कृषि

परवल खेतीबाट मनग्य आम्दानी

इकागज |
पुस २२, २०७९ शुक्रबार २१:४२ बजे

वेदकोट- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाबरका खड्गे बुढाले २० वर्षदेखि परवल खेती गरिरहेका छन् । 

उनले परवल खेतीबाटै घर खर्च जोहो गर्छन् । कृषि पेसामा सक्रिय बुढाले वार्षिक एक/दुई लाखको परवल बेच्छन् । 'यहाँ बसोबास गरेदेखि परवल खेती गरिरहेको छु, वार्षिक डेढ/दुई लाखको परवल बेच्छु,' उनले भने, 'परवल बेचेर नै घर खर्च चलेको छ, कामका लागि कहिल्यै बाहिर जाने सोच आएन ।'


उनी सात कट्ठा जमिनमा परवल खेती गर्छन् । मुख्य आयआर्जनको स्रोत कृषि पेसा रहेको उनले बताए । 'बाढीले ल्याएको बलौटे माटोमा परवल राम्रो उब्जाउ हुन्छ,' उनले भने, 'कहिले धान, गहुँ पनि लगाउँछौँ तर त्यति राम्रो उब्जाउ हुँदैन, परवल, तरकारी, बदामको खेती राम्रो हुन्छ ।'

कुतियाबरलाई एकापट्टिबाट महाकाली र अर्कोतिरबाट जोगबुढा नदीले घेरेको छ । बर्सातको समयमा आउने बाढीले खेतीमा क्षति पुर्‍याउने गरेको अर्का किसान अशोक सुनारले बताए । सुनारले पनि परवल खेती गर्न थालेपछि घर खर्च जोहो गर्न अन्य काममा लाग्नुपरेको छैन । 'चारैतिरबाट नदीले घेरेको भूभाग हुनाले बर्सातमा ज्यान जोगाउन गाह्रो हुन्छ, बाढीले खेतीपातीमा पनि क्षति पुर्‍याउने गरेको छ,' उनले भने, 'अन्य खेतीभन्दा पनि परवलको उब्जाउ राम्रो हुनाले स्वदेशमै काम गरेर जीविकोपार्जन गर्न सहज भएको छ ।'

एक पटक छरेको परवलको बीउले पाँच/छ वर्षसम्म उत्पादन दिने गरेको उनले बताए । 'एकपटक छरेपछि पाँच/छ वर्षसम्म बीउ छर्न पर्दैन, उत्पादन दिइराख्छ,' उनले भने, 'त्यसैले पटकपटक लगानी गरिराख्नुपर्दैन, आफ्नो मेहनत मात्रै लाग्छ ।'

दोधारा चाँदनीमा उत्पादन भएको परवलले स्थानीय स्तरमै बजार पाउन थालेपछि किसानलाई अझै राहत मिलेको छ । विगतमा दोधारा चाँदनीका किसानले स्थानीय स्तरमा बजार नपाउँदा परवल बिक्रीका लागि भारततिर लैजाने गरेका थिए ।

'अचेल यतै गाडी चल्न थाले, अब हामीले आफ्नो उत्पादन बिक्रीका लागि पारी जानुपर्दैन,' विश्व मण्डलले भने, 'दोधारा–चाँदनी, महेन्द्रनगर बजारमा परवल बिक्री गर्छौं ।'

उत्पादनले स्थानीयस्तरमै बजार पाउन थालेपछि परवल खेतीमा लागेका किसान खुसी भएका छन् । 'विगतमा बिक्रीका लागि परवल भारत लैजाँदा निकै सास्ती खेप्नपर्थ्यो,' धाना मगरले भने, 'स्वदेशमै सहजै हाम्रो उत्पादनले बजार पाइरहेको छ ।'

परवल प्रतिकिलोग्राम रु ३५ देखि ४० को दरले किसानले बिक्री गर्ने गरेका छन् । एक कट्ठा जमिनमा एक हप्तामा दुई क्विन्टलसम्म परवल उत्पादन हुने गरेको मगरले बताए ।

'परवल उत्पादन सुरु भएपछि हप्ता दिनको फरकमा टिप्ने गर्छौं,' उनले भने, 'एक पटकमा एक/दुई क्विन्टलसम्म परवल उत्पादन हुन्छ ।'


Author

थप समाचार
x