वाग्मती प्रदेशका कुन जिल्लामा कति राेपाइँ ?
वाग्मती- केही दिनदेखि परेको लगातार वर्षाका कारणले बागमती प्रदेशमा हालसम्म ८८ प्रतिशत धान रोपाइँ कार्य सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटाैँडाले जनाएको छ ।
भौगौलिक विकटता र सिँचाइको अभाव रहेको बागमती प्रदेशमा धान खेतीका लागि आकाशको पानीका भरमा खेती गर्नु परेकाले धान खेतीमा समस्या रहेको बताइएको छ । साथै किसानलाई मलको पनि समस्या रहेको गुनासो पाइएको छ ।
बागमती प्रदेशको १३ जिल्लामा कूल एक लाख २० हजार पाँच सय ६९ हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । तर अहिलेसम्म बागमती प्रदेशमा करिब एक लाख छ हजार हेक्टर जमिनमा धान खेतीका लागि रोपाइँ सकिएको सो कार्यालयले जनाएको छ ।
कार्यालयबाट प्राप्त विवरणअनुसार मकवानपुर जिल्लामा ११ हजार हेक्टर जमिनमध्ये आठ हजार ९०० हेक्टर जमिनमा, चितवन जिल्लामा धानखेती हुने २२ हजार नौ सय ७७ हेक्टर जमिनमध्ये २० हजार ७०० हेक्टर जमिनमा धान खेती, नुवाकोटमा १४ हजार दुई सय ८३ हेक्टर जमिनमध्ये १२ हजार २०० हेक्टर जमिनमा धान रोपाइँ कार्य सकिएको बताइएको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकमा नौ हजार हेक्टर जमिनमध्ये आठ हजार तीन सय हेक्टरमा, सिन्धुपाल्चोकमा आठ हजार ५०० खेती जमिनमध्ये आठ हजार २०० हेक्टरमा, रामेछापमा आठ हजार आठ सय ९३ हेक्टर जमिनमध्ये पाँच हजार तीन सय हेक्टर जमिनमा, दोलखामा दुई हजार नौ सय २८ हेक्टर जमिनमध्ये दुई हजार चार सय ५० हेक्टर जमिनमा, सिन्धुलीमा १५ हजार चार सय २३ हेक्टर जमिनमध्ये १३ हजार चार सय १८ हेक्टर जमिनमा तथा धादिङमा ११ हजार एक सय ५९ हेक्टर जमिनमध्ये नौ हजार पाँच सय हेक्टर जमिनमा धान रोपाइँ सकिएको सो कार्यालयले जनाएको छ ।
ललितपुरको चार हजार एक सय ७५ हेक्टर, भक्तपुरको तीन हजार नौ सय २५ हेक्टर तथा काठमाडौँको पाँच हजार नौ सय २५ हेक्टर जमिनमा धानखेतीका लागि रोपाइँ सकिएको कार्यालयले जानकारी दिइएको छ । उक्त तीन जिल्लामा शतप्रतिशत रोपाइँ भइसकेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया