प्रवास

नेपाललाई कोभिड खोप सहयोग गर्नेबारे एनआरएनए मौन

अनिल अधिकारी |
फागुन ३, २०७७ सोमबार ११:१९ बजे

अमेरिका : एक पटकको नेपाली सँधैको नेपाली मूल नाराका साथ स्थापित गैरआवासीय नेपाली संघ यति बेला जन्मभूमि नेपालप्रतिको दायित्व बोधमा मौन देखिएको छ । बिभिन्‍न शीर्षकमा सहयोगको नारा घन्काई रहने एनआरएनए, नेपालले कोरोना खोप सहयोग याचना गरिरहेको परिप्रेक्ष्यमा भने टुलुटुलु हेरिरहेको देखिन्‍छ । 

भारतबाट प्राप्त खोपले काम चलाइरहेको नेपालले चीनबाट आउने खोपको पनि आश गरिरहेको छ । विश्वभर छाता संगठन रहेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् खोप किन्‍न आर्थिक सहयोग गर्ने या भण्डारणका लागि सहयोग गर्ने भन्‍ने बिषयमा अहिलेसम्म बोलेको छैन् ।


अर्को तर्फ सरकारी वेभसाइडमै सहयोगको याचना गरिरहेको नेपाल सरकारलाई आर्थिक सहयोग गर्ने बिषयमा समेत यो संस्थाले कुनै आधिकारिक निर्णय गरेको पाइदैन् । बिभिन्‍न बिषयमा छलफल तथा बहसहरु चलाइरहेको बताउने एनआरएनए पदाधिकारीहरु समेत कोरोना खोप सहयोगका बारेमा मौन छन् । 

एनआरएनए आईसीसी अध्यक्षका प्रत्यासी कुल आचार्यले जिम्मेवार संस्थाले मुलुकप्रतिको जिम्मेवारी बोध गर्न समयमै आधिकारिक निर्णय गरेर जानुपर्ने बताए । इकाजसँग कुराकानी गर्दै आचार्यले भने 'कोरोना खोप उपलब्ध गराउने बिषयमा सरकारसँग सहकार्य गरेर तत्कालै एक्सनमा जानुपर्ने पर्दछ ।' 

एनआरएनए आईसीसी सचिव गौरी जोशीले अहिले एक व्यक्ति एक परिवार सहयोग गर्ने गरी छलफलहरु भईरहेको जानकारी दिए । उनले भने 'संस्थाभित्र छलफल तथा बहसहरू भइरहेको बताए, संस्था चुप छ त भन्‍ने प्रश्नमा जोशीले भने हामी चुप छैनौं, हामी छिट्टै एउटा निर्णयमा पुग्छौं ।' जोशीले सरकारसँग छलफल गर्नका लागि संस्थाका सल्लाहकारलगायतका पदाधिकारी  नेपालमै रहेको उनले जानकारी दिए । 

एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष डाक्टर केशव पौडेलले एनआरएनएले सहयोग गरोस भन्‍ने बिषयमा नेपाल सरकार स्पष्ट नभएको धारणा राखे । 'सहयोग गर्ने बिषयमा हामी सकारात्मक छौँ, छलफल पनि भएका छन्, अहिले एनआरएनका साथीहरु पनि नेपालमा हुनुहुन्‍छ तर आर्थिक सहयोग दिँदा सम्वन्धित पक्षसंग पुग्दैन कि भन्‍ने बिषयमा पनि हामी सचेत छौँ,' पौडेलले भने ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले आईसीसीको निर्णयपछि मात्रै शाखाहरु बोल्न मिल्ने बताए । उनले अमेरिका रहेका कम्पनीहरुसँग छलफल गर्न, समवन्य या अन्य आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको बताए ।

अन्र्तराष्ट्रिय समन्वय समितिका अध्यक्षमा कुमार पन्तले नेपाललाई कोरोनाको भ्याक्सिन उपलब्ध गराउने बिषयमा आधिकारिक धारणा राखेका छैनन् । विश्वभर छाता संगठन भएको एनआरएनएले आर्थिक सहयोगका लागि तयार भएमा नेपालमा दशौं लाख भ्याक्सिन उपलब्ध गराउन मद्धत पुग्‍नेछ ।


Author

थप समाचार
x