कृषि

मनाङमा जडीबुटी संकलनबाट ४० लाख राजस्व

इकागज |
साउन ९, २०७९ सोमबार १५:१७ बजे

फाइल फोटो

 मनाङ - विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा जङ्गली जडीबुटी संकलनबाट रु ४० हजार १६ हजार ६४ राजस्व संकलन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र काठ बिक्रीबाट पनि उक्त राजस्व संकलन भएको हो ।  

सो आवमा जिम्बु संकलनबाट रु ३९ हजार ९८, वन लसुनबाट रु ३४ हजार ५१२, गुची च्याउबाट रु १७ हजार २३३, निगालोबाट २२१, यार्सागुम्बाबाट रु ३६ लाख २९ हजार ५०१ र टिम्बरबाट रु दुई लाख ९५ हजार ४९९ राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।  


उनका अनुसार जिम्बु २३०६.५ किलोग्राम, वन लसुन १०१७.६५ किलोग्राम, गुची च्याउ ३०.५ किलोग्राम, निगालो १३०० फिस, यार्सागुम्बा १०७.०५२ किलोग्राम, टिम्बर १८६७.५८ क्युफिट बिक्री भएको छ । 

गत वर्ष कोभिड– १९ का कारण जङ्गली जडीबुटी तथा काठ बिक्री गर्न समस्या भएको थियो । गतवर्षको तुलनामा यस वर्ष भने सहज भएकाले राजस्वमा पनि वृद्धि भएको गौतमले बताए । कुनै पनि रोगको सङ्क्रमण नहुँदा सहज रुपमा मनाङ बाहेक अर्को जिल्लाबाट जडीबुटी संकलनमा आउनेको सङ्ख्या बढेपछि राजस्वमा वृद्धि भएको हो । 

गत आर्थिक वर्ष मनाङमा ४०.५ किलोग्राम जडीबुटी संकलनबाट रु १३ लाख ९७ हजार २५० राजस्व संकलन भएको थियो । संकलित राजस्व संघीय सरकारअन्तर्गत वित्तीय आयोगमा पठाइनेछ । वित्तीय आयोगले ५० प्रतिशत संघ सरकारमा राखी प्रदेश सरकार र स्थानीय सरकारमा २५÷२५ प्रतिशत राजस्व पठाइने प्रावधान रहेको गौतमले बताए । 

जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी संकलन भएको उनले बताए ।  सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी संकलन भएको उनले जानकारी दिए । मनाङ ङिस्याङको खाङ्सार, पिसाङ लेक, आइस लेक, याकखर्क, भ्राका लेक, छोङ्कर लगायतका स्थानबाट जङ्गली जडीबुटी संकलन गरिन्छ । चामे गाउँपालिकामा गुची च्याउ, वन लसुनलगायत पाइन्छन् । 

नासों गाउँपालिकामा नाम्गे, भिमताङ क्षेत्र, ड्रोना ताल, तिलिचे भीमथाङ क्षेत्र र नार्पाभूमि गाउँपालिकामा फु, नार, काङला, हुलाकी ओडार लगायतका क्षेत्रबाट जङ्गली जडीबुटी संकलन गरिन्छन् । ठेकेदारले जङ्गली जडीबुटी संकलनका लागि ठेक्का लिने र बाहिरबाट संकलनकर्ता ल्याएर टिपिने गरिन्छ । ठेकेदारले कममा रु ३० हजारदेखि ४० हजारसम्म पूर्जी काटेर ठेक्का लिने गरेका गर्दछन् । करिब दुई महिना खर्कमा बसेर जङ्गली जडीबुटी संकलन गर्ने गर्दछन् । 
रासस


Author

थप समाचार
x