पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्यो
बाँके । आकाशे पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्न थालेको छ । साउनको पहिलो हप्ता सकिन लाग्दा पनि वर्षा नभएपछि बाँके जानकीका किसानहरू ढलको पानी सिंचाई गरेर धान रोप्न बाध्य भएका हुन् ।
बाँके जिल्लाको कुल क्षेत्रफलको ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ तर यो वर्ष समयमा पानी नपर्दा असारको अन्तिमसम्म ४० प्रतिशत मात्र धान रोपाई भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
किसानहरुले यो वर्ष मलखाद नपाएको गुनासो गरिरहेका बेला आकाशे पानी नपरेपछि रोपेको केही धानपनि सुक्न थालेको छ । असार महिनाभर धान रोप्ने गरि वर्षात नभएपछि ब्याडमा रहेका धानको बीउदेखि जेनतेन गरी रोपेको धान पनि सुक्न थालेका छन् ।
धान रोपेको गह्रा पनि फाटेर चिरा पर्न थालिसकेका छन् । गत बर्ष यही समयमा झन्डै ९० प्रतिशत धान रोपाई भएको बाँके जिल्लामा यस वर्षको असार महिनाको अन्त्यसम्म आइपुग्दा पनि पानी नपरेका कारण बाँकेका आठ वटै पालिकामा ४० प्रतिशत मात्र धान रोपाई भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत दिनेशप्रसाद भट्टराई बताउँछन् ।
उनले असार १५ ताका परेको पानीले रोपेको धान पनि सुकेको बताए । उनले आकाशबाट पानी नपरेका कारण खोला नालामा पनि पानी सुक्दै गएकाले धान रोपाई गर्न समस्या भएको बताए ।
जानकी ३ बाँकेका किसान बिर्जा प्रसाद जरवटले रोपेको धान पनि पानी नपरेका कारण खेतमा सुक्दै गएको बताए । उनले समयमा मलखाद पनि नपाएको गुनासो सुनाउँदै सिंचाईको कुनैपनि प्रबन्ध नभएकाले सरकारले किसानका लागि सिंचाईको सुविधा नदिएको बताए ।
आफ्नो गाउँघरमा पानीका लागि कुनै सुविधा नभएकाले पम्पिङसेटबाट नालाको पानीले सिंचाई गरी रोपेको धानपनि सुक्न थालेको र जमिन पनि फुट्न थालेको जानकी ३ बाँकेका किसान दीलिपकुमार जरवटले बताए । उनले नेताहरु भोट माग्ने बेला किसानलाई आश्वासन दिने गरेपनि जितिसकेपछि फर्केर नहेर्ने गरेको गुनासो व्यक्त गरे ।
पानी नपरेर सुख्खा लागेकाले धान रोपार्इं हुन नसकेको भन्दै सिंचाईको सुविधा गरिदिन जानकी ३ बाँकेका किसानहरुले आग्रह गरेका छन् । राप्ती नदी, खोलानाला र सिक्टा सिंचाईको सुविधा हुने राप्तीसोनारी, बैजनाथ, खजुरा, जानकी, डुडुवा गाउँपालिकामा २५ देखि ४० प्रतिशत धान रोपाई भएको छ भने नरैनापुर गाउँपालिकामा १० प्रतिशत, कोहलपुर नगरपालिका क्षेत्रमा १५ र नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा २० प्रतिशत मात्र धान रोपाईं भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया