कृषि

मुगुका किसानलाई स्याउ टिप्न भ्याइनभ्याई

इकागज |
भदौ ११, २०७९ शनिबार १६:३६ बजे

गमगढी - मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिबेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त छन् । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ ।  

यतिबेला मुगुमा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैँचामै भेटिन्छन् । उत्पादन हुुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ । उनीहरु बिहानैदेखि स्याउ टिप्न व्यस्त देखिन्छन् । जिल्लाको बाम, ताल्चा, रोवा, शोभा, खमाले सेरीलगायत क्षेत्र स्याउको पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका किसान स्याउ टिपेर आर्थिक उपार्जनमा लागेका छन् । 


भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याई भएको हो । अधिकांश किसान बिहान सबेरैदेखि राति अबेरसम्म स्याउ बारीमै व्यस्त रहन्छन् । 'हाम्रो आम्दानीको श्रोत नै यही हो', छायाँनाथ रारा–५ ताल्चाकी विस्नमाया रोकायाले भनिन् । यो समय स्याउ टिप्नका लागि उपयुक्त नभएको उनको भनाइ छ । 'भदौ अन्तिम सातामा टिप्नलाई उचित हुन्छ ।' 

समय अघि नै किसान स्याउ टिप्न थालेका छन् । 'ढिला टिपे कुहिन्छ की भन्ने चिन्ता छ', छायाँनाथ रारा–५ कै हरिबहादुर भामले भने, 'बिक्री नहुने हो की चिन्ता छ ।' धमाधम स्याउ टिपेर किसानले बगैंचा खाली गर्न थालेका छन् । किसानलाई स्याउ भण्डारण गर्न समस्या छ । 'उचित ठाउँ अभावले स्याउ कुहिने डर छ', उनले भने । 

स्याउ खरिद गर्न स्थानीय व्यापारी बगैँचामै आएका छन् । व्यापारी आएका कारण पनि किसानले काचै स्याउ बेच्न हतार गरिरहेको देखिन्छ । 'पछि व्यापारी  भेटिन्न की भन्ने समस्या छ', भामले भने । व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ३० मा स्याउ किन्ने गरेका छन् । उत्पादन धेरै भएको स्याउ बजारीकरणको समस्याले कुहिने डरले हतार हतारमा बिक्रि गर्न लागेको उनी बताउँछन् । 

स्याउ किसान सूर्यप्रकाश भामका अनुसार राख्नलाई कार्टुनसमेत अभाव भएको छ । 'स्याउ टिप्न डोकाको प्रयोग गर्ने गरेका छौँ, राख्नलाई केही छैन ।  बजारीकरणको समस्या पनि उत्तिकै छ', उनले भने । यस वर्ष आफूले उत्पादन गरेको स्याउ नेपालगञ्ज, सुर्खेतलगायत ठाउँ लगेर आफै बिक्री गर्ने योजना रहेको भामको भनाइ छ । सकभर स्थानीय व्यापारीलाई बिक्री नगर्ने उनी बताउँछन् ।  

छायाँनाथ रारा–५ मा स्याउ उत्पादन अत्यधिक छ । स्याउ टिपेर गोठमा राख्ने गरिएको छ । स्याउ उत्पादन प्रशस्त भए पनि सडक सुविधा नुहुँदा स्याउ बिक्री गर्न किसानलाई समस्या भएको छ । यस वर्ष गत वर्षको भन्दा स्याउ उत्पादन वृद्धि हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालका निमित्त कार्यालय प्रमुख दुर्गबहादुर शाहीले बताए ।

उनका अनुसार अघिल्लो आर्थिक वर्षमा ३४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष जिल्लामा गत वर्षभन्दा ५ देखि १० प्रतिशतले स्याउ उत्पादनमा वृद्धि हुने अनुमान गरिएको शाहीले बताए । मुगुमा विशेष गरी रोयल डेलिसेस्, रेटडेलिसेस र गोल्डेन डेलिसेस स्याउ उत्पादन हुने गरेको छ ।
रासस


Author

थप समाचार
x