बादर धपाउँन ४० लाख बजेट पनि निष्प्रभावी
हेटौंडाः बामगती प्रदेशको तीन जिल्लामा गत आर्थिक वर्षमा बाँदर नियन्त्रणको प्रयासहरु भएपनि प्रभावकारी बन्न सकेन । किसानले लगाएको बाली बाँदरको हुल आएर खाइदिने, दुःख दिने गरेपछि हैरान बनेका किसानहरुलाई बागमती प्रदेश सरकारले बाँदर व्यवस्थापन गर्न ४० लाख बजेट विनियोजन गरेको थियो ।
बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका, काठमाडौको गोकर्णेश्वर र दक्षिणकाली नगरपालिकामा बाँदर व्यवस्थापन समिति बनाएर रोकथामको प्रयास भएको थियो । तर त्यो प्रभावकारी बन्न सकेन । गोकर्णेश्वर नगरपालिकामा किसानको बालनाली सुरक्षित गर्न बाँदर व्यवस्थापन समितिले सोलारबाट करेन्टको झट्का दिने गरी जंगलबाट बस्ती आउने स्थानमा तारबार गरेका थिए । बाँदर व्यवस्थापन समितिका संयोजक श्रीकृष्ण तामाङका अनुसार करेन्ट लगाउन तारबार गरेर केही रोकथाम भएपनि तारबारभन्दा माथिबाट जम्प गरेर बाँदरहरु आउने गरेको छ ।
तारबार गरेको स्थानभन्दा दाँया बाँयाबाट बाँदरहरु आउने गरेको उनले बताए । सोही स्थानको ५ सय घरधुरीका किसानहरुलाई बाँदर लगातय वन्यजन्तुहरु मृग, बँदेलदेखि कृषिबाली जोगाउनै सकस परेको तामाङ बताउँछन् ।
यस्तै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा पनि बाँदरले कृषिबाली खाइदिएर दुःख दिएपछि त्यहाँको चार सय घरधुरीहरु चिन्तित छन् । उनीहरुमध्ये १ सय घरधुरी जिविर्कोपार्जन गर्न असम्भव भएपछि त्यहाँबाट विस्थापित भएको बाँदर व्यवस्थापन समितिका संयोजक कुमार आचार्यले बताए ।
उनले प्रदेश सरकारले दिएको १० लाख रुपैयाँले बाँदरलाई थुल्ने केज बनाए पनि त्यो प्रभावकारी नभएको जनाए । सदाबहार बाँदरहरु बस्तीमा आएर कृषि बालीहरु नष्ट गर्ने, लिएर जाने हुँदा किसानहरु लामो समयदेखि नै समस्यामा परेको भन्दै चिन्ता व्यक्त गरे । बाँदर धपाउन प्रयोग गरिने उपकरण भएपनि त्यो क्षणिक मात्रै हुने भएकोले दिगो समाधान नभएको उनको भनाई छ । उनले बाँदर नियन्त्रण गर्न सन्तान वृद्धि हुनै नदिए मात्र सम्भव भएकोे धारणा व्यक्त गरे । करिब २ हजारको संख्यामा रातो बाँदर रहेको तथ्याकं समितिले निकालको छ ।
बाँदर धपाउन ठुलो आवाज निकाल्ने उपकरणको प्रयोग गरेर बाँदर नियन्त्रणमा नआउने वन्यजन्तु विज्ञ मुकेशराज चालिसे बताउँछन् । यसअघि पनि ठुलो आवाज निकाल्ने उपकरण प्रयोगमा आएपनि त्यो सफल हुन नसकेको उनले बताए ।
‘बाँदर छिटो सिक्न सक्ने जनावर हो । बाँदरले नक्कल गरेर, सुनेर, हेरेर थाहा पाएपछि ठुलो आवाज भएपनि वास्ता नगर्ने हुन्छ । सिक्न सक्ने क्षमता बाँदरमा बढी हुन्छ । सुरुमा ठुलो आवाज निस्कदा पनि त्यसमा बाँदर अभ्यस्त भएपछि त्यो आवाजको वास्तै गर्दैन’ उनले भने ।
किसानको बाली संरक्षण गर्न यस्ता उपकरणको प्रयोग भन्दा बाँदरले दुःख दिनुको कारण, कुन कुन महिनामा यस्तो गर्छन, साँच्चिकै दुःख दिने बाँदर कति छन् त्यसबारे राम्रोसँग अध्ययन हुनुपर्ने भन्छन् बादरविद चालिसे ।
यसअघि धरान, संखुवासभामा पनि आवाज आउने उपकरणले प्रभावकारी काम गर्न नसकेको उनको अनुभव छ । तर मकवानपुरमा जिल्लामा युट्युबमा सिकेर बाँदर धपाउने उपकरण बनाएका भवनाथ पूडासैनी भने उपकरण प्रभावकारी भएको दाबी गर्छन् । आफैले घरमा उपकरण बनाएर परीक्षण गर्दा बाँदरहरु भागेको र ठुलो आवाजको कारण हत्तपत्त बाँदर सोही स्थानमा आउने चेष्टा नगरेको उनले बताए ।
हाल उनले बाँदर धपाउने उपकरण एक हजार पाँच सय रुपैयाँमा स्थानीय भीमफेदी गाउँपलिकालाई बेच्छन् । यो वर्षमा एक सय पिसको माग आएकोले तयार भएर हस्तान्तरण हुन बाँकी रहेको उनले जनाए । यसैगरी मकवानपुरको मकवनपुरगढी गाउँपालिकाको ६ वटा वडामा बाँदरले किसानलाई दुःख दिने गरेको कृषि प्राविधिक चन्द्रकान्त चौधरीले बताए ।
उनले २ सय ८० पिस बाँदर धपाउने उपकरण पाँच लाखमा खरिद गरेर गाउँपालिकाले कृषक समूह, सहकारी र टोलविकासलाई बाड्न थालेको जानकारी दिए । यो वर्षमा गाउँपालिकाले त्यस्ता स्थानहरुमा बाँदरले नखाने कृषि उपज रोप्न किसानहरुलाई गाउँपालिकाले ४० क्विन्टल बेसार र २० क्विन्टल अदुवाको बीउ निःशुल्क वितरण गरेको पनि बताए ।
मकवानपुरगढी गाउँपालिकाको ४ नम्बर वडामा तीन सय घरधुरीहरु बाँदर आतंकबाट प्रभावित छन् । विशेष गरेर जंगलमा खानेकुरा नपाएपछि, खडेरी लाग्दा बाँदरहरु बस्तीमा छिर्ने गरेको वडाअध्यक्ष रामप्रसाद तिमिल्सिनाले बताए । बाँदर बाहेक अन्य वन्यजन्तुहरुले पनि दुःख दिँदै आएको उनको भनाई छ । बाँदर धपाउन प्रयोग गरिने उपकरणले केही राहत मिल्ने आशा राखेको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया