प्रवास

कोरोना महामारीबीच अन्तर्राष्ट्रिय आयात एक्स्पो आयोजना गर्दै चीन

नेपालको पनि सहभागिता

अजय अलौकिक |
कात्तिक १८, २०७७ मंगलबार ७:१९ बजे

बेइजिङ : विश्वकै एक आर्थिक सहरको परिचय बनाएको साङहाई सहरमा तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो यही नभेम्बर ५ देखि आयोजना हुँदैछ । यो अन्तर्राष्ट्रिय आयात एक्स्पो विश्वकै पहिलो आयात सम्बन्धी एक्स्पो पनि हो । साथै यो आयात एक्स्पोले वर्तमान कोरोना महामारीको कहरबीच विश्व अर्थव्यवस्थामा आशा र विश्वास पनि थप्ने छ ।

यस बाहेक हाल विश्व अर्थतन्त्र सामु एकपक्षीयतावाद र व्यापार संरक्षणवाद पूर्वानुमानभन्दा गम्भीर बन्दैगएको देखिन्छ । तर चीनले खुलापनप्रतिको दृढता अभिव्यक्त गर्दै आयात आधारित आयात मेलाको आयोजना गर्दैआएको छ । यो मेलाले घरेलु मात्रै नभइ विदेशी उद्यमीहरूलाई अवसरहरू उपलब्ध गराउँदैआएको छ । यसै एक्स्पोमा कोरोना कहरबीच पनि नेपालको सहभागिता रहेको छ । यस पटक मात्र ७ वटा नेपाली कम्पनीको सहभागिता रहेको छ ।


ईन्टरनेशनल ट्रेड एण्ड एक्जिविसन नेपालका प्रबन्ध निर्देशक प्रेम सङ्ग्रौलाले थाङ्का, पस्मिना र धातु मूर्तिका कारोबार गर्ने ७ वटा नेपाली कम्पनीहरूको सहभागिता रहेको बताए । उनको संस्थामातहत नेपाली टोलीले यहाँ सहभागिता जनाएका हुन् । काठमाण्डुबाट कुनै नेपाली व्यापारी टोली छङ्तु र कुनै क्वाङचौमा पुगेर १४ दिनको क्वारेन्टाइनपछि साङहाई पुगिसकेका छन् । हाल नेपाली टोली सदस्य स्टल सजावटमा व्यस्त छन् । नोभेम्बर १ र २ स्टल सजावटलाई छुट्टयाइएको छ र ५ बाट औपचारिक रूपमा मेला सुरू हुने छ ।

यस पटक महामारीका कारण १४ दिने क्वारेन्टाइन र हवाइ टिकट महँगो भए तापनि बलियो चीनको अर्थतन्त्र र धेरै नेपाली व्यापारीको सहभागिता नभएका कारण नेपाली व्यापारीले राम्रै फाइदा लिनसक्ने आशा सङ्ग्रौलाको छ । उनले भने, '१४ दिनको क्वारेन्टाइन, होटल बसाइ र हवाइ भाडा चौब्बर महँगो भएता पनि नेपालीबीच उच्च प्रतिस्पर्धा हुन्न त्यसकारण फाइदा हुन्छ भन्ने लागेको छ । नेपालीको उत्पादन वस्तु सिमित छ, त्यही पाँच, छ वटा हो, त्यसकारण यहाँ यस पटक प्रतिस्पर्धा हुँदैन र अर्को कुरा चीनको अर्थतन्त्र बलियो भइसकेको छ, त्यसकारण अलि ढुक्क छु ।'

अघिल्ला संस्करणहरूमा नेपालको तर्फबाट व्यापार प्रवर्द्धन तथा निकासी प्रवर्द्धन केन्द्रको संयोजनमा पर्यटन बोर्ड, लगानी बोर्डका साथै निजी क्षेत्रका उद्यमी व्यवसायीको सहभागिता रहने गर्दथ्यो । बेइजिङस्थित नेपाली दूतावासका अनुसार चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डे, ईकोनोमिक मिनिस्टर छविन्द्र पराजुली पनि सो एक्स्पोमा सहभागी हुने छन् ।

यसैबीच यस एक्स्पो ब्यूरोका उप-महानिर्देशक सुन छङहाइले महामारीको बावजुद एक्स्पोको तेस्रो संस्करणका लागि अग्रणी कम्पनीहरूको सक्रिय सहभागिता रहेको बताएका छन् । विश्व फोर्च्युन ५०० कम्पनीमा सूचीबद्ध ७० प्रतिशत कम्पनीका साथै विश्व बजारमा स्थापित कम्पनीहरूले निरन्तर रूपमा अर्को तीन वर्षका लागि भाग लिन हस्ताक्षर गरिसकेको बताउँदै उप-महानिर्देशक छङहाइले यस पटक अरू धेरै नयाँ विख्यात कम्पनीको पनि सहभागिता रहने बताएका छन् ।

एक्स्पोको कुल प्रदर्शनी क्षेत्र ३०,००० वर्ग मिटर रहेको छ र खाद्य तथा कृषि उत्पादन, अटोमोबाइल्स, उपकारण, उपभोक्ता सामान, स्वास्थ्य वा र सेवा गरी छ वटा भागमा प्रदर्शन कक्षको निर्माण गरिएको छ । चीनभरिका मात्र १ लाख १२ हजार कम्पनीको सहभागिता रहने यस एक्स्पोमा दर्ता भएका व्यवसायिक खरिदारको संख्या ४ लाख छ । तर महामारीको नियन्त्रणका लागि विदेशबाट आएका आगन्तुकहरूले १४ दिनको क्वारेन्टाइन बस्नुपर्ने नियम छ । साथै, यस वर्ष अघिल्ला एक्स्पोमा जसरी सर्वसाधारणका लागि विस्तारित प्रदर्शनको आयोजना नगरिने जनाइएको छ ।

साङहाईका उपमेयर छन यिनले सहरले महामारी नियन्त्रणलाई ठूलो महत्व दिएको र कोरोना महामारीबीच एक्स्पोको सुरक्षा सुनिश्चितताका लागि विभिन्न सुरक्षात्मक उपायहरू अवलम्बन गरिएको बताए । उनले भने, 'महामारी नियन्त्रण तथा रोकथामका लागि २३ वटा विशेष कार्यक्रमको तयारी छ ।' ६ वटा आकस्मिक प्रतिक्रिया योजना र १३ वटा प्राविधिक कार्यविधि र नियमहरू छन् । साथै एक्स्पोमा सहभागी हुने सबैले कोभिड-१९ को परीक्षण, नियमित शरीरको तापक्रम जाँच र स्वास्थ्य कोड देखाउनुपर्ने छ । एक्स्पो स्थलमा ५ वटा चिकित्सा केन्द्र र २५ वटा अस्थायी शिविरको स्थापनासँगै ४०० जना स्वास्थ्यकर्मीलाई खटाउने भएका छन् । एक्स्पो नोभेम्बर ५ देखि १० तारिखसम्म चल्ने छ ।
 


Author

थप समाचार
x