भेडापालन किसानको आम्दानीको नयाँ स्रोत ‘भोटे कुकुर’का छाउरा
फाइल फोटो
रुकुमपूर्व - रुकुमपूर्व पथाउत्तरगङ्गा तकसेराका परिलाल बुढा भेडा गोठालो हुन् । उनी जाडो छल्नका लागि भेडा लिएर यतिबेला ठूलीदह पुगेका छन् । बर्खामा रुकुमपूर्वको हिमाली क्षेत्रमा भेडा चराउने बुढा हिमपात र चिसो बढेपछि चिसो छल्न रुकुमपश्चिमको विभिन्न भागमा पुग्छन् ।
भेडाको उनबाट राम्रो आम्दानी गर्दै आएका बुढाको अर्को आम्दानीको स्रोत हो, कुकुरका छाउरा । उनीसँग भोटे कुकुर छन् र भोटे कुकुरको माग निकै छ । बुढाले भेडा रक्षाका लागि भोटे कुकुर पालेका छन् । यही कुकुरमध्ये उनीसँग दुईवटा माउ कुकुर पनि छन् । ती माउ कुकुरले वर्षमा १० वटा छाउरा जन्माउँछन् । कुकुरका छाउरा बेचेर उनले राम्रो आम्दानी गरेका छन् । एउटा कुकुरको छाउराको मूल्य रू १० देखि २० हजारसम्म पर्छ ।
'भोटे कुकुरका छाउराको माग निकै छ । काठमाडौँ, पोखरालगायत सहरबाट माग आउँछ, माग पूरा गर्न सकिन्न', उनले भने, 'अहिले माग धान्नै गाह्रो भइसकेको छ ।' उनले सबै कुकुरका छाउरा÷छाउरी रू १० हजारमा बिक्री गरेका छन् ।
अर्का भेडा गोठाला अकविर पुनमगरसँग पनि भोटे कुकुरका छाउरा थिए । राम्रोसँग हुर्किएका छाउरा रू २० हजारसम्म बिक्री गरेको उनको भनाइ छ । उनीसँग भएका छ वटा छाउरा रू १० हजारदेखि रू २० हजारसम्म बिक्री गरेको उनले सुनाए ।
'एउटा माउ कुकुरले दुईदेखि पाँचवटासम्म बच्चा जन्माउँछ', उनले भने, 'बिक्रीमा कुनै समस्या छैन, भाउ पनि बर्सेनि बढिरहेको छ, हिमाली भेगका भेडीखर्कहरूमा पशु–चौपाया र घरको रक्षा गर्न कुकुरपालन अनिवार्य जस्तै छ ।'
ठूलो ज्यान गरेको भोटे कुकुरको स्वभाव अन्य कुकुरभन्दा फरक हुन्छ । दिनभर सुत्ने भोटेकुकुर रातभर घरको सुरक्षामा गर्छ । रुकुमपूर्वको माथिल्लो भेगका अधिकांशले पाल्ने भोटे कुकुर पछिल्लो समय सबैतिर पालिन थालिएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया