Ekagaj Logo
२९ कात्तिक २०८१, बिहीबार
(Thursday, 14 November, 2024)

कृषि

रिट्ठा खेतीबाट आम्दानी गर्दै उदयपुरका किसान

इकागज |
पुस १९, २०७९ मंगलबार २०:५६ बजे

उदयपुर- उदयपुर जिल्लाको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिट्ठा खेतीमा विस्तार र उत्पादनमा वृद्धिसँगै अहिले कृषकहरूले राम्रै आर्थिक आम्दानी गर्न थालेका छन् ।

अहिले आएर जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका, रौतामाई गाउँपालिकासहित पूर्वी पहाडी क्षेत्रको चौदण्डी  गढी नगरपालिकाको सावा सिद्धिपुर बेलकाको बबला क्षेत्रहरूमा बर्सेनि व्यावसायिक रूपमा रिट्ठाखेतीको वृद्धि हुँदै गएको छ भने कृषकहरूले आर्थिक आम्दानीसमेत गर्न थालेको कृषकहरू बताउँछन् ।


केही वर्षदेखि यता आएर जिल्लाको त्रियुगा नगरपालिकाको साउने, खाँबु र रानीबास आधेरी क्षेत्रमा समेत व्यावसायिक रूपमा रिट्ठा खेती विस्तार हुँदै गएको कृषकहरू बताउँछन् ।

नगदे बालीका रूपमा बिक्री गर्न सकिने र सहज तरिकाले रिट्ठा बिक्री गरेर आर्थिक आम्दानी लिन सकिने हुनाले अहिले जिल्लाको उदयपुरगढी गाउँपालिकाको भलायाडा क्षेत्र, डुम्रेसहित रौतामाई गाउँपालिकाको आँपटार, मुर्कुची, नामन्त, नामेटार क्षेत्रमा व्यावसायिक रूपमा रिट्ठाखेतीमा वृद्धि हुँदै गएको उदयपुरगढी–३  डुम्रेका एक कृषक बेगबहादुर घले मगरले बताए ।

रौतामाई गाउँपालिका–५ आँपटारका रिट्ठा उत्पादक कृषक हर्कबहादुर राईका अनुसार विगतमा आफूले दुई–चार बोटमात्र रिट्ठा खेती सुरु गरेको भए पनि यसको मूल्य वृद्धि हुँदै गएर राम्रो आम्दानी गर्न सकिने भएको कारण अहिले केही वर्षयता आएर व्यावसायिक रूपमा नै रिट्ठा उत्पादनमा वृद्धि गरेको राई बताउँछन् ।

रिट्ठा उत्पादनमा वृद्धि गरेर सँगै तीन वर्षदेखि आफूले वार्षिक दुई लाखभन्दा बढी मूल्य बराबरको रिट्ठा उत्पादन गरेर बिक्री गर्ने गरेको राई बताउँछन् । 
१० वर्षअघिदेखि आफ्नो घरपाखाको जग्गामा रिट्ठाको बिरुवाहरू लगाएर हुर्काएको रौतामाई मुर्कचीका कृषक दोदराज सिजाली मगर भन्छन्, 'तीन वर्षदेखि यता आएर रिट्ठा उत्पादन गर्न थालेको र अहिले वार्षिक रूपमा डेढ लाखसम्मको रिट्ठा बिक्री गर्न आफू सफल भएको छु, बिरुवा बोटहरू हुर्कंदै गएको कारण केही वर्षपछि उत्पादन र आम्दानीमा वृद्धि हुने अपेक्षा गरेको छु ।'

अहिले रिट्ठाको बजार राम्रो रहेको र बजार मूल्य प्रतिकेजी रु ८० देखि एक सय २५ सम्म रहेको कारण पनि यस क्षेत्रअन्तर्गत गाउँघरका कृषकहरू व्यावसायिक रूपमा रिट्ठा खेतीप्रति बर्सेनि आकर्षित हुँदै जान थालेको मगर बताउँछन् । आफूले गाउँमा व्यावसायिक रिट्ठा खेती सुरु गरेपछि अहिले छिमेकी अन्य गाउँलेहरूले पनि व्यावसायिक रिट्ठा खेती सुरु गरेको मुर्कचीका कुलेन्द्र मगर बताउँछन् ।

यता जिल्लाको चौदण्डी नगरपालिकाको सावा सिद्धिपुर क्षेत्रमा समेत अहिले व्यापक रूपमा व्यावसायिक रिट्ठा खेती सुरु भएको र कृषकहरूले वार्षिक ५० हजारदेखि दुई लाखसम्मको रिट्ठा उत्पादन गरेर बिक्री गर्न सुरु गरेको सिद्धिपुरका जितबहादुर बुर्जा मगर बताउँछन् ।

सिद्धिपुर क्षेत्रमा अहिले ११ घर कृषकहरूले व्यावसायिक रूपमा रिट्ठाखेती सुरु गरेको र यस क्षेत्रमा अहिले वार्षिक १८ लाखभन्दा बढीको रिट्ठा उत्पादन हुन सुरु गरेको जितबहादुर बुर्जा मगर बताउँछन् ।

मुर्कुची बजारका जडीबुटी उत्पादक व्यवसायी तेजनारायण शेर्पाका अनुसार रिट्ठाबाट साबुन, सेम्पु, औषधी, कस्मेटिक सामानहरू सहितका विभिन्न वस्तुहरू उत्पादन गर्न कच्चापदार्थका रूपमा प्रयोग गरिने हुनाले यसको माग पनि बढ्दै गएको र मूल्य पनि राम्रो रहेको कारण अहिले गाउँघरका कृषकहरू रिट्ठा उत्पादनप्रति आकर्षित बन्दै गएका छन् ।

आफूहरूले समेत रिट्ठा खरिद गरेर औषधी उत्पादन गर्ने गरेको र यसबाहेक खरिद गरिएका रिट्ठाहरू पूर्वको इटहरी विराटनगर हुँदै भारतर्फ पैठारी हुने गरेको शेर्पा बताउँछन् ।

डिभिजन वन कार्यालय उदयपुर गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकृत जागेशश्वर साहका अनुसार अहिले जिल्लाको मध्य तथा पूर्वी पहाडी क्षेत्रका धेरै कृषकहरूले व्यावसायिक रूपमा रिट्ठा उत्पादन गरेर राम्रो आर्थिक आम्दानी लिन थालेको साह बताउँछन् ।

त्रियुगा नगरपालिका–१४ साउने र वडा नं १५ खाँबु क्षेत्रमा पनि २०६० सालदेखि रिट्ठा खेती सुरु भएको र अहिले यस क्षेत्रका झन्डै १५ घर कृषकहरूले रिट्ठा उत्पादन सुरु गरेको त्रिनपा–१४ साउनेका पूर्ववडाध्यक्ष कुरुङ राई बताउँछन् ।

त्रिनपाको साउने र खाँबु क्षेत्रमा अहिले वार्षिक आठ लाखदेखि १० लाखसम्मको रिट्ठा उत्पादन र बिक्री हुन थालेको खाँबु हुबासका कृषक दुर्गाप्रसाद तिम्सिनाले बताए ।

गाउँका कृषकहरूबाहेक जिल्लाको सरकारी वनमा समेत रिट्ठा उत्पादन हुँदै आएको र आफूहरूले नै गाउँका कृषकहरूलाई रिट्ठाको बिरुवाहरू उपलब्ध गराएर उत्पादन गर्न प्रोत्साहन गर्दै आएको डिभिजन वन कार्यालय गाईघाट उदयपुरका सहायक वन अधिकृत साहले बताए ।

रिट्ठाका बिरुवाहरू बर्सेनि डिभिजन वनले नै नर्सरीमा उत्पादन गरेर कृषकहरूलाई वितरण गर्ने गरेपछि अहिले जिल्लाको पहाडी क्षेत्रका धेरै गाउँहरूमा कृषकहरूले व्यावसायिक रिट्ठा उत्पादनमा वृद्धि गर्दै लगेको र रिट्ठा बिक्रीबाट राम्रो आर्थिक आम्दानीसमेत लिन थालेको सहायक वन अधिकृत साह बताउँछन् ।

सरकारी वनमा उत्पादन भएका र गाउँघरमा व्यावसायिक रूपमा कृषकहरूले उत्पादन गरेका रिट्ठाहरू सजिलै अन्यत्र बिक्री हुन सहज भएको कारण अहिले कृषकहरूले रिट्ठा बिक्रीबाट राम्रो आर्थिक आम्दानी गर्न थालेको डिभिजन वन गाईघाटका कर्मचारीहरू बताउँछन् ।

यस क्षेत्रमा उत्पादन हुने रिट्ठाहरू सहज तरिकाले विराटनगरको साबुन उद्योगदेखि भारतसम्म पैठारी हुने गरेको कारण रिट्ठाको बजार राम्रो रहेको र बिक्रीसमेत सहज भएको कृषकहरू बताउँछन् ।

रिट्ठा बिक्रीबाट राम्रो आम्दानी हुन थालेको र यसको मागसमेत बढ्दै जान थालेपछि जिल्लाको चौदण्डीगढी, उदयपुरगढी तथा रौतामाई गाउँपालिकासहित त्रियुगा नगरपालिका क्षेत्रका कृषकहरूले व्यावसायिक रूपमा रिट्ठा उत्पादनमा वृद्धि गर्दै लगेका छन् भने राम्रो आर्थिक आम्दानीसमेत गर्न थालेको सम्बन्धित कृषकहरू बताउँछन् । रासस


Author

थप समाचार
x