प्रवास

ढकमक्‍क साकुरा (फोटो फिचर)

संगीता कुँवर |
चैत १२, २०७७ बिहीबार ९:३७ बजे

जापान : वसन्त ऋतुको आगमन । जापानका बाटैभरि फूलेका साकुरा । साकुरामा थकान मेट्‍न आएका मान्‍छेहरू । महिनौँको कामबाट केही समय छुट्टीमा भुल्‍न आउँछन् थुप्रै मान्छेहरू उही साकुरा फूलसँग । साकुराले बाटैभरि छुट्टै सौन्दर्यले भरेको छ । थकान मेट्‍न आएका मान्‍छेहरूलाई उस्तै दिएको छ मिठास बास्‍ना पनि ।


मार्चको अन्तिम सातादेखि अप्रिलको पहिलो सातासम्म जापानका बाटो, पार्क, घर अगाडीका बगैँचाहरू राता र सेतो साकुरा (पैँयु) फूलले सेताम्मे र राताम्मे देखिन्छन् । साकुरा जापानको राष्ट्रिय फूल हो । नेपालको पैयुँ फूल देखेका आँखा जापानमा आएर साकुरा देखेपछि मन खुशी हुन्छ ।

यहाँ साकुरा फूल्ने बेला ठुलो उत्सव जस्तै लाग्छ । मान्छेहरू पार्कमा साकुराको रुखको फेदमुनि बसेर जम्मा हुने खाना/खाजा लगेर खाने, दु:ख सुख साटासाट गर्ने गर्दछन् । यसलाई जापानीमा हानामी भनिन्छ । हानामी भनेको फूलहरूको अवलोकन गर्नु हो ।

जापानको नयाँ शैक्षिक शत्रसँगै नयाँ कम्पनीमा कामदारको काम सुरु हुने पनि अप्रिलबाट भएकोले नयाँ शैक्षिक शत्र सुरु गर्न लागेका  विद्यार्थीहरू, नयाँ कम्पनीमा काम सुरु गर्न लागेका कामदारहरू पनि मौसम र फूलजस्तै खुशी देखिन्छन् । अभिभावक साथीभाइसँगै हानामीमा रमाउने गर्छन् । साकुराको रुखमुनि बसेर खानेकुरा खायो भने वर्ष नै खुशी र उत्सव हुने भनाइ पनि छ । भेटघाट जमघटको अवसर पनि बन्छ हानामी ।

जापानीहरूले साकुरा फूललाई आन्तरिक र बाह्य पर्यटक भित्र्याउने राम्रो माध्यम पनि बनाएका छन् । यो समय विदेशी पर्यटकहरूको साकुरा हेर्न र साकुरासँग फोटो खिच्‍न घुइँचो नै लाग्‍ने गर्छ । चीन, कोरिया, थाइ, भियतनाम, म्यानमारलगायत थुप्रै देशबाट साकुरा हेर्न पर्यटक आउने गर्छन् । साकुरा फूलको आयु दुई हप्तादेखि तीन हप्तासम्मको मात्र हुन्छ ।

टोकियोको उएनो, हिरोशिमाको मियाजिमा टापु, हिरोसाकी कासल पार्क, हानमियामा, सिन्जुकु ग्योएन, मारुयाना क्योतो, केमा साकुरोनोमियालगायतका ठाउँ साकुरा फूल्ने बेला बढी भीड हुने ठाउँको रुपमा चिनिन्छ ।

साकुराको माइती नेपाल पनि भन्‍ने गर्दछन् । नेपालबाट नै साकुरा आएको हो भन्‍ने इतिहास नभए पनि साकुरा हिमाली देशबाट आएको जापानीहरू बताउँछन् । साकुरा मार्च र अप्रिल महिनामा फूल्ने भए पनि अचेल नोभेन्बर र डिसेम्बर महिनामा फूल्ने साकुराको बिरुवा बढ्दै गएको छ । जापानीहरुले त्यो साकुराको नाम हिमालय साकुरा राखेका छन् ।

नेपालबाट टोक्यो विश्वविद्यालयमा अध्ययन गर्न आएको बेला तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९६८ मा आतामी सहरमा कोसेलीस्वरुप बिरुवा दिएका थिए । सोही हिमालय साकुराको बिरुवा नै ठाउँमा लगाइएको जापानीहरू बताउँछन् । केही समयअघि वीरेन्द्रले उपहार पठाएको साकुरा आतामीमा फूल्यो भनेर जापानी मिडियाले पनि समाचार प्रकाशित गरेका थिए । मार्च महिनामा मात्र नभएर साकुराको रौनक र सौन्दर्यता पर्यटक आकर्षण गर्न जाडो मौसममा फूल्ने हिमालय साकुराको पनि पछिल्लो समय बिरुवा बढाउँदै लगेका छन् ।

फूललाई हेरेर कविले कविता, गीतकारले गीत, गजलकारले गजल लेख्छन् । यतिबेला जापानका बाटो गल्ली पार्क निकै सुन्दर देखिएका छन् । कोरोना कारण उल्लास भीडभाड नभए पनि बाटोमा हिँड्दा देखिने साकुरा हेरेर यस वर्षको हानामी मनाउन सरकारले अनुरोध गरेको छ । सरकारले कोरोनाका कारण सकेसम्म धेरै साकुरा फूल्ने ठाउँमा भिड नगर्न अनुरोधसमेत गरेको छ ।

जापानका नेपालीहरू पनि नेपालीहरू साकुरा फूलसँगै रमाउने गर्छन् । पैयुँ र लालीगुँरास फूल्दा त नेपालको यादहरू झन बढाइदिने नेपालीहरू बताउँछन् । फूलहरूको उत्सवले पर्यटक तान्‍ने बलियो आधार बनाएको जापानबाट नेपालले पनि पैँयु र लालीगुँरासले पर्यटक तान्‍न सक्‍छ ।


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x