प्रवास

बलिउड कलाकार मिथुन पनि बिजेपीमा

इकागज |
फागुन २३, २०७७ आइतबार १५:३ बजे

काठमाडौँ : भारतीय राजनीतिमा कलाकारहरूको संलग्‍नता नौलो होइन । नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएपछि धेरै कलाकार सत्तारुढ पार्टीसँग जोडिएका छन् । पछिल्लो पटक मिथुन चक्रवर्ती बिजेपीसँग जोडिने कलाकारको सूचीमा परेका छन् । 

मिथुन बिजेपी जाने हल्ला केही समय यता चल्दै आएको थियो । बिजेपीले आइतबार कोलकातामा गर्न लागेको कार्यक्रम स्थलमा मिथुन पुुग्दा चल्दै आएका हल्ला पुष्टी भयो । प्रधानमन्त्री मोदी कोलकातामा आयोजना हुने र्‍यालीमा सहभागी हुने तालिका छ । र्‍याली कोलकाताको ब्रिगेड परेड ग्राउण्डबाट सुरु हुने बताइएको छ । मोदी अगाबै मिथुन त्यस स्थलमा पुगेका हुन् । 


शनिबार साँझ नै बिजेपीका स्थानीय नेता कैलाश विजयभर्गियाले मिथुन मोदीले सम्बोधन गर्ने र्‍याली तथा कार्यक्रममा सहभागी हुने जनाएका थिए । राजनीतिक महत्वकांक्षा बोकेका मिथुन यसअघि त्रिनामुल कंग्रेस (टीएमसी) सँग सम्बद्व थिए । सन् २०११ देखि पश्चिम बंगालमा सरकार चलाइरहेको त्रिनामुलबाट मिथुन राज्यसभाका लागि मनोनित समेत भएका थिए । तर सन् २०१६ मा मिथुनले स्वास्थ्यको कारण देखाउँदै राज्यसभा सदस्यबाट राजीनामा दिएका थिए ।

पश्चिम बंगालमा आउँदो मार्च २७ बाट निर्वाचन सुरु हुँदैछ । त्यसका लागि प्रधानमन्त्री मोदी पूर्वी राज्यको दौडाहामा निस्किएका छन् । आइतबार आयोजना हुने र्‍यालीमा करिब १० लाख मानिस उत्राने लक्ष्य बनाइएको छ । र्‍यालीमा सहभागी हुनेहरुका लागि मिथुन आकर्षणको केन्द्र बन्नेछन् । 

पछिल्लो समय बिजेपी र पश्चिम बंगालमा सरकार चलाइरहेको टीएमसीबिच एक अर्काको नेता तथा कार्यकर्ता तान्ने प्रतिस्पर्धा चलिरहेको छ । त्यति मात्र होइन, कलाकार, क्रिकेट खेलाडी लगायतका लोकप्रिय सामाजिक ब्यक्तित्व आ–आफ्नो पार्टी तर्फ आकर्षित गर्ने लक्ष्यमा पनि दुई पार्टी लागिरेहका छन् । (हिन्दुस्तान टाइम्सबाट)


Author

थप समाचार
x