कृषि

कालिज फार्ममा चितुवा पसेपछि...

इकागज |
साउन ९, २०७९ सोमबार १६:२ बजे

फाइल फोटो

दोलखा - दोलखाको भीमेश्वर नगरपालिका–७स्थित मकैबारीमा रहेको कालिज फार्ममा चितुवा पसेर आक्रमण गरेको छ । सदरमुकाम चरीकोट बजारको नजिकै फर्ममा दिउँसै चितुवा पसेर आक्रमण गर्दा करिब एक हजारभन्दा बढी कालिज मरेको छ । 

चार हजारभन्दा बढी कालिज पालन गर्ने उक्त फार्ममा दिउँसोदेखि रातभर करिब एक हजारभन्दा बढी कालिज मारेको फार्म सञ्चालक मिङ्गुर शेर्पाले बताए । फार्ममा काम गर्ने मजदूरले दाना दिने बेलामा कालिज मरेको देखेपछि खोजी गर्दा फार्मभित्र चितुवा भेटिएको थियो । 


दूधपोखरी वाइल्ड लाइफ एग्रो फार्मले विगत दुई वर्षदेखि व्यावसायिकरुपमा कालिज पालन गर्दै आएको थियो । फार्मको एक भागमासाना–साना कालिज र अर्को भागमा बेच्न तथा चल्ला उत्पादनका लागि ठू्लो कालिज राखिएकामा बेच्नका लागि योग्य करिब एक हजार कालिज चितुवाले मारेको उनले बताए । चितुवाले केही कालिज समातेर आक्रमण गर्दा मरे पनि धेरै जस्तो कालिज आत्तिइ तार जालीमा ठोक्किएर मरेको पाइएको छ । 

फार्मभित्र चितुवाका कारण करिब रु ४० लाखभन्दा बढीको क्षति भएको छ । कालिजप्रति गोटा तीनहजार ५००देखि चार हजारसम्ममा बिक्री हुँदै आएको र अन्डा परेर चल्ला निकाल्नका लागि राखिएका कालिज मर्दा करिब रु ४०लाखदेखि ४५ लाख मूल्य बराबरको क्षति पुगेको सञ्चालक शेर्पाले उल्लेख गरे । 

 चारैतिर तार जालीले बारेको फार्मभित्र चितुवा छिरेपछि निस्कने ठाँउ नपाउँदा चितुवाले फार्ममा बढी क्षति गरेको उनको भनाइ थियो । फार्मका मजदूरलाई आक्रमण गर्न खोजेकाले स्थानीयवासीले ढु्ङ्गामुढा गर्दा चितुवा सामान्य घाइते भएको थियो । 

घाइते चितुवालाई आज बिहान काठमाडौँबाट आएको टोलीले नियन्त्रणमा लिएको थियो । डिभिजन वन कार्यालयका कर्मचारी र सुरक्षाकर्मीले चितुवा नियन्त्रणमा लिन खोजेपनी नसकेपछि काठमाडौँबाट थप टोली बोलाएर  नियन्त्रणमा लिइएको वन कार्यालयका प्रमुख थीरबहादुर कार्कीले बताए । 


Author

थप समाचार
x