विदेशबाट फर्केर मौरीपालनमा रमाउँदै भागीमान
फाइल तस्बिर
रुकुमपूर्व- जीवनको ऊर्जाशील दुई दशक वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा बिताएपछि यतिबेला रुकुमपूर्व भूमे गाउँपालिका-३ का ४४ वर्षे भागीमान पुन गाउँघरमै कृषि पेसामा रमाउन थालेका छन् ।
रोजगारीको सिलसिलामा साउदी, कतार र मलेसियाका विभिन्न कम्पनीमा काम गरेका उनी यति बेला घरमै मौरी र बङ्गुर पालन गरिरहेका छन् । खाडी मुलुकमा काम गर्दा औसत मासिक रु ३० हजार कमाउने उनले अहिले भने मासिक औसतमा रु २५ हजार कमाइरहेको बताए । विदेशमा दुःख गरे जस्तो कमाइ नभएपछि उनी स्वदेश फर्किएर कृषि कर्ममा लागेका हुन् ।
उनी भन्छन्, 'घरमा अहिले ३७ वटा माहुरीका घार छन् । वार्षिक आम्दानी रु तीन लाखको हाराहारीमा भइरहेको छ ।'
विदेशमा घामपानी, भोक, निद्रा नभनी काम गर्दा हुने आम्दानीभन्दा स्वदेशमै सुरु गरेको व्यवसायबाट भएको आम्दानी धेरै ठूलो भएको उनको भनाइ छ ।
'पहिले लेकभरि भैँसी बगाल हुन्थे, घरको गुजारा यसैबाट चलेको थियो,' भागीमानले भने, 'सङ्कटकाल लागेपछि मेरो सबै सम्पत्ति सकियो र म विदेशीन बाध्य भएँ ।'
विदेशमा पनि कमाइ राम्रो नभएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका मौरी पालन व्यवसाय सुरु गरेको उनको भनाइ छ । भागीमानले सेराना जातको मौरी पालेका छन् ।
भागीमानले विसं २०७६ देखि बङ्गुर पालन पनि गर्दै आएका छन् । सुरुमा एउटा भाले र दुई वटा माउबाट सुरु गरेको बङ्गुर पालनबाट पनि राम्रो आम्दानी हुने गरेको उनी बताउँछन् ।
उनका अनुसार अहिले पुनसँग एक भाले र चार बङ्गुरका माउ छन् । बङ्गुरको पाठा, मासु बिक्री वितरणबाट पनि मासिक रु २० हजार आम्दानी भइरहेको उनको भनाइ छ । यसरी स्थानीय स्तरमा व्यवसाय गर्नेलाई प्रोत्साहन स्वरूप स्थानीय सरकारले सहयोग गरिदिए हुन्थ्यो भन्ने भागीमानलाई लागेको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया