प्रवास

चीनका दुई अधिवेशन सुरू, दुई अधिवेशन भनेको के हो ?

अजय अलौकिक |
फागुन २१, २०७७ शुक्रबार ११:१५ बजे

फाइल तस्बिर : न्युज डट सिएन

बेइजिङ : चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन तेह्रौँ राष्ट्रिय समितिको चौथो अधिवेशन मार्च ४ बाट चीनको राजधानी बेइजिङमा सुरू भएको छ । साथसाथै तेह्रौँ चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको चौथो अधिवेशन शुक्रबार मार्च ५ देखि आरम्भ हुँदैछ । यी दुई महत्त्वपूर्ण अधिवेशनलाई मूलतः एकै समयमा आयोजना हुने तथा लामो नामका कारण ‘ल्याङ हुई’ अर्थात् दुई अधिवेशन मात्र भन्‍ने पनि गरिन्‍छ । 

यी दुई अधिवेशनले चीनको वार्षिक कार्य प्रतिवेदन समीक्षा, आर्थिक तथा सामाजिक विकासको वार्षिक योजनाको समीक्षा तथा केन्द्रीय र स्थानीय बजेटको समीक्षा र सुनवाइ गर्ने गर्दछ । साथै नयाँ वर्षका लागि वार्षिक कार्ययोजना, नीति नियम तथा बजेट पारित गरिन्‍छ ।


दोस्रो आर्थिक शक्ति तथा पछिल्लो समय विश्व परिदृश्यमा प्रभावकारी भूमिका खेल्दै आएको चीनको वार्षिक अधिवेशनमार्फत गरिने नीतिगत समीक्षा, नीति परिमार्जन तथा नयाँ नीति पारित तथा लागू गरिने र सामरिक तथा वैदेशिक, कूटनैतिक विषय र आर्थिक क्षेत्रमा हुने बनाइने योजना र लक्ष्यले विश्‍वभरि स्वभाविक रूपमा प्रत्यक्ष, परोक्ष प्रभाव पार्ने गर्दछ । यसै कारण यी दुई चिनियाँ अधिवेशनले विश्‍वको नै ध्यान आकृष्ट गर्दैआएको छ । 

यस पटकको अधिवेशनले चीनको चौधौँ २०२१-२०२५ पञ्चवर्षीय योजनाको नीति नियम पनि तर्जुमा गर्ने छ । गत वर्ष पूर्ण रूपमा गरिबीमुक्त भइ चीनले चौतर्फी रुपमा सम्पन्‍न समाजको निर्माणलाई पूरा गरेपछि शक्तिशाली आधुनिक समाजवादी मुलुकको निर्माणमा अग्रसर हुने भएकोले यो अधिवशेन अझै महत्त्वपूर्ण बनेको छ । सम्पन्‍न समाजको निर्माणपछि चौधौँ पञ्‍च वर्षीय योजना पूर्ण रुपमा शक्तिशाली आधुनिक समाजवादी मुलुकको निर्माणकालागि चीनको नयाँ यात्राको आरम्भ र दोस्रो शताब्दी लक्ष्यतिर अघि बढ्ने पहिलो ५ वर्ष हुनेछ ।

यस पटकको अधिवेशनमा पञ्च वर्षीय योजनाबाहेक कोरोनाभाइरस (कोभिड-१९) को पूर्ण नियन्त्रण तथा खोपको विकास, छिमेक तथा परराष्ट्र नीति, अन्तरिक्ष अन्वेषण तथा विकास, नवप्रविधिको अनुसन्धान तथा विकास, डिजिटल क्षेत्रको विकास तथा डिजिटल करेन्सीको प्रयोग, आर्थिक क्षेत्रको सुदृढ र स्थीर विकासका लागि ल्याउने नीति तथा गुणस्तरीय उत्पादनमा जोड र समृद्ध सम्पन्‍न समाजको निर्माणका लक्ष्य लगायतका विषयहरूलाई विशेष महत्त्व दिने देखिन्‍छ ।

यसै गरी चीनको सामरिक नीति तथा सैन्य बजेटतर्फ चीनको योजना र लक्ष्य जान्‍न पनि यी दुई अधिवेशन महत्वपूर्ण झ्याल हुन् । यस पटकको अधिवशेनले आर्थिक वृद्धि दर लक्ष्य तोक्ने छ या छैन भन्‍ने पनि विश्वले ध्यान दिने अर्को विषय रहने छ । यद्यपि चीनले गत वर्ष कोरोना महामारीका कारण आर्थिक वृद्धि दर लक्ष्य निर्धारण गरेको थिएन । कोरोनाभाइरस महामारी विश्‍वव्यापी रूपमा फैलिरहेको तथा विश्‍व अर्थतन्त्रमा गम्भीर मन्दी छाएको पृष्ठभूमिमा भएका यी अधिवेशन छोटो, छरितो त रह्यो नै चीनको संसदमा प्रधानमन्त्रीले आर्थिक वृध्दि दर प्रस्तुत नगरेको पनि पहिलो पटक थियो ।

यस वर्ष चिनियाँ अर्थतन्त्रको वृद्धि दर ८ प्रतिशत पुग्‍ने विभिन्‍न आर्थिक सम्बन्धित् अनुसन्धान संस्थाले अनुमान गरेका छन् ।

यस वर्ष चिनियाँ अर्थतन्त्रको वृद्धि दर ८ प्रतिशत पुग्‍ने विभिन्‍न आर्थिक सम्बन्धित् अनुसन्धान संस्थाले अनुमान गरेका छन् । साथै गत वर्ष प्रमुख आर्थिक शक्ति राष्ट्रमध्ये चीनको मात्र आर्थिक वृद्धि दर सकारात्मक रहेको थियो । चीनको आर्थिक लक्ष्य जान्‍न पनि यही दुई अधिवेशनलाई ध्यान दिनुपर्ने हुन्‍छ ।

त्यसबाहेक यस वर्ष पहिलो शताब्दी लक्ष्य यानि कि चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकी हो । दोस्रो शताब्दी लक्ष्य अबको १५ वर्षमा आधुनिक समाजवादी शक्तिशाली राष्ट्रको निर्माण रहेको छ जुन चौधौँ पञ्चवर्षीय योजनाले स्पष्ट दिशा दिने नै छ । जनता सर्वोपरी र जनतालाई प्राथमिकताको नारासहित जनतामा समर्पित पार्टीको सयौं वार्षिकोत्सवमा त्यस अनुरूप समस्त चिनियाँ जनतालाई समेट्ने नीति नियम चीनले चाल्ने छ ।

भ्रष्टाचार नियन्त्रण, कानुन कार्यान्वयनको निष्पक्षता, सामाजिक सुरक्षाको सुनिश्चितता, रोजगार, शैक्षिक सुधार, खाद्य तथा औषधिको सुरक्षा, यातायात, इन्टर्नेटको पहुँच जस्ता विषय यसै गरी प्रदूषण समस्या, वातावरण संरक्षण, जलवायु परिवर्तन, नव ऊर्जा, बिआरआई सम्बन्धमा पनि यी अधिवेशनमा विचार विमर्श तथा नीति नियम निर्माण तथा अनुमोदन हुने छन् । यस्ता विषयमा चाल्ने कदम तथा पारित गरिने नीति तथा कार्यक्रमले विश्वलाई पनि प्रत्यक्ष-अप्रत्यक्ष रुपमा असर पार्ने छ । जसकारण अबको एक हप्ता विश्वको ध्यान बेइजिङमा केन्द्रीत हुने छ ।

हरेक वर्षको मार्चको पहिलो साताबाट आयोजना हुँदैआइरहेका यी दुई अधिवेशन गत वर्ष (सन् २०२० मा) २० वर्षयता पहिलो पटक दुई महिनापछि मै २१ र मै २२ बाट आयोजना भएको थियो । सन् १९९८ यता यी दुई अधिवेशनको आयोजनाको मिति मात्रै परिवर्तन भएको थिएन अधिवेशनको अवधि पनि छोट्याइएको थियो । कोभिड-१९ महामारीको प्रतिरोध र नियन्त्रणको पृष्ठभूमिमा दुई अधिवेशन मै २१ बाट शुरू भइ मै २८ मा ८ दिनभित्र सम्पन्‍न भएका थिए । कतिपय बैठक, कार्यक्रम तथा पत्रकार सम्मेलनहरू इन्टरनेट तथा भिडियोमार्फत आयोजना गरिएको थियो । जुन अधिवेशनको इतिहासमै पहिलो पटक थियो ।

दुई अधिवेशनको परिचय 
यी दुई अधिवेशनमध्ये एउटा भनेको चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन अर्थात् चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिसिसी) हो । यो राजनीतिक परामर्श गर्ने महत्वपूर्ण संस्था हो। यसमा  देशका कलाकार, खेलाडी विभिन्‍न पेशाका मानिसहरूदेखि विभिन्‍न निकाय र विविध पार्टीको सहभागिता हुने गर्दछ । दुई हजार बढीको संख्यामा रहेका सदस्यहरूले यावत विषयमा छलफल तथा परामर्श गर्छन् । 

यो चीनको राजनीतिक प्रणालीमा समाजवादी प्रजातन्त्रको विकास गर्ने एउटा महत्वपूर्ण अङ्ग हो । चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनमा राष्ट्रिय सम्मेलनका साथै विभिन्‍न स्थानीय समितिहरु समेत रहेका छन् । हरेक वर्षमा एक पटक पूर्ण बैठकको आयोजना गरिन्‍छ । चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको मुख्य कार्यभार राजनीतिक परामर्श र अनुगमन तथा कार्यनीति एवम राजनीतिमा सहभागी भई विचारविमर्श गर्नु तथा प्रस्ताव प्रस्तुत गर्नु हो । 

यस चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन नयाँ चीन स्थापना हुनुअघि चिनियाँ कम्युनिस्ट पार्टी र अन्य विभिन्‍न प्रजातान्त्रिक पार्टीहरु तथा स्वतन्त्र व्यक्तिहरु र विभिन्‍न जन सङ्गठनहरु मिलेर सँयुक्त रुपमा स्थापना गरिएको हो । नयाँ चीन स्थापनापछि सन् १९४९ को सेप्टम्बरमा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो पूर्ण बैठक बेइजिङमा आयोजना गरिएको थियो । सोही बैठकले जन गणतन्त्र चीन स्थापनाको घोषणा गरेको थियो । साथै माओ च तोङ अध्यक्ष रहेको केन्द्रीय जन सरकार र राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो राष्ट्रिय समितिको पनि निर्वाचन गरिएको थियो । 

चीनको राष्ट्रिय जन-काङ्ग्रेस राज्य-सत्ताको सर्वोच्च निकाय हो । यो चीनको मूलभूत राजनीतिक व्यवस्था हो । चीनको संविधानमा राष्ट्रिय जन काङ्ग्रेसलाई देशको सर्वोच्च आधिकारिक संस्थाको रुपमा स्थापना गरिएको छ ।

चीनको राजधानी, राष्ट्रिय झण्डा, रेनमिनबीको स्वरूपमा राष्ट्रिय मुद्रा र इस्वी संवत्को प्रयोग सम्बन्धी निर्णय समेत सोही बैठकले गरेको थियो । सन् १९५४ मा चीनको राष्ट्रिय जन काङ्ग्रेस स्थापना भएपछि सर्वोच्च राष्ट्रिय अधिकारबाट विमुख भएको थियो। तापनि यसले एकिकृत मोर्चाको रुपमा राजनीतिक परामर्श गर्ने महत्वपूर्ण संस्थाको परिचय बनाएको छ । 

यसै गरी अर्को भनेको चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस अर्थात् नेशनल पिपल्स काङ्ग्रेस (एनपिसी) हो । जनताले राज्य-सत्ताको संचालन गर्ने अंग राष्ट्रिय जन- काङ्ग्रेस हो तथा विभिन्‍न तहका स्थानीय जन-काङ्ग्रेसहरु हुन् । राष्ट्रिय जन-काङ्ग्रेस तथा विभिन्‍न तहका स्थानीय जन-काङ्ग्रेसको मनोनयन प्रजातान्त्रिक निर्वाचनका माध्यमबाट गरिन्‍छ । तिनीहरु जनताप्रति उत्तरदायी हुन्‍छन् र तिनको जनताद्वारा अनुगमन गरिन्‍छ । 

चीनको राष्ट्रिय जन-काङ्ग्रेस राज्य-सत्ताको सर्वोच्च निकाय हो । यो चीनको मूलभूत राजनीतिक व्यवस्था हो । चीनको संविधानमा राष्ट्रिय जन काङ्ग्रेसलाई देशको सर्वोच्च आधिकारिक संस्थाको रुपमा स्थापना गरिएको छ । चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसमा चीनका विभिन्‍न प्रान्त, स्वायत्त प्रदेश र केन्द्रशाषित शहर र जनमुक्ति सेनाका प्रतिनिधिहरु रहने व्यवस्था छ र झण्डै ३ हजारको हारारहारीमा प्रतिनिधिहरू रहेका छन् । 

राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक सम्मेलनमा प्रतिनिधिहरुले सरकारी कार्य-प्रतिवेदन र अन्य महत्त्वपूर्ण प्रतिवेदनको सुनुवाइ गर्दछन् । यी प्रतिवेदनको लेखाजोखा गर्नुका साथै सम्बन्धित निर्णय-प्रस्ताव पनि प्रस्तुत गर्दछन् । त्यस अवधिमा जन काङ्ग्रेसको स्थायी समितिले काङ्ग्रेसद्वारा दिइएको अधिकारको कार्यान्वयन गर्दै राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिको हक-अधिकारका बारेमा संविधानको व्याख्या गर्ने, संविधानको कार्यान्वयनको अनुगमन गर्ने, पूर्ण बैठकद्वारा तर्जुमा गरिएका कानून बाहेक अरु कानूनहरुको तर्जुमा र संशोधन गर्ने र राष्ट्रिय जन काङ्ग्रेसप्रति जिम्मेवार हुने र त्यससमक्ष कार्य-प्रतिवेदन पेश गर्ने आदि गर्छन् । 

चीनको राष्ट्रिय जन काङ्ग्रेसको आधारभूत अधिकारमा कानून निर्माणको अधिकार, अनुगमनको अधिकार, महत्त्वपूर्ण घटना सम्बन्धमा निर्णयको अधिकार र महत्त्वपूर्ण पदहरुमा नियुक्ति र पदच्युतको अधिकार आदि समावेश छन् ।
 


Author

थप समाचार
x