तानसेनमा बाह्रै महिना सिताके च्याउ
तानसेन- तानसेन नगरपालिका–८ मदनपोखराका कृषकहरुले बेमौसमी च्याउ उत्पादन सुरु गरेका छन् । गाउँका ६३ परिवारले सामूहिक रुपमा सिताके जातको च्याउ खेती गरेका हुन् । तीन रोपनी क्षेत्रफलमा चारवटा टनेल र एउटा चिस्यानघरमा च्याउ खेती गरेका छन् ।
समूहले बेमौसममा च्याउको उत्पादन गर्न चिस्यानघरको निर्माण गरेको छ । सिताके च्याउलाई अत्यधिक चिसो चाहिने भएकाले तापक्रम व्यवस्थापन गरी बाह्रै महिना उत्पादन बढाउन चिस्यानघरले मद्दत पुगेको च्याउ उत्पादन समूहका अध्यक्ष सन्तोष पृथीले बताउनुभयो । चिस्यानघरमा दुई हजार मुढा राख्न सक्ने क्षमताको बताइएको छ । यसबाट प्रतिदिन चार हजार केजी च्याउ उत्पादन गरिएको समूहका अध्यक्ष सन्तोष पृथीले जानकारी दिए । तानसेन नगरपालिका र हेफरप्रोजेक्ट नेपालको ६ लाख र समूहका सदस्यहरुको एक लाख २० हजारमा चिस्यानघर निर्माण भएको हो ।
गाउँका २३ महिला र ४० पुरुषले १६ लाखको लगानीमा च्याउखेती सुरु गरेका गरेका थिए । “पाँच हजार कटुसको मुडामा दुई वर्ष अगाडि बीउ राखेका थियौँ, अहिले उत्पादन सुरु भएको छ”, अध्यक्ष पृथीले भने । कटुस जातको काठमा च्याउ फल्ने गर्दछ, डिभिजन वन कार्यालय पाल्पाको समन्वयमा सामुदायिक वनबाट काठ ल्याएर च्याउखेती गरिएको समूहका कोषाध्यक्ष गोपाल अर्यालले बताए । सामूहिक च्याउ खेतीले स्थानीयस्तरमा रोजगारीको सृजना गरेको छ । यो च्याउ प्रतिकेजी पाँच सयदेखि आठ सयसम्म बिक्री हुन्छ । उत्पादित च्याउको बजारमा बिक्रीको समस्या नभएको अर्यालको भनाइ छ । “नजिकको बजार तानसेन र बुटवलमै खपत हुन्छ”, उनले भने ।
च्याउ उत्पादनमा विषादीको प्रयोग हुँदैन । अग्र्यानिक भएकाले बिक्री गर्न सहज छ । एउटा मुढाबाट एकदेखि दुई केजीसम्म च्याउ उत्पादन हुन्छ । बीउ राखेको मुढाले चार वर्षसम्म उत्पादन दिन्छ । ‘सिताके च्याउलाई क्यान्सरविरुद्ध भन्ने गरिन्छ । यसबाट प्रशस्त मात्रामा भिटामिन ‘डी’ पाइन्छ ।’ तानसेन नगरपालिका–८ का वडाध्यक्ष सोमनाथ अर्यालले भने, “सिताके च्याउको माग अधिक छ । च्याउ स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने सबैले बुझेका छन् ।”
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया