन्मुख मुलुकका लागि आवश्यक समर्थन र विकासोन्मुख मुलुकको उचित विकास अधिकारलाई प्रत्याभूति दिन जोड दिँदै अन्तर्राष्ट्रिय क्षेत्रमा सानो चक्र बनाउनु वा शीत युद्ध गरेर अरूलाई पन्छाउने वा धम्की दिने लगायत कृत्रिम बाधा वा नियन्त्रणले विश्वलाई पृथक वा प्रतिद्वन्द्वको अवस्थामा ल्याउने पनि बताए ।

उनले बहुपक्षीयवादको समर्थन गर्दै इतिहास र वास्तविकतालाई हेरेर वर्तमान संसारमा प्रतिद्वन्द्वको बाटो हिँड्ने हो भने शीत युद्ध, ताप युद्ध वा व्यापार युद्ध, विज्ञान युद्धले अन्त्यमा विभिन्न राष्ट्रको हितमा हानी पुर्‍याउने पनि औंल्याए ।

२१औँ शताब्दीको बहुपक्षीयवादको सही बाटोको अक्षरशःपालना गर्दै विज्ञान तथा प्रविधिको विकास तथा उपलब्धिबाट सम्पूर्ण मानवजाति लाभान्वित हुनुपर्ने बताउँदै मानव जातिको एउटै पृथ्वी र एउटा मात्रै साझा भविष्य रहेकोले बहुपक्षीयताको ज्योतिले अगाडिको बाटोलाई उज्यालो पारेर हातमा हात मिलाएर मानव भाग्य समुदायको निर्माणतिर लाग्नु नै आजको टड्कारो आवश्यकता रहेको पनि राष्ट्रपति सीले आफ्नो सम्बोधनको क्रममा व्यक्त गरे ।

राष्ट्रपति सीले बहुपक्षीयतावादको समर्थनसँगै विश्वका साना, ठूला, विकसित, विकासोन्मुख देश सबैसँग विविधतासँगै आआफ्नो गरिमा रहेको उल्लेख गर्दै विश्वमा विज्ञान तथा प्रविधिले ल्याएको उपलब्धिहरूको समान हक र अधिकार रहेको औंल्याएका छन् ।

यसबाहेक, चार वर्षअघि राष्ट्रपति सीले पहिलोपटक उक्त मञ्चको वार्षिक बैठकमा अर्थतन्त्रको विश्वव्यापीकरणबारे चीनको धारणा र अडान व्याख्या गरेका थिए । त्यस बेलाको चिनियाँ राष्ट्रपतिको सम्बोधन पनि आजसम्म चर्चा हुने गरेको छ ।


Author

थप समाचार
x