कृषि

किसानका दु:ख

परेन पानी, भएन रोपाइँ : आकाश हेर्दै बित्यो असार

इकागज |
साउन ३, २०७९ मंगलबार १०:२३ बजे

फाइल तस्बिर

काठमाडौँ - साउन लागिसके पनि कतिपय किसानले अझै रोपाईँ गर्न पाएका छैनन् । समयमा पानी नपर्दा किसानले रोपाईँ गर्न पाएका छैनन् । साउनमा अधिकांश ठाउँमा रोपाईँ सकिसक्नु पर्ने हो । 

म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा धाँजा फाटेका छन् भने रोपेको धानको बीउसमेत मर्न लागेको किसानले बताएका छन् ।


'पोहोरपरार यतिबेलासम्म सबै खेत रोपेर सकिन्थ्यो, तर यसपालि भने आकाश हेरेरै असार बित्यो, वर्षा नहुँदा रोपाइँ हुन सकेन', बेनी नगरपालिका–९ का विमला सुवेदीले भने, 'पानी पर्ला भनेर राम्रोसँग नपकाइकन मकै थन्क्याइयो, रोपाइँको तयारीका लागि खेतका गह्रा खाली गरिए, तर वर्षा नहुँदा साउनको पहिलो सातासम्म पनि खेत बाँझै छ ।'

पुलाचौरका नवीन बानियाँले पोहोर सालको तुलनामा त अहिले पानी नपरेका कारण सबै खेत बाँझै रहेको बताए । 'बीउ बुढिएर रोप्नै नमिल्ने भइसक्यो, यसपटक धान उत्पादन नै मुस्किल हुने भयो', उनले भने।

उनीहरूले जस्तै जिल्लाका धेरै किसानले वर्षा नभएका कारण रोपाइँ गर्न पाएका छैनन् । किसान आकाशतिर हेर्दै भगवान् पुकारेर पानी मागिरहेका छन् तर पानी नपरेका कारण कतिपय ठाउँमा रोपाइँ भएको छैन, रोपाइँ भएका ठाउँमा पनि चिराचिरा परेर धाँजा फाटेको र रोपो मर्न लागेको किसानले बताएका छन् ।

'गाउँलेहरूले पानी देऊ भगवान् भनेर भजनकीर्तन गर्न थालेका छन्, तर पानी परेको छैन', बेनी नगरपालिका–७ का शिव घिमिरेले भने, 'न समयमा मलबीउ पाइन्छ, न वर्षा हुन्छ, यसपटक धान उत्पादन राम्रो हुने लक्षण छैन ।'

विगतका वर्षको तुलनामा यस वर्ष वर्षाको सम्भावना धेरै रहेको र बाढीपहिरो जानसक्ने भन्दै सतर्कता अपनाउन मौसम विभागले भनेको समाचार आएपछि समयमै रोपाइँ सकेर उम्किएर बस्न भन्दै पूरा नपाकेका मकैसमेत कृषकले थन्क्याएर खेत खाली गरेका थिए । 

कुलो र नहरको सुविधा भएको, खोला तथा नदी तटीय क्षेत्र र खोल्साका छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको भए पनि आकाशे पानीकै भर परेर रोपिने ठाउँमा रोपाइँ हुनसकेको छैन । वर्षा भएको बेलामा भल छोपेर रोप्ने तथा धारोको पानी जम्मा पारेर पालो गरेर जसोतसो रोपिएका खेत पनि सिँचाइ समस्यामा पटपटी फुटेका किसानले बताएका छन् ।

'आकाशे पानीको भरमा भल छोपेर रोप्नुपर्ने ठाउँमा त रोपाइँ नै भएको छैन, धाराको पानी जम्मा पारेर पालो गरेर रोपेको खेतमा सिँचाइ गर्ने पानी नपुग्दा रोपेको खेत पनि पट्पटी फुटेको छ', बेनी नगरपालिका–२ बगरफाँटका जीतबहादुर कार्की भन्छन्, 'झमझम पानी पर्ने समयमा दिनभरि टन्टलापुर घाम लाग्छ । चर्को घामकै कारण अलिअलि रसाउन लागेका मूल पनि सुकिसके । पानी पर्ने लक्षण नै छैन, के गरी रोपाइँ गर्ने हो ? अब वर्षा भएछ भने पनि साउनमा रोपेको धान राम्रो फल्ने कुरै भएन ।'

कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार आजसम्म जिल्लामा करिब ६८ प्रतिशत रोपाइँ पूरा भएको छ । धान उत्पादनको राम्रो क्षेत्र मानिएका ठाउँमा नै पानी अभावका कारण करिब आधा जति रोपाइँ भएको सूचना स्थानीय तहका प्राविधिकले दिएको उनको भनाइ छ । 

सिङ्गा, बावियाचौर, बगरफाँट, रत्नेचौरलगायत राम्रो धान उत्पादन हुने क्षेत्रमा नै समयमा रोपाइँ भएको छैन । करिब ६८ प्रतिशत रोपाइँ भएको छ । थोपा–थोपा सँगालेर रोपेका ठाउँमा पनि सिँचाइ नहुँदा खेतका गरा चर्किएका किसानले बताएका छन् । काम सकेर फुर्सदिला हुने समयमा किसान काम नै (रोपाइँ) गर्न नपाएर पिरोलिएर बसेका छन् । प्रमुख खाद्य बाली पनि धान नै भएकाले वर्ष दिन खानुपर्ने अन्नका अभावमा अबको वर्ष बित्ने हो कि भन्ने चिन्ता उनीहरूलाई लागेको छ ।

उता अन्नको भण्डारण मानिएको मधेस प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् । समयमा पानीपरेको भए मधेसका अधिकांश जिल्लामा रोपाइँ लगभग सकिनुपर्ने थियो । अहिलेसम्म करिब ५७ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुनसकेको जनाइएको छ ।

समयमा वर्षा नहुँदा प्रदेशको ४३ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बाली विकास अधिकृत मनिषकुमार पालले जानकारी दिए । अहिलेसम्म प्रदेशमा सबैभन्दा बढी सप्तरीमा ७५ प्रतिशत र सबैभन्दा कम पर्सामा ४२ प्रतिशत जग्गामा धान रोपाइँ भएको उनले बताए । गत असारको दोस्रो सातायता वर्षा नहुँदा पनि वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै भए पनि किसानहरूले धान रोपाइँ गरिरहेको उनको भनाइ छ । 

उनका अनुसार बारामा ६०, सिरहा र सर्लाहीमा ५५ , रौतटहमा ५० , महोत्तरीमा ४५ र पर्सामा ४२ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।  पर्सामा ५४ हजार ७३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । त्यस्तै सप्तरीमा कूल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा, सिरहामा कूल ७३ हजार ९१४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टरमा धान रोपाइँ हुने गरेको छ ।

त्यस्तै महोत्तरी जिल्लामा ६७ हजार ३५२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ५०० हेक्टरमा, बारामा ६२ हजार ८२३ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकामा ४६ हजार २० हेक्टरमा, रौतहटको ५३ हजार ५२० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकामा ३८ हजार १०० हेक्टरमा धानखेती हुने गरेको मन्त्रालयले जनाएको छ । 

यस्तै धनुषामा ७६ हजार ५३१ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ५९ हजार हेक्टरमा र सर्लाहीको ८४ हजार ६७८ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ७०० हेक्टरमा धान रोपाइँ हुन्छ । तर यस वर्ष ढिलो गरी धानको बेर्ना तयार भएको, ढिलाइ गरी धान रोपाइँ गर्ने प्रवृत्ति र समयमा वर्षा हुनुको कारण अन्नको भण्डार मानिएको मधेस प्रदेशमा अपेक्षाकृत धान रोपाइँ हुन नसकेको अधिकृत पालले जानकारी दिए ।

लामो समयदेखि वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् भने अधिकांश किसान अझै आकाशे पानीको प्रतिक्षमा छन् । एकातिर किसानले जेनतेन वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर धान रोपाइँ गरे पनि वर्षा नहुदाँ रोपो सुक्न थोलेको छ । ‘पान्नी तान्ने मोटर लगाएरै करिब एक बिघा जग्गामा धान रोपाइँ गरेँ', धनुषाधाम नगरपालिका–४ का किसान सुगम्बर यादवले भने, 'वर्षा ठयाप्पै रोकिएपछि अहिले रोपिएको धानमा डढेलो लाग्न थालेको छ ।' अब पनि केही दिन पानी नपरे रोपाइँ गरिएको धान नष्ट हुन्छ', उनको चिन्ता छ । 

ठूलो मूल्य र परिश्रम गरेर रोपाइँ गरिएको धानबालीमा पानीकै अभावमा डढेलो लाग्दा आफूहरु चिन्तामा डुबेको किसानको भनाइ छ । सिँचाइका लागि कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले निर्माण गरेको पूर्वी र पश्चिमी नहर प्रणालीबाट सिरहा र धनुषाको करिब २५ हजार हेक्टर क्षेत्रमा मात्र सिँचाइको व्यवस्था पुगेको छ । तर लामो समयदेखि वर्षा रोकिएर कमला नदीमा पानीको सतह कम भएका कारण किसानलाई सिँचाइ गर्न समस्या भइरहेको कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

'साधारणतया कमला नदीमा पानीको स्तर बढ्दा किसानलाई सिँचाइ गर्न सहज हुन्छ, तर अहिले नदीमा पानी नै छैन', उनले, 'पूर्वी र पश्चिम नहर प्रणालीका कारण दुवै जिल्लातर्फ सिँचाइको पहुँच पुगेको त छ, तर वर्षा नै नभएपछि नदीमा पानी छैन, जसले गर्दा किसानलाई सिँचाइ गर्न समस्या भएको हो ।' 

सिँचाइबाहेक मलखाद्य र कृषि मजदुरको आभावमा पनि बर्सेनि धानखेती प्रभावित हुँदै आएका छन् । एकातिर सिँचाइ अभाव अर्कातिर आवश्यकतानुसार कृषि मजदुर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको किसानको गुनासो छ । यसरी सिँचाइ, मलखाद्य र मजदुर आभावमा मधेस प्रदेशमा धान रोपाइँ प्रभावित हँदा भोकमरीको चिन्ता बढेको कृषिविज्ञको भनाइ छ । मधेसका जिल्लामा बर्सेनि भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ । 
राससको सहयोगमा
 


Author

थप समाचार
x